संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनले म मर्माहत छु। नेपाल उड्ययन प्राधिकरणका महाप्रबन्धक सञ्जीव गौतमबाट उहाँको मृत्यु भएको थाहा पाएँ। उहाँ एउटा उदीयमान राजनीतिज्ञ र विकासप्रेमी नेता हुनुहुन्थ्यो।
पर्यटन मन्त्रालयबाट म केही समयअघिमात्र सरुवा भएको थिएँ।
हामी एउटै जिल्लाका मान्छे हौँ। उहाँसँग अनौपचारिक रुपमा पनि घनिष्ठ सम्बन्ध थियो मेरो। अझ पर्यटन मन्त्रालयमा उहाँसँग काम गर्दाका अविष्मरणीय अनुभव छन्।
उहाँ पहिलोपटक मन्त्रीकाे रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्न आउनुभयो। यसभन्दाअघि प्रायः भूमिगत कालबाट आएका साथीसँग काम गरेको थिएँ।तर, उहाँ विद्यार्थी राजनीतिकको पृष्ण्ठभूमिबाट आउनुभएको थियो।
उहाँको जनसम्पर्क अत्यधिक थियो। भूमिगत कालबाट आउनेको पार्टीसँग मात्र सम्बन्ध हुन्थ्यो भने उहाँ विद्यार्थी राजनीतिबाट आउनुभएकाले धेरै जनासँग राम्रो सम्बन्ध थियो।
उहाँको आप्नाे पार्टीका नेता-कार्यकर्तासँग मात्र हैन नेपाली कांग्रेस तथा अन्य दलकासँग पनि निकै प्रगाढ सम्बन्ध थियो। उहाँको मृत्युले अन्य पार्टीका नेतालाई पनि मर्माहत बनाएको छ। सायद, तीमध्ये गगन थापा र प्रदीप पौडेल बढी मर्माहत छन्।
उहाँ निकै सरल स्वभावको हुनुहुन्थ्यो। मन्त्री हुँदा होस् वा त्योभन्दा अघि अधिकांससँग आफैं नमस्कार गरेर हात मिलाउनुहुन्थ्यो। कसैले नमस्कार गर्ला वा नगर्ला भनी सानो सोच लिएर उहाँ हिँड्नुहुन्नथ्याे।
कसैले केही भने पनि सहन सक्ने स्वभाव थियो उहाँको। उहाँमा निकै धैर्यता थियो। खानपानमा त्यति सौखिन हुनुहुन्नथ्यो। उहाँको स्वभाव देखेर म भन्थे, ‘तपाईं अत्यन्तै सरल मान्छे हुनुहुन्छ।’
मैले धेरै मन्तब्यमा उहाँको कामको प्रशंसा गरेकाे छु। काममा पनि उतिकै खट्नुहुन्थ्यो उहाँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के-के सुधारका काम हुँदैछन् भन्ने कुरा कि राजकुमार क्षेत्रीलाई थाहा थियो कि रवीन्द्र अधिकारीलाई। निर्माणका हरेक काममा उहाँको चासो देखिन्थ्याे।
पोखरामा १२ वटा बिल्डिङ बन्दै थिए। कुन-कुन विल्डिङमा कति काम भइरहेको छ वा कति प्रगति भइरहेको छ उहाँलाई थाहा थियो। उहाँ प्रत्येक क्षण अत्याधिक खट्ने र प्रत्येक कामको अपडेट राख्नुहुन्थ्याे।
भौतिक प्रगतिको हिसाबले भन्नुपर्दा काममा त्यसरी लाग्ने असाधारण क्षमता थियो उहाँको। नेपालमा डटेर लाग्यो भने १० वर्षमा निकै काम गर्न सकिन्छ भन्ने उहाँमा आत्मविश्वास थियो। त्यही हिसाबमा खट्नु पनि भएको थियो। कतिपय नेताले बाहिर गएका मान्छे स्वदेश फर्कनुपर्छ भन्थे। तर, उहाँ भन्नुहुन्थ्यो, ‘हामीले राम्रो गर्न सक्यौँ भने फर्क भन्नै पर्दैन। आफैं फर्किहाल्छन् नि।’
‘१० वर्षमा कायापलट गर्न सकिन्छ,’ उहाँ दृढताका साथ आफ्नाे दाबी सुनाउनुहुन्थ्याे।
कामको महत्वाकांक्षा उहाँमा धेरै थियो। आफ्नो कार्यभार राम्ररी बुझ्नुभएको थियो। अहिलेसम्म नभएका धेरै काम उहाँको पहल र योजनामा भएका प्रशस्त प्रमाण छन्।
वाइडबाडी प्रकरणमा हामीलाई आरोप लाग्यो। तर, उहाँले कहिल्यै चिन्ता गर्नुभएन। उहाँ भन्नुहुन्थ्यो, ‘कुनै गल्ती नै गरेको छैन, किन चिन्ता गर्ने? म त चिन्ता गर्दै गर्दिन।’
पर्यटन क्षेत्रमा पनि उहाँको योगदान अतुलनीय छ। भन्ने गर्नुहुन्थ्यो, ‘हामी कर्मचारीबाट सुशासन खोजिरहेका छौँ, तर राजनीतिक मान्छेबाट सुरु हुनुपर्छ।’ भूकम्पले क्षति पुर्याएका सम्पदाको पुनर्निर्माणमा उनको बढी चासो थियो। भन्नुहुन्थ्यो, ‘पर्यटनको विकास संस्कृति र पर्यटन जोगाएर गर्ने हो।’
हामीले विकासप्रेमी नेता गुमायौँ, नेपालीको लागि यो ठूलो पीडा हो।
उहाँको आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धाञ्जलि!
(देवकाटा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका पूर्व सचिव हुन्। ११ महिना मन्त्री अधिकारीसँग काम गरेका उनी हाल युवा तथा खेलकुद मन्त्रालयमा सचिवको जिम्मेवारीमा छन्। उनले नेपाल लाइभसँग गरेको कुराकानीको सम्पादित अंश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।