काठमाडौं- जमलस्थित राष्ट्रिय नाचघर। शनिबारको दिन। फुर्सदसहित हाजिर थिए बिन्दास दर्शक। सानो हल। खचाखच भएका दर्शक।
रेकर्ड भएको पछिल्लो गीतबाट एकल गायनको सुरसार कसिन्, डीक्रा बादीले। घाँटी तन्काइन्, गला चेकजाँच गरिन्।
श्रीमान् कित्थ्याले सारंगी रेट्न थाले। निस्कियो सुरिलो संगीत। त्यसमै सुरिलो स्वर मिसाइन्, डीक्राले। देउडा लोकगीतको ठाडी भाकाले हल गुन्जायमान भयो। डीक्रा गुइन्जिइन् हलभरी। कोकीलकण्ठी स्वरमा उनले गीत गाउँदा केही समयअघिसम्म कोलाहल फिज्जिएको हल सुनासान बन्यो। तर उनको स्वरले सबैलाई आकर्षण गर्यो।
सुदुरपश्चिममा लोकगायिकाको पहिचान छ, उनको। डेउडा गायनमा तहल्का मच्चाएकी लोकगीतकी कोइली हुन् डिक्रा।
भरपुर कला लगाइन् गाउनमा डिक्राले। किनकी, त्यसकै लागि सुदुरपश्चिमबाट काठमाठौंसम्मको कष्ट गरेकी थिइन्।
केही छाडिनन् बाँकी। देउडा भाषाका दोहोरी गाइन्। ठाडी भाकामा लोकगीत गाइन्। माहोललाई विरहको बनाइन्, गुन्जायमान बनाएर सजाइन् स्वरकै भाकामा। हँसिलो, ठट्यौलो पनि बनाइन्।

एकल गायनको पूरै समय गुन्जिइरहिन् डीक्रा। गायनमा कतिखेर श्रीमान्को साथ लिइन्, कतिखेर गायिका झुमा लिम्बूको।
श्रीमान्सँग दुईटा दोहारी गाइन्। झुमासँग पनि दुइटै देउडा गाइन्।
एकताकाकी ‘हिट’ गायिका डिक्रालाई खोज्दै काठमाडौँसम्म ल्याएका हुन्, कन्सेप्ट नेपाल, रैथाने संगीत समूह र अलिमयाँ लोकवाङ्मय प्रतिष्ठान पोखराले।
‘मूलप्रवाहीकरण’ले उमङ्ग
सहरका एकल गायन र एकल साँझहरू। कहाँ ठाउँ पाउनु देउडाले, दोहारीले र रोइलाले। ठाउँ पाउँछन्-पपले, आधुनिकले र इङ्लिसले। रैथाने गीतसंगीत सँधै रछ्यानमा।
देउडाले नाचघरको हल के गुन्जिएको थियो, खुसीले गुन्जिए युवाहरू, श्रोताहरू, दर्शकहरू अनि अरू पनि।

पढ्न सकिन्थ्यो उनीहरूका अनुहारमा आफ्नै थलोको, आफ्नै भेगको, आफ्नै भाषाको गीत सहरमा घन्किँदाको खुसी र उमङ्ग।
रैथाने संगीतमा हुन थालेको मूलप्रवाहीकरणको एक कारण थियो दंगदास हुनुमा।
रैथाने संगीत समूह जन्माइएको छ, त्यसकै लागि। लागेको छ समूह, देहातका गीत सहरमा ल्याउन।
को हुन् डीक्रा?
दुई दशकभन्दा लामो समय देउडा गायनमा पडक जमाएकी लोकगायिका हुन्, डीक्रा बादी। तर, अचेल भने उनी ओझेलमा छिन्। कञ्चनपुरको बङ्क गाउँ हो, उनको घर।
देउडा गायनमा एक समय सुदुरपश्चिम र मध्यपश्चिममा चर्चा चुलिएको थियो उनको। दर्जनौं दोहोरी र ठाडी भाकाका गीत गाएकी छिन्।
२०५२ सालदेखि गीत रेकर्ड भए। श्रोतामाझ लोकप्रिय भइन्। माग बढ्दै गयो। दर्जन एकल एल्बम निक्लिए।
कहिले बिछोडको, कहिले बिरहको, कहिले पीडाको त कहिले अभावको अलाप निकाली रहिन् संगीतमा।
गाउँघरको सुखदुःख गाइन्। सिंगो सुदुरुपश्चिम गाइन्। त्यसैले उताकी गहना भइन्। तर, मुलधारले चिनेन्। आफ्नो मानेन्।

पहिलो एल्बम हो, ‘बसिबियाँलो’। त्यसपछि ल्याइन सारंगी, बउजू, सुनकेशरी, लडेली चेली, लोग्ने छ परदेश, माछी जाल, प्याउली फूल फूल्न देउ, साँफे बस पुगियो, हाम्रै भीरपाखा, लाल छातालगायत।
जीवनका उकाली ओरालीमा कित्थ्याको राम्रो साथ पाएकी छिन्। अहिले ५० वर्षकी भइन्। कित्थ्या चाहिँ दुईवर्ष जेठा हुन्। दुई छोरा र दुई छोरी छन्। हजुरआमा पनि बनिसकेकी छिन् डिक्रा।
उनी राम्रो गाउँछिन्। राम्रो बजाउँछन्, श्रीमान्। राम्रो सारंगीवादक हुन्, कित्थ्या। गायन राम्रै भए पनि त्यति रुची छैन् उनको गायनमा। बरु श्रीमतीलाई सघाउँछन्।
समय चीरकाल एकनासको नहुने रेहछ। त्यो बेला क्यासेटमै जमेको थियो, गायकी।
अहिले डिजीटल युगमा प्रवेश गर्यो, संगीत वाङ्मय। पुराना क्यासेटका दिन गए। तिनलाई ‘डिजिटलाइज’ गर्न सकिनन् डिक्राले। उतिबेलै गाइन्, उतिबेलै गए पनि उनका कला, नफर्कने गरी। अब यसको प्रमाण छैन उनीसँग।
पारिवारिक समस्या बढे। आर्थिक अभाव पनि बढ्यो। काठमाडौँ मात्रै होइन, मुम्बइका स्टेजहरुमा समेत गाएकी उनी विस्तारै छायाँमा परिन्। चमक धमिलो भयो एउटा गहनाको।
बादी समुदाय। पुर्ख्यौली पेसा गाउने, बजाउने, नाच्ने। त्यतिले के गुजारा चल्थ्यो। गरिबीले पेलिरहेको छ। सानो झुप्रो छ, घरका नाममा।
अपेक्षा छ- आर्थिक सहयोगको। उदार केही मनहरुले दुःखेको मनमा मल्हम लागाएका पनि छन्। अझै सहयोगी हातहरु बढिदिउन् भन्ने अपेक्षा छ, उनको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।