काठमाडौं– नेपाली फिल्म नगरीका स्टार अभिनेता अनमोल केसी पछिल्लो समय फिल्म ‘क्याप्टेन’लाई लिएर निकै चर्चामा छन्। विशेषगरी दर्शकका लागि मनोरञ्जपूर्ण र फिल्म उद्योगका लागि सफल फिल्म पस्कदै आएका अनमोलको माग फिल्म बजारमा पनि बढ्दो पाइन्छ।
यसै सन्दर्भमा आइतबार फिल्म क्याप्टेनका सम्बन्धमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्ना पिता भुवन केसी र अभिनेत्री निरुता सिंहको 'केमेस्ट्री' मिलेको देखेर आँफू चकित परेको बताएका छन्। गत बिहीबार मात्र सार्वजनिक भएको फिल्मको ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा भुवन, निरुता र अनमोलले एक साथ स्क्रिन सेयर गरेका छन्।
उक्त गीतमाथि आएका प्रतिक्रियाप्रति खुसी हुँदै अनमोलले भुवन र निरुताको 'केमेस्ट्री'लाई दर्शकले देखाएको उत्साहबाट आफू चकित परेको बताए।
उनले भने, ‘भुवन बाबा र निरुता दिदीजस्तो लिजेन्डसँग काम गर्न पाउँदा एकदमै खुसी छु। यसको सबै भन्दा बढी क्रेडिट निरुता दिदीलाई दिन चाहन्छु। र अझ रमाइलो कुरा चाँही दिदीको लागि भिडियोमा कहीँ कतैपनि बुढी देखियो भनेर प्रतिकृया आएकै छैन।’
उनले फिल्मको गीतमा प्रयोग भएका शब्द ‘कर्ली कर्ली कपाल, तिम्रो चाउरी पर्या गाला’तर्फ संकेत गर्दै थपे, ‘गीतमा त्यस्तो ‘वर्डिङ’ हुँदा पनि दर्शक स्रोताले तिनै जनालाई खुलस्त स्वीकार गरिदिनुभएको छ। यसले गर्दा गीतको सफलताको श्रेय निरुता दिदिलाई नै जान्छ।’
नायिका सिंहसँग जोड्दै अनमोलले आफ्नो बुवाको तारिफ गर्न पनि भ्याए। भने, ‘ड्याडसँग चाहीं म जतिनै योङ भएर उफ्रिए पनि उहाँको एक मुस्कानले म ‘स्याड’ भइहाल्छु। त्यसले गर्दा उहाँहरु दुवैजना फिल्म इन्डस्ट्रीमा त्यतिकै लिजेन्ड हुनभएको होइन जस्तो अनुभुत भयो।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।