राजन खतिवडा नेपाली रंगमञ्चका अभिनेता र नाटक निर्देशक हुन्। तर, उनी नाटक अभिनय र निर्देशनसँगै रंगकर्मलाई दर्शकमाझ पुर्याउन अनेक उपाय खोज्न र सोच्नमा व्यस्त रहन्छन्। अभिनयकलामा पोख्त रंगकर्मी खतिवडालाई नयाँ भूमिकामा प्रस्तुत हुन मात्रै होइन, नाट्य क्षेत्रमा नयाँ–नयाँ काम गरिरहन मन लाग्छ। अनामनगरस्थित मण्डला थिएटरमा आवद्ध भएर नाटकप्रेमीहरुकाे नाटक हेर्ने चाहना परिपूर्ति गर्दै आइरहेको उनको समूहले यसलाई पाठशालाका रुपमा विकाससमेत गरेको छ।
यतिबेला उनी अन्तर्राष्ट्रिय नाटक महोत्सवका लागि खटिइरहेका छन्। जुन फागुन १३ देखि २० गतेसम्म नेपालका विभिन्न नाटकघरमा हुँदैछ। नेपाली रंगकर्मीहरुको साझा प्रयत्नमा हुन लागेको यस महोत्सवमा खतिवडा ‘महोत्सव निर्देशक’को जिम्मेवारीमा छन्। खतिवडासँग महोत्सवको सन्दर्भमा गरिएको कुरानकानीः
तपाईंलाई अचेल आफू अभिनेता भन्दा बढी अभियन्ता भएँ जस्तो लाग्दैन?
मलाई पनि महसुस भएको कुरा हो याे। पछिल्ला दिनहरुमा रंगमञ्चभन्दा बढी यसलाई फैलाउने अभियानमै पो बढी लागियो कि!
नाटक महोत्सव गर्ने सुर कस्नुभएछ। कसरी आयो सोच?
म आवद्ध मण्डला थिएटर नेपालसहित काठमाडौंका अन्य सक्रिय नाट्यसंस्था/घर शिल्पी थिएटर, सर्वनाम थिएटर, कथाघेरा, थिएटर मल, एक्टर्स स्टुडियो, वन वर्ल्ड थिएटर र थिएटर भिलेज यो महोत्सवमा सहकार्य गर्दैछौं। यो सामूहिक कर्मको व्यग्र प्रतिक्षामा लामो समयदेखि थिएँ म। हामी काम त गरिरहेका छौं। तर, छुट्टाछुट्टै। हामी एक खालको प्रष्पिर्धामा पनि छौं। यसरी गर्दाको ‘अहम्’ले एकअर्काको कामको प्रशंसा गर्न सकिएरहेका छैनौं। खुलेर कामको बारेमा व्याख्या विश्लेषण गर्न सकिरहेका छैनौं।
त्यसैले मिलेर काम गर्ने चाहना थियो। यसैको एउटा रुप ‘डाइरेक्टर्स वर्कसप’ हो। जहाँ नाटक निर्देशन सिकाइन्छ। यो वर्कसपबाट निस्केकाहरुले एक–एक वटा नाटक तयार पार्नुपर्छ। उनीहरुलाई नाटक देखाउने अवसर खोज्दै जाँदा 'अन्तर्राष्ट्रिय महोत्सव' जस्तो वृहत कार्यक्रम तय भएको हो।
यो अन्तर्राष्ट्रिय महोत्सवबाट नेपाली नाट्यकर्मीले के लाभ लिन सक्छन्?
महाेत्सवमा विदेशी नाटक नेपालमा देखाइनेछन्। यसले नेपाली रंगकर्मीको सोचको दायर फराकिलो बनाउन योगदान दिनेछ। फरक परिवेश, शिल्प, कला र प्रयोगका नाटक हेर्दा यहाँका नाट्यकर्मीलाई फरक विचार निर्माण गर्न उत्प्रेरित गर्नेछ। यसबाहेक एउटा बहसको प्रारम्भ गर्ने सोचमा हामी छौं। त्यो हो, नेपाली रंगमञ्चको साझा भाषा निर्माण। अब हामीले नेपाली रंगमञ्चको एउटा साझा भाषा बनाउनैपर्ने छ।
कतिवटा विदेशी नाटक देखाइनेछन्?
महोत्सवमा १८ विदेशी र १२ नेपाली नाटक देखाइने तय भएकाे छ। नाटक मञ्चनसँगै नाटकहरुमाथि अन्तरक्रिया गरिनेछ। भर्खरै नाटक छान्ने जस्तो अप्ठ्यारो खुड्किलो पार गरिएको छ। महोत्सवमा आफ्नो नाटक परोस् भन्ने अपेक्षा राख्ने नेपाली रंगकर्मीहरुको संँख्या ठूलो थियो नै। यसबाहेक विदेशका १ सय ३५ नाटकले दरखास्त हालेका थिए। तर, नेपाली १२ र विदेशका १८ वटा नाटक मात्रै छानिए। १८ नाटकका १ सय ९० जना रंगकर्मी नेपाली रंगमञ्चमा देखिनेछन्।
कस्ता नेपाली नाटकलाई महोत्सवमा प्राथमिकता दिइयो?
पहिल्यै देखाइसकिएका नाटक छानिएनन्। त्यसमा पनि हामी र मभन्दा अघिल्लो पुस्ताका नेपाली कलाकारका नाटक महोत्सवका लागि छानिएका छैनन्। यसको कारण छ, हामीले रंगमञ्चमा नयाँ पुस्तालाई उत्प्रेरित गर्न महोत्सव आयोजना गरेका हौं। त्यसैले पहिलो हक नयाँ पुस्ताका कलाकार/निर्देशकको हुन्छ। उनीहरुकाे मेहनत र लगावकाे हामी अग्रजले सम्मान गर्नेछौं।
यसको आर्थिक भार कसरी उठाइँदै छ। राज्यको कुनै सहयोग छ?
रंगकर्मीहरुको यो होस्टेमा 'जीआइजेड'ले हैंसे गरेको छ। यस्ता कला, भाषा र संस्कृतिमा राज्यले पनि केही लगानी गरोस् भन्ने चाहना हाम्रो छ। यही अवसरमा राज्यको ध्यानाकर्षण गराउन सकिन्छ कि भन्ने झिनो आशा पनि हामीले पालेका छौं।
कला, संस्कृति र रंगमञ्च राज्यको प्राथमिकतामा किन पर्न सकेन वा पार्न सकिएन?
रंगमञ्चमा नाट्य मेला, उत्सव तथा नाटकघरहरुको अभाव भइरहँदा पनि राज्यस्तरबाट पहल भइरहेको छैन। त्यसैले देशैभरिका रंगकर्मी जुटेर यस महोत्सवको आयोजना गर्न लागिएको हो। आगामी दिनमा स्थानीयस्तरमा काम गरिरहे का कलाकर्मीहरुलाई उत्प्रेरणा र सहयोगको वातावरण बनाउन स्थानीय तहसँग समन्वय गरी समग्र रंगमञ्च र अन्य प्रदेशहरुमा समेत नाट्य संस्कृतिको विकास गर्नुलाई यस महोत्सवले आफ्नो उद्देश्य ठानेको छ। यस महोत्सवलाई समानान्तर रुपमा काठमाडौंबाहिरका २ वटा शहरहरुमा समेत लैजाने योजना समेत हाम्रो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।