काठमाडौं- आइतबार सामाजिक सञ्जालदेखि चिया पसलसम्म गायक पशुपति शर्माका विषयमा बहस तातियो। उनको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतका पक्ष/विपक्षमा चर्चा-परिचर्चा भए। सत्ताधारी नेकपाका समर्थकले शर्माको आलोचना गरे। प्रतिपक्षी दलका समर्थकले पक्षमा नाराबाजी गरे।
लोक र दोहोरी गीतका कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले शर्मालाई उक्त गीत पुनः अपलोड गर्न आग्रह गरेको छ। गीत युट्युबबाट हटाउनुका कारण र फेरि अपलोड गर्ने विषयमा शर्मासँग नेपाल लाइभले गरेको संक्षिप्त संवादः
तपाईंलाई सरकारले गीत हटाउन लगाएको भन्ने हल्ला छ नि? गीत कसको आग्रह वा धम्कीमा हटाउनुभएको हो ?
युवा संघका साथीहरूले गीतका केही शब्दलाई लिएर आपत्ति जनाएपछि हटाएको हुँ। सरकारमा रहेको दलकै भातृ संगठन भएकाले आम दर्शकलाई त्यस्तो लागेको होला।
तपाईंलाई फोन गर्ने युवा संघका ती व्यक्तिहरूको आपत्ति चाहिँ के कुरामा रहेछ?
उहाँहरूले फोन गरेर दुई-तीन वटा शब्दमा आपत्ति जनाउनु भयो। ठीक छ, आपत्ति छ भने म त्यसलाई सुधार गर्छु भनेको थिएँ। गीतको उद्देश्य सन्देश सम्प्रेषण गर्ने हो। गीतमार्फत् व्यंग्य नै गर्ने हो। आपत्ति रहेका शब्द हटाएर अपलोड गर्दा पनि राम्रो होला भन्ने ठानें। पछि उहाँहरूले एउटा विज्ञप्ति निकाल्नु भएछ। पशुपति शर्माका कार्यक्रम बहिष्कार गर्ने भन्ने खालका कुराहरू गर्नुभएछ। विज्ञप्ति नै निकालेपछि कसैको चित्त दुखाएर मलाई के गर्नुछ र? 'भ्रष्टाचार नहोस्। सिस्टम राम्रो बसोस्' भन्ने सन्देश सम्प्रेषित गर्न खोजेको थिएँ। सबैको मन खुशी बनाएर गीत निकाल्न सकिन्छ कि भनेर हटाएको हुँ।
यस्तो गीत सिर्जना गर्न के कुराले उत्प्रेरित गर्यो?
यो गीत सिर्जनाभन्दा पनि संकलन हो। यसो हिँडिरहँदाखेरी सुनेका कुराहरूको गीत बनाएर जस्ताको तस्तै गाएको हो।
गीतका शब्दका साथै कुनै पार्टीको झन्डा रहेको भिडियो फुटेजमा समेत उहाँहरूको आपत्ति रहेछ। यो कसरी राखियो?
म्युजिक भिडियो सम्पादन गर्दा म बाहिरै थिएँ। भिजुअल एडिटरले जानेर होइन कि एउटा जुलुस राख्न खोज्दा त्यो पर्यो। फेरि पनि भन्छु, नियतवश होइन, संयोगवश पर्न गएको हो।
गीत फेरि अपलोड गर्नुहुन्छ त?
त्यो विषयमा सोच्दैछु। बल्ल त काठमाडौं आइपुगें। त्यही हाल्न पनि सक्छु। केही फरक बनाएर पनि हाल्न सक्छु। फेरि युट्युबमा राख्नैपर्छ भन्ने मान्यता चाहिँ मेरो छैन। भन्न खोजेको भाव त्यही हो। सकेसम्म नलुटौं। एउटा सिस्टम बसालौं। जनतालाई माया गरौं भन्न खोजेको हो। जसले सुन्नुपर्ने थियो, उनीहरुले सुनिसके। राखेर पनि के गर्नु छ र?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।