काठमाडौं– सरकारले बिहीबारबाट ‘जनताको जलविद्युत कार्यक्रम’को औपचारिक सुरुवात गर्ने भएको छ।
उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम सुरु गर्न लागिएको जानकारी गराएको हो।
उर्जामन्त्री वर्षमान पुनले जलविद्युत्मा आन्तरिक लगानी जुटाउन तथा मुलुकभित्रै छरिएर रहेको पूँजी परिचालन गर्न यो कार्यक्रम लागू गर्न लागिएको बताए। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ।
‘नेपालको पानी, जनताको लगानी’ भन्ने सरकारको सोचअनुसार करिब ३ हजार मेगावाट उत्पादन क्षमता रहेका १९ वटा आयोजनामा जनताको खोजिने मन्त्री पुनको भनाइ छ।
‘जलविद्युत आयोजनामा निजी क्षेत्र र वैदेशिक लगानी सँगसँगै हरेक व्यक्तिबाट पूँजी संकलन गरी जलविद्युत् आयोजना निर्माण गरिनु आवश्यक छ,’ मन्त्री पुनले भने।
छानिएका आयोजना लगानी र नाफाका हिसाबले निकै आकर्षक रहेको समेत उनको भनाइ छ।
करिब ६ खर्ब रुपैयाँ लागत अनुमान गरिएका ती आयोजनाबाट औसतमा १५ देखि १५ प्रतिशत नाफा आंकलन गरिएको छ।
चालु आर्थिक वर्षको बजेट वक्तव्य तथा मन्त्रालयले जारी गरेको श्वेतपत्रमा जलविद्युत क्षेत्रमा गरिने कुल लगानीको निश्चित प्रतिशत आन्तरिक रुपमा श्रोत जुटाएर लगानी गरिने उल्लेख गरिएको छ।
विद्युत आयोजनामा जनताको लगानी ल्याउन नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयसँग सम्बन्धित सबै प्रक्रिया टुंग्याइसकेको मन्त्री पुनले जानकारी दिए।
छनोट गरिएका आयोजनाहरूमा जनताबाट भएको लगानी शेयरका रुपमा रुपान्तरण नहुञ्जेलसम्म त्यसको ब्याज सरकारले तिर्नेछ। ‘लगानी भएको रकम डुब्छ कि भनेर नसोच्दा हुन्छ।
लगानी रकम शेयरमा परिणत नभएसम्म हाल बैंकहरूले दिइरहेको ब्याजदरमा नै सरकारले समेत ब्याज भुक्तानी गर्छ,’ मन्त्री पुनले भने।
आयोजनाहरुमा नागरिकको लगानी ल्याएर सेयरमा रुपान्तरण गरिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।