काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री वर्षमान पुनले पञ्चेश्वर जलविद्युत आयोजना अहिलेकै अवस्थामा बनाउन नसकिने बताएका छन्।
भारतको राजधानी दिल्लीमा आयोजित विश्व विकास सम्मेलनमा भाग लिन भारत गएका उर्जामन्त्री पुनले स्वदेश फर्किएलगत्तै पञ्चेश्वरमा विकल्प खोज्नुपर्ने बेला आएको बताएका हुन्। भ्रमणका क्रममा भारतका विद्युतमन्त्री आर. के सिंहसँग छलफल भएको र भारत पनि अहिलेकै अवस्थामा पञ्चेश्वर बन्न नसक्ने निष्कर्षमा पुगिसकेको मन्त्री पुनको भनाइ छ।
‘भारत पनि आयोजना बनाउन चाहन्छ। तर जुन प्रक्रियाबाट हामी गईरहेका छौं त्यसबाट आयोजना बन्दैन। पञ्चेश्वर निर्माणमा अर्को विकल्प खोज्न छुट्टै विज्ञ समूह गठन र तेस्रो पक्षबाट विस्तृत आयोजना प्रतिवेदन बनाउनुपर्ने भारतको धारणा छ। यसमा हामी पनि सकारात्मक छौं,’ मन्त्री पुनले भने।
तीन दशकदेखि अल्झिएको बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाले अझै मूर्त रुप लिन सकेको छैन।
परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)ले अझै पूर्णता पाएको छैन। आयोजनासँग सम्बन्धित अधिकांश विषयमा नेपाल र भारतबीच रहेको विवाद टुंगिन सकेको छैन। प्रशारणलाईन विस्तार, रुपालि गाड ड्याम निर्माणलगायत विभिन्न प्राविधिक विषयमा सहमति भएपनि तुलनात्मक लाभका आधारमा लगानी र शारदा ब्यारेज मार्फत पाउनुपर्ने पानी र सिंचाईको लाभका विषयमा भने कुरो मिल्न सकेको छैन।
शारदा ब्यारेजमा उपयोग गरेको पानीको हिस्साबारे नेपाली पक्ष आफ्नो धारणामा अडिग रहेको छ भने भारतीय पक्षले उक्त कुरा स्वीकारेको छैन। नेपालले तल्लो शारदाको अतिरिक्त सहुलियत चाहिने तथा भारतले बढी प्रयोग गर्ने उर्जाको क्षतिपूर्ति पाउनुपर्ने अडान राख्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।