रुकुम (पूर्व)– छमछम बज्ने सितारा हाली बुनेको कालो मखमलको चोली, घुँडासम्म आउने मखमलकै सुरुवाल, टाउकोमा सेतो पगरी अनि रङ्गीचङ्गी धागोबाट बुनेका फूलका थुङ्गाजस्तै देखिने लहरा पगरीबाट कम्मरसम्म पुगेको हेर्दा जो कोहीलाई अनौठो लाग्छ।
अनि त्यसैमा काठबाट बनेका डरलाग्दा विभिन्न आकृतिका मुकुण्डा अनुहारमा, काठबाट बनेका खुकुरी र तरबार कम्मर अनि हातमा, त्यसैमाथि पनि लठ्ठीलाई बङ्गाएर बाँदरको जस्तै जोडेको पुच्छर। यो दृश्यले सबैलाई चकित पार्छ।
साना–साना बालबालिका र टाढाबाट आएका पाहुना झट्ट हेर्दा त तर्सिन्छन् पनि।
यो सबै कसैलाई तर्साउन नभई रुकुम (पूर्व) को एक मौलिक नाच हो। जसलाई नचारु तथा धङ्गे नाच भनिन्छ।
परम्परागत लोपोन्मुख नचारु तथा धङ्गे नाच समूह क्याङसीले आफ्नो गाउँको कला र संस्कृतिलाई जोगाइ राख्न गाउँगाउँमा गई यो नाच प्रस्तुत गर्ने गरेको छ।
समूहले नाचेरै रु ९ लाख १५ हजार ४ सय १५ सङ्कलन गरेको समूहका सदस्य पुनबहादुर रोकाले बताए।
समूहले मङ्सिर २६ गतेबाट सुरु गरेको नाच एक महिनासम्म सञ्चालन गरेको थियो।
भूमे गाउँपालिकाको कार्यालयबाट नाच सुरु गरेको उक्त नचारु तथा धङ्गे नाच समूहले भूमेको काँक्री, लुकुम, महत, सिमा, पुथा उत्तरगङ्गा गाउँपालिकाको माथिल्लो सेरा, तकसेरा, बाछिगाउँ, कोल, राङ्सी, रोल्पाको थवाङ र दाङ जिल्लाका विभिन्न ठाउँमा नाच प्रदर्शन गरेको थियो।
परम्परागत कला, संस्कृतिलाई बचाइ राख्ने र त्यही कला र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले यो नाच गाउँगाउँमा गएर नाचेको समूहले जनाएको छ।
मौलिक कला र संस्कृतिको जगर्ना गर्ने भन्दै वडापालिकाले पनि जनजाति संस्कृति तथा वेषभूषा संरक्षण क्याङ्सी शीर्षकमा बजेट छ्ट्याएको भूमे गाउँपालिका–३ का वडाध्यक्ष दिलमान रोकाले जानकारी दिए।
वडापालिकाबाट छुट्याइएको १ लाख ९५ हजार रकमले नचारु नाचको पोशाक खरिद गरेको समूहले जनाएको छ।
त्यसैगरी नाचेर सङ्कलन गरिएको रु ९ लाख ९५ हजार ४ सय १५ मा ४ लाख ८४ हजार ७ सय १५ सामग्री खरिद र समूह व्यवस्थापनमा खर्च भएको समूहका सदस्य रोकाले बताए। उनका अनुसार अहिले ४ लाख ३० हजार ७ सय समूहको बचत रहेको छ।
बचत रकमलाई संस्कृति जगेर्ना गर्ने कार्यमा लागानी गर्ने उनको भनाइ छ।
के हो धङ्गे नाच
सत्ययुगमा गुरु गोरखनाथले दैत्ते राक्षसलाई मार्न नसकेपछि नचारु तथा धङ्गे नाचको पोशाकमा सजिदा दैत्तलाई मार्नसक्ने शक्ति गुरु गोरखनाथलाई प्राप्त भएको किम्बदन्ती छ।
त्यसै समयदेखि यस नाचको सुरु भएको नचारु नाचका गुरु धर्मबहादुर रोकामगरले बताए।
उनले धने, 'गाउँ गाउँमा राक्षस तथा राक्षसरुपी व्यवहारबाट हुने अशान्त, पीर व्यथालाई शान्त पार्न गोरखनाथलाई पुकारी नाच्ने गर्दछौँ, जसले गर्दा नाचबाट विभिन्न देवीदेवता प्रसन्न भई गाउँलाई सुरक्षा गर्ने विश्वास रहिआएको छ।'
विभिन्न ठाउँमा गएर नाच प्रदर्शन गर्दा पनि उक्त ठाउँका मानिसलाई सुरक्षा मिल्ने उहाँले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।