राजविराज– दलित जातिका पुजारी राखेर हरेक वर्ष तराई–मधेसमा मनाइने गरिने ‘राहु पूजा’ यस वर्ष पनि सम्पन्न गरिएको छ। सप्तरीको कञ्चनरुप नगरपालिका–८ बेरियरमा ‘राहु पुजा’ गरिएको हो।
जुनसुकै जाति, धर्म र समुदायका व्यक्तिले गर्ने यो पूजामा पुजारी भने दुसाध (पासवान) जातिकै हुने परम्परा छ।
यस वर्ष सुरुङ्गा नगरपालिका–८ मल्हनमाका सन्तोष कुमार पासवान पुजारी थिए। कञ्चनरुप नगरपालिकामै आयोजित गत वर्षको पूजामा पनि सन्तोष नै पुजारी थिए।
राहु पूजामा विषेश गरी सूर्य भगवानको आराधना गरिन्छ। सूर्य भगवानले अन्य कुनै जातिले दिएको अर्घ्य स्वीकार नगर्ने तर दुसाध जातिले दिएको स्विकार्ने मान्यताका आधारमा दुसाध जातिकै पुजारी बनाउने परम्परा छ।
कष्टपूर्ण पूजा
राहु पूजा अत्यन्तै कष्टपूर्ण मानिन्छ। पुजारीले बाँसमा बाँधेको तरबारको धारमा टेकेर उभिने, उम्लँदै गरेको खीरको भाँडामा हात हालेर खीर चारैतिर छर्किने, बल्दै गरेको आगोमा हिँड्ने र भेडालाई दाँतले चेपेर घुमाउने परम्परा छ।

भेडा नमरेसम्म छोड्न भने मिल्दैन। यिनै चार प्रक्रिया ‘राहु पूजा’ को विशेष आकर्षण भएको स्थानीय भोला पासवान बताउँछन्।
पुजारीले एक साताअघिदेखि नै पुजा लगाउने मुख्य व्यक्ति (यजमान) को घरमा आएर बस्ने तथा पूजामा प्रयोग हुने बाँसलाई बाँसघारीमै गएर पूजाआजा गरी निम्तो दिने चलन छ। सोही बाँस पूजाको दिन काटेर ल्याई तरबार बाँध्न प्रयोग गरिन्छ।

राहु पूजा गर्दा सन्तान प्राप्ति हुने, आवाजविहीनको आवाज आउने, दीर्घ रोग निको हुने, सुख समृद्धि प्राप्त हुने र इच्छा गरेको वस्तु पाइने जनविश्वास छ।
परापूर्वकालदेखि चल्दै आएको पूजामा सप्तरी लगायत सिरहा, सुनसरी र सीमावर्ती भारतीय क्षेत्रका सर्वसाधारण जम्मा हुने गरेका छन्।

यस वर्ष राष्ट्रियसभाका पूर्वउपाध्यक्ष रामप्रित पासवान, कञ्चनरुप नगरपालिकाका मेयर वसन्त कुमार मिश्र, उपमेयर निरु पोखरेल लगायत जनप्रतिनिधि र राजनीतिक दलका नेतासमेत पूजामा सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।