भारतको स्वतन्त्रता अभियानका बेला अंग्रेजहरु महात्मा गान्धीका सत्याग्रहहरुबाट आजित थिए । गान्धीको व्यक्तित्व यसै पनि तेजस्वी थियो उनको उपस्थिति एउटा ठूलो क्षेत्रलाई चलायमान बनाउन काफी हुन्थ्यो उनको सत्याग्रह शुरु हुनासाथ एक किसिमले देशै चलायमान हुन्थ्यो।
गान्धी आफू मात्रै सत्याग्रही भएनन् । उनले अहिंसात्मक आन्दोलनको प्रभावकारी हतियारका रुपमा सत्याग्रहलाई स्थापित गरे। पछि गएर अमेरिकामा मार्टिन लुथर किङदेखि दक्षिण अफ्रिकाका नेल्सन मण्डेलासम्मले मानव जातिको ठूलो हिस्सलाई दमन र उत्पीडनबाट बाहिर ल्याउन गान्धीले देखाएको अहिंसावादी आन्दालेनको बाटो पछ्याए। अहिले उति सारो नसम्झिने गरे पनि भारतभित्रै असहयोग र अहिंसात्मक प्रतिरोधको उभार ल्याउन गान्धी सफल भए।
त्यसैले भारतमा अंग्रेजका लागि सत्याग्रही आन्दोलन ठूलो चुनौतीका रुपमा देखा प¥यो । न सडकका प्रदर्शनकारीलाई झैं अश्रुग्याँस हान्न मिल्ने, न सशस्त्र विद्रोहीलाई झैं गोली र मेशिन गनले हान्न मिल्ने। त्यसरी तिल्मिलाएका अंग्रेज मजिस्ट्रेटहरुमध्ये केहीले नयाँ प्रयोग शुरु गरेः सत्याग्रहको प्रतिरोध सत्याग्रहबाटै । त्यसका लागि कुनै लोभी मानिस खोज्ने, जागिर लगायत केही प्रलोभन देखाउने वा नगदै दिने र अनशन बसाउने । काँग्रेसका तर्फबाट गान्धीको प्रेरणामा कोही सत्याग्रहमा बसेको छ भने उसको भन्दा ठ्याक्कै उल्टो माग राखेर नजिकै प्रायोजित सत्याग्रह गराउने।
अंग्रेजहरुको त्यस्तो कपटी खेलबारे भारतीय साहित्यका हस्ती प्रेमचन्दले एउटा प्रख्यात कथा लेखेका छन्ः सत्याग्रह । त्यसमा एउटा मोटेराम शास्त्री नामक पात्र छ जो अंग्रेजहरुको प्रलोभनमा परेर काँग्रेसलाई टक्कर दिन अनशन बस्छ । अनशनको शक्तिमा काँग्रेसले बनारसमा गर्न लागेको हडताल रोक्ने घोषणा गर्छ । अनि अंग्रेजहरुले दिएको पेश्की सय रुपैयाँ लिएर पेटभर खाना र मिष्ठान्न खान्छ अनि मैदानमा पुगेर सत्याग्रहको नाम लिंदै भोकै बस्न शुरु गर्छ।
तर त्यही साँझदेखि भोक नलागी हाले पनि उसले अन्नको तृष्णा थाम्न सक्दैन । पाले बसेका पुलिसलाई धक्का दिएर बाहिर जाँदा उसले घर फर्किरहेको मिठाइवाला भेट्छ । वहाना बनाएर उसलाई कतै पठाएर बचेका मिठाइ लाटलुट पार्छ र फेरि फर्केर आफ्नो ठाउँमा बस्छ । भोलिपल्ट दिनभर भोकभोकै परेपछि मोटेराम भोकले इन्तु न चिन्तु हुन्छ । यता बजारमा उसले सरकारसित हजार रुपैयाँ लिएर भोकै बसेको भन्ने हल्ला फैलिन्छ।
त्यस दिन साँझ एक जना काँग्रेसी नेता पाँच रुपैयाँका सुगन्धित मिठाइको पोको बोकेर मोटेरामलाई भेट्न पुग्छन् । उसलाई असह्य हुन्छ र उसले झम्टेर लिई त्यो मिठाइ फटाफट खाइसक्छ।
अंग्रेजहरुले पूरा जीवनको व्यवस्था मिलाइदिने प्रलोभनमा पारेकाले भोकै बसेको मोटेरामले कथाको अन्तमा तृप्तिपूर्वक यस्तो संवाद बोल्छः मेरा काम सिद्ध हो गया । यह अलौकिक आनंद है, जो धन के ढेरों से नहीं प्राप्त हो सकता। अगर कुछ श्रद्धा हो, तो इसी दूकान की इतनी ही मिठाई और मँगवा दो।
डा केसीको सोह्रौं सत्याग्रहमा सरकारको इमानप्रति उहाँले उठाएको प्रश्नको जवाफ दिन सरकारले सकेको छैन । बरु सरकार र पार्टीका जिम्मेवार मानिसहरु सबै माग पूरा हुँदाहुँदै पनि डा केसी अनावश्यक सत्याग्रहमा बसेको भनेर दुष्प्रचार गरिरहेका छन् । डा केसीको अभियान नै प्रायोजित र उहाँका मागहरु अरुले उचालेर राखिएका भनेर आरोप लगाउनेहरु पनि छन्।
सरकारले त्यस्तो प्रचार गर्नु र कुनै व्यक्ति डा केसीकोभन्दा ठीक उल्टो मागहरु राखेर उपवास बस्नु संयोग मात्रै पनि हुन सक्थ्यो । संसारमा दिनदिनै धेरै संयोगहरु जुर्ने गर्छन्।
तर नेपाल सरकारको गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत ती व्यक्तिलाई पनि डा केसीसँगै हेलिकप्टरमा काठमाडौं पठाउने निर्देशन दिनु संयोग थिएन । त्यसपछि उनलाई काठमाडौं पु¥याएपछि डा केसी सत्याग्रहरत भएको शिक्षण अस्पतालमै तिनलाई राख्नुपर्छ भनेर गरिएको जिद्दी पनि संयोग थिएन।
त्यस्तै महान क्रान्तिकारी पार्टीका गौरवशाली भातृ संगठनका युवाहरुले शिक्षण अस्पताल पुगेर ती अनशनकारीका पक्षमा प्रदर्शन गर्न खोज्नु झनै संयोग थिएन । सरकारकै जिम्मेवार पदमा हुने तथा मिडिया र सामाजिक सञ्जालमा नियमित सरकारको बचाउमा खटिनेहरुले उनका माग पूरा गर्न आवाज बुलन्द गर्नु संयोग थिएन।
तिनै प्रति–अनशनकारी व्यक्तिको आपराधिक विगतबारे खोजपूर्ण समाचार आएपछि अहिले उनको बचाउ गर्नेहरुबीचमा सन्नाटा छाएको देखिन्छ । जबकि उनको बचाउमा भन्न सकिने धेरै कुरा छन्ः विगतमा पिस्तोल लिएर लुटपाट र हिंसा गर्ने मानिस सुध्रिएर प्रायश्चित गर्दै सत्याग्रही किन हुन सक्दैन?
तर यहाँ प्रश्न चाहिं ती व्यक्तिको भन्दा पनि सरकार, सत्तारुढ दल र अहिलेको संस्थापनको नैतिकतामाथि उठेको छ।
विगत जस्तो भए पनि ती व्यक्तिको उपवासको यो श्रृंखला (याद रहोस्, यस अगाडि पनि उनी डा केसीका मागविरुद्ध उपवास बसिसकेका छन्) विधिवत रुपमा सत्तापक्ष वा ऊसँग स्वार्थ जोडिएका मानिसहरुबाट प्रायोजित थियो वा स्वतःस्फुर्त रुपमा शुरु भएको थियो भन्ने कुरा अब बिस्तारै खुल्दै जाला । उनका मागहरुको र अरु बेला उनले प्रयोग गर्ने भाषा हेर्दा त्यो नेकपाको प्रोपागाण्डा विभागबाट आएको हो कि अन्यत्रबाट भनेर छुट्याउन गाह्रो पर्छ । हुन त त्यो संयोग पनि हुन सक्छ।
तर उनको उपवासको यो श्रृंखलालाई स्वतःस्फुर्त नै मान्ने हो भने पनि अब अकाट्य रुपमा के सावित भएको छ भने सरकार र सत्तारुढ दलको शीर्ष नेतृत्वदेखि भुइँ तहका कार्यकर्ता सम्मले डा केसीको सत्याग्रह निस्तेज पार्ने अचुक अस्त्रका रुपमा उनको उपवासलाई लिएकै हुन्।
त्यस अर्थमा ती मानिसको व्यवहारिक भुमिका प्रेमचन्दको कथाको पात्र मोटेराम शास्त्रीको भन्दा उल्लेख्य फरक छैन । मोटेरामलाई अंग्रेजहरुले सय रुपैयाँको खाना र जीवनभर जजमानीबाट मुक्तिको प्रलोभन दिएर उपवास बसाएका थिए । नेपालमा यस अघि उपवास बसेका मोटेरामहरुमध्ये एक जनाले एउटा मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिइनुपर्ने माग राखेका थिए । अर्का एक जनाको स्वार्थ अर्को एउटा प्रस्तावित मेडिकल कलेजसँग जोडिएको थियो।
तर यसपल्ट सेनाको हेलिकप्टरमै उनलाई उडाउने गरी जसरी राज्यले उनको उपवासको उच्च मुल्यांकन गरेको छ, त्यो हेर्दा अहिलेको सत्ता संस्थापनले यी मोटेरामको उपवासलाई उच्च मुल्यांकन नै गरेको देखिन्छ । डा केसीको सत्याग्रहविरुद्ध कुनै तथ्यपरक कुरा गर्न नसकेपछि विवशतापूर्वक अन्तिम गोटीका रुपमा सरकारले यी मोटेरामको उपवासलाई उपयोग गरेको हो वा उसँग यस्तै अरु गोटीहरु पनि छन्, त्यो भविष्यले बताउला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।