काठमाडौं- सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गूरु योजना तयार पार्न परामर्शदाता नियुक्त गर्ने तयारी गरेको छ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक संजीव गौतमले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गुरुयोजना तयार पार्न एक महिना भित्र परामर्शदाता नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
प्राधिकरणको २०औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महानिर्देशक गौतमले भने, 'विमानस्थल क्षेत्रका रुख कटानसम्बन्धि कार्यका लागि नेपाली सेनालाई जिम्मेवारी दिने सम्झौता पनि भईसकेको छ। विमानस्थलको प्रथम चरणको डिटेल डिजाईनको कामको जिम्मेवारी पनि परामर्शदातालाई नै दिने योजना छ।'
प्राधिकरणले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अघि नै निर्माण कार्य सम्पन्न गर्ने दाबी गरेको छ।
महानिर्देशक गौतमले चन्द्रगढी र जनकपुरमा रात्रीकालीन उडान संचालनका लागि आवश्यक तयारी भईरहेको बताएका थिए।
गाउँगाउँमा हेलिप्याड निर्माण गर्ने सरकारको नीति कार्यान्वयनका लागि ‘हेलिप्याड निर्माण तथा संचालनसम्बन्धि कार्यविधि, २०७५’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको छ।
नेपालमा हाल ५० वटा विमानस्थलहरु रहेका छन्। ती मध्ये ३२ वटा विमानस्थलमा नियमित उडान भईरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।