काठमाडाैं- बंगलादेशमा आज ११औँ संसदीय निर्वाचन हुँदैछ। करीब ४० हजार मतदान केन्द्रमा सम्पन्न हुने निर्वाचनका लागि करिब ६ लाख सुरक्षा फौज तैनाथ गरिएको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन्।
निर्वाचनका क्रममा प्रधानमन्त्री शेख हसिनाको दल ‘अवामी लिग’ र विपक्षी दल बंगलादेश नेशनल पार्टी (बिएनपी) बीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ। विपक्षी दलकी नेता तथा बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया १७ वर्षे काराबासमा रहेको हुँदा पनि निर्वाचन एकपक्षीय हुने आँकलन गरिएको छ। ७३ वर्षीय जियालाई भ्रष्टाचारको आरोपमा ढाकास्थित काराबासमा राखिएको छ। जिया काराबासमा रहेका कारण पनि उनको पार्टीको राजनीतिक गतिविधि कम भएको बताइएको छ।

११औँ संसदीय निर्वाचनमा विजयी भएको अवस्थामा बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिनाले ४ पटकसम्म बंगलादेशको नेतृत्व गर्ने व्यक्तिको रुपमा इतिहास रच्ने छिन्। आमनिर्वाचन मार्फत आफू विजयी हुने हसिनाले यसअघि नै दाबी गरे पनि विपक्षी दलले भने निर्वाचन धाँधलीरहित हुनेमा आशंका व्यक्त गरेका छन्। विपक्षी दलले जियालाई भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइनु राजनीतिक प्रतिषोध भएको आरोप लगाउने गरेको छ।
यस्तै, जियाका जेठा छोरा तारिक रहेमानले सन् २००८ देखि लन्डनमा निर्वासित जीवन व्यतित गर्दै आएका छन्। सन् २००१ मा जियालाई निर्वाचित गराउन रहेमानले महत्वपूर्ण भूमिका खेलेका थिए। गत अक्टोबरमा उनलाई आजीवन काराबासको सजाय सुनाइएको थियो। उनीविरुद्ध सन् २००४ मा बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिनाले आयोजना गरेको र्यालीमा ग्रिनेड आक्रमण गरी करीब २० जना मानिसको हत्या गरेको आरोप लगाइएको छ।

निर्वाचनलाई मध्यनजर राख्दै बंगलादेशमा ६ लाख सुरक्षाकर्मी खटाइए पनि निर्वाचन प्रचारप्रसारको क्रममा हालसम्म १३ जनाको मृत्यु भएको छ।
सर्वेक्षणमा जियाभन्दा हसिना बलियो
यसपटकको निर्वाचनमा पनि एउटा समान कुरा यो छ कि दुवै प्रमुख दलको नेतृत्वमा महिला छन्। तर, वर्तमान प्रधानमन्त्रीको रुपमा हसिना जियाभन्दा बढी शक्तिशाली देखिएकी छिन्।
१९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्युत गरी लोकतन्त्र पुनस्र्थापना गरिएको बंगलादेशमा सन् १९९१ मा जिया शक्तिमा पुगेकी थिइन्। जिया प्रधानमन्त्रीमा नियुक्त भएपछि यी दुईबीच राजनीतिक प्रतिशोध बढेको बताइन्छ। त्यसपछि भएको निर्वाचनमा प्रायः यी दुवैले आलोपालो निर्वाचन जित्तै आएको इतिहास छ।

आज हुने बंगलादेशको आम निर्वाचनमा करिब १० करोड ४० लाख जनताले प्रधानमन्त्री हसिनाको अवामी लिग र जिया नेतृत्वको बिएनपीको भविष्यलाई निर्धारण गर्ने छन्। यही निर्वाचनलाई लक्षित गर्दै बिएनपीले करीब ३ महिना पहिले नै बंगलादेशका अन्य पार्टीहरूसँग गठजोड निर्माण गरेको छ।
निर्वाचनपूर्व गरिएका सर्वेक्षणहरुले बंगलादेशको आर्थिक वृद्धिदर बढाउन भूमिका खेलेको भन्दै हसिनाको पार्टीलाई वियजी गराउने बढी सम्भावना रहेको देखाएका छन्। तर, यो अवधिमा उनले नेतृत्वमा रहेको सरकारको तानाशाही प्रवृत्तिका कारण पनि उनको विकल्प खोज्न जनता आतुर रहेको दाबी गरिएको छ।
प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्थाअन्तर्गत संसदको करीब ३ सय स्थानका लागि हुने निर्वाचनमा वियजी हुन करीब १ सय ५१ सिटको आवश्यकता हुन्छ।
स्वतन्त्र निर्वाचन हुनेमा अन्तर्राष्ट्रिय समुदाय सशंकित
बंगलादेशको प्रमुख विपक्षी दल बिएनपी नेतृत्वको गठबन्धनले करीब १५ हजार कार्यकर्तालाई सत्तारूढ दलले नियन्त्रणमा लिएको आरोप लगाएको छ। जसका कारण निर्वाचन प्रचार–प्रसारमा उनीहरूलाई समस्या भएको आरोपसमेत लगाइएको छ।

मुस्लिम बाहुल्य रहेको देश बंगलादेशमा स्वतन्त्र निर्वाचन हुने कुरामा भने अन्तर्राष्ट्रिय समुदायले शंका व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।
उता अन्तर्राष्ट्रिय मानव अधिकार आयोगले पनि बंगलादेशको निर्वाचन ‘दमनकारी राजनीतिक वातावरण’ बीच सम्पन्न हुने आशंका गरेको छ।
सन् २०१४ मा बंगलादेशमा भएको आम निर्वाचनमा विपक्षी दल बिएनपीले स्वतन्त्ररुपमा निर्वाचन हुन नसक्ने बताउँदै निर्वाचनमा सहभागिता जनाएको थिएन। फलस्वरुप विभिन्न स्थानमा बिना कुनै प्रतिस्पर्धी हसिना नेतृत्वको पार्टी अवामी लिगले निर्वाचनमा सहभागिता जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।