पोखरामा मात्र मनाइने सडक महोत्सव युनिक महोत्सव हो। यस महोत्सवले स्वदेशी तथा विदेशी उल्लेख्य पर्यटक भित्र्याउन सहयोग गरिरहेको छ। यसलाई अझै भव्य र सभ्य बनाउने प्रदेश सरकारको चाहना छ।
पोखरा आफैंमा प्रदेश सरकारको राजधानी हो। पोखरा नेपालको पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारले घोषणा गरोस् भनेर गण्डकी प्रदेश सरकार लागिपरेको छ। यसका लागि हामीले प्रस्तावपत्र केन्द्रमा पठाइसकेका छौँ। पोखरालाई नेपालको पर्यटकीय राजधानी बनाउन हामी चाहन्छौँ।
पोखरा बाहिरबाट हेर्दा पर्यटकीय सौन्दर्यले भरिएको मात्रै देखिन्छ। तर, त्यो मात्रै सत्य होइन। गण्डकी प्रदेश सांस्कृतिक रुपले पनि धनी छ। ७ वटै प्रदेशमध्ये ख्यातिप्राप्त कवि शिरोमणि लेखनाथ पौड्यालदेखि झलकमान गन्धर्वसम्म यही प्रदेशका गहना हुन्। भूपिदेखि जनकवि केशरी धर्मराज थापासम्मको ठाउँ हो यो।
सबैभन्दा चर्चित सालैजो भाका हाम्रो प्रदेशभन्दा अन्त छैन सायद। भए पनि त्यसको उद्गमस्थल यहीँ हो। ठाडो भाका एउटै मात्र भाका हो नेपालको, जो गण्डकी प्रदेशमा मात्रै छ। झ्याउरे, घाटु, सोरठी लगायतका धेरै सांस्कृतिक संस्कारको धरोहर त्यसको मूलथलो हाम्रै गण्डकी प्रदेश हो। यो प्रदेश नेपालमा रहेका सांस्कृतिक परम्परा र संस्कारको जीवित संग्रहालय हो।
हुँदाहुँदा अहिले गण्डकीमा किराँतीको साकेला, उँधौली-उँभौली, तामाङको सेलो, थारु नृत्य पनि देखिन थालिसकेको छन्। सबै ठाउँका मान्छेहरूको बसोबास अहिले यहीँ छ। यसले गर्दा पर्यटनको विकास गर्न एकदमै टेवा पुग्छ।
यस प्रदेशलाई विश्वसामु चिनाउन पनि केहीकेही कुराको ब्रान्डिङ गर्न जरुरी देखिन्छ। सातै प्रदेशको राजधानी जस्तो पोखरालाई चिनाइराख्नु पर्दैन। पोखरा आफैंमा एउटा ब्रान्ड हो। यो प्रदेशमा पाइने थकाली खाना संसारभर चर्चित छ। फैलिएको छ। यो त उदाहरणमात्रै हो। यहाँ धेरै चिज छन्, जसले प्रदेश चिनाउँछन्।
यहाँबाट उद्गम भएर धेरै चिज संसारभरि परिचित भइसकेका छन्। यहाँका खाना, संस्कृति, संगीत नै अरुभन्दा फरक छन्। यी सबै कुरामा नेपालका अरु ठाउँभन्दा अगाडि नै छौँ। साहित्य, कलासंस्कृतिमा पनि कहाँ कम छ र? खाली यसलाई समृद्धिसँग जोड्नमात्रै बाँकी छ।
हामीले आफ्नो प्रदेशको नाम गण्डकी भन्यौँ। यो सबै सामाजिक सद्भाव कायम गर्न, सारा संस्कृतिलाई एउटै मालामा उन्न, शान्ति र स्फूर्त बनाउन हामीले प्रदेशलाई साझा नाम गण्डकी राखेका हौँ।
पोखरा स्ट्रिट फेस्टिभलले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन एकदमै राम्रो भूमिका निर्वाह गरिरहेको छ। यसलाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्न ‘इन्टरनेस्नल कार्निभल’ बनाउनेबारे सोचिरहेका छौँ।
हामी त्यसै पनि अरुभन्दा अगाडि गइसकेका छौँ। हाम्रो प्रदेशको राजधानी पोखरा हो। धेरै प्रदेशको राजधानी कहाँ हुन्छ? भन्नेबारे आजका दिनसम्म अन्यौलको स्थिति छ। त्यसैकारण आफ्नो राजधानीको विकास कसरी गर्ने भन्ने पनि थाहा छैन। भाग्यको कुरा यो पनि छ कि हामीले यो प्रदेशको राजधानी पोखरा नामबिना कुनै विवाद सर्वसम्मत रुपमा तोक्यौँ।
पोखरा राजधानी भइसकेपछि ‘राजधानी’ हुनकै लागि केके चाहिन्छ त पूर्वाधार? त्यसको लागि न्यूनतम आवश्यकताहरू पनि पूरा गर्न गण्डकी प्रदेश लागि परिरहेको छ। यसलाई हामी पर्यटकीय सहरका रुपमा विकास गर्न चाहन्छौँ। पोखरा आसपासमा थुपै स्ट्यान्डर्ड किसिमका होटेल र रिसोर्ट बनाउने योजना बनाइरहेका छौँ र त्यो क्रम अगाडि बढिसकेको छ।
हामीले आफ्नो प्रदेशको नाम गण्डकी भन्यौँ। यो सबै सामाजिक सद्भाव कायम गर्न, सारा संस्कृतिलाई एउटै मालामा उन्न, शान्ति र स्फूर्त बनाउन हामीले प्रदेशलाई साझा नाम गण्डकी राखेका हौँ। यो हिजो ७ वटा गण्डक (नदी) मिलेर बनेको प्रदेश थियो। आज विभाजनका कारणले त्रिशूली ३ नम्बर प्रदेशमा गाभियो। बाँकी ६ वटा नदी हामीसँगै छन्।
पोखरा प्रदेशको राजधानी भइसकेपछि अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्थ्यो। त्यो पनि २०२२ भित्र तयार हुन्छ। पृथ्वीराजमार्ग न्यूनतम ४ लेनको बनाउने तयारी गरिरहेका छौँ। यसका लागि एडिबीले नेपाल सरकारसँग सम्झौता गरिसकेको छ।
फास्टट्र्याक राजमार्ग पनि बनाउन सकियो भने इन्टरनेसनल एयरपोर्ट सञ्चालनमा आउँदा सजिलो हुनेछ। ११ मिटरको बन्दै गरेको जुन मध्यपहाडी लोकमार्ग बन्दै छ। यसले प्रदेश नम्बर ३, पश्चिमको ५ र ६ सँग गण्डकी प्रदेशलाई जोड्नेछ। त्यसले पनि हाम्रो पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ। कृषिको आधुनिकीकरणमा पनि सहयोग पुग्ने विश्वास लिएका छौँ।
गण्डकी प्रदेशले कोरलादेखि पोखरा जोड्ने सडक जोड्ने काम भइराखेको छ। त्यो काम पनि लगभग पूरा भइसकेको छ। गण्डकी प्रदेश समृद्धिको माला उनेर अगाडि बढ्न तयार छौँ। थुंगाहरू त बिस्तारै जोडिरहेका छौँ। चाँडै माला बन्नेछ। सडक र हवाईमार्गले हामी सम्पन्न हुनेछौं।
पोखरालाई पर्यटनको राजधानी बनाउन गण्डकी प्रदेश सरकारले पोखरा महानगरसँग मिलेर काम गर्नेछ।
अहिले पनि गण्डकी प्रदेशमा आन्तरिक पर्यटक करिब ६ लाख पर्यटक भित्रिरहेको पाएका छौँ। अहिले नेपालमा १० लाख बाह्य पर्यटक आए, त्यसको ४० प्रतिशत पोखरामा आएका छन्। त्यसकारण अहिले हाम्रो प्रदेशमा आन्तरिक र बाह्य पर्यटक १० लाख पर्यटक भित्र्याउँदै छ। अब हामीले ४ वर्षभित्रमा अर्को १० लाख भित्र्याउने लक्ष्य राखेका छौँ। महत्वाकांक्षी लाग्न सक्छ। तर, हामीले विश्वास गरेका छौँ।
२०२२ सम्म १० लाख पर्यटक यहाँ भित्र्याउने लक्ष्य राखेका छौँ। पर्यटक भित्र्याउने कुरा हाम्रो आन्तरिक कुरासँग जोडिएको छ। त्यसैले फेवाताल, पार्क, सडक, ट्राफिक व्यवस्थापन, शान्ति सुव्यवस्था कायम गर्ने कुरामा हामी गम्भीर भएर लागेका छौँ।
पोखरालाई पर्यटनको राजधानी बनाउन गण्डकी प्रदेश सरकारले पोखरा महानगरसँग मिलेर काम गर्नेछ।
पोखरामा अहिले सबै प्रकारको खेल खेल्न मिल्ने गरी अन्तर्राष्ट्रिय रंगशाला बनाउने योजना अघि सारेका छौँ। यसका लागि केही दिनअघि मात्रै चाइनिज कम्पनीले फिल्ड भिजिट गरिसकेको छ। प्रदेश सरकारले त्यसमा समन्वय गर्न केन्द्रीय सरकारसँग माग गरिसकेको छ। पुसको अन्त्यतिर बहुउद्देश्यीय खेलमैदान गर्न चाइनासँग सहमति गर्दैछौँ। त्यसले पनि यहाँ पर्यटकको संख्या भित्र्याउने कुरामा ढुक्क छौँ।
सबै कुराले सम्पन्न राजधानीमा ३ सय ६५ दिनै कन्फ्रेन्स भइरहने खालको कमसेकम एकैचोटि ३/४ हजार अटाउन सक्ने अन्तर्राष्ट्रिय सभागृह बनाउन योजना बनाएका छौँ। यसका लागि लगानीकर्ता खाजिरहेका छौँ। निजी कम्पनीसँग कुरा गरिराखेका छौँ।
पोखरासँग जोडिएका स्याटलाइट गाउँलाई स्मार्ट गाउँ बनाउने तर्खरमा छौँ। होमस्टे छन्, तिनीहरुलाई छानेर स्मार्ट होमस्टे बनाउन आगामी वर्ष बजेट छुट्टयाउनेछौँ।
बाह्य मुलुकको शक्ति र निजी क्षेत्रले लगानी गर्न चासो देखाएन भने गण्डकी प्रदेशले पोखरा महानगरसँग मिलेर आफैं बनाउँछौँ। पोखरामा एउटा राम्रो जमिन खोजिरहेका छौँ। त्यहाँ हामीले बहुसांस्कृतिक ग्राम बनाउने छौँ। त्यो ग्राममा नेपालमा पाइने सबै जातजातिको घर हुने छ। त्यहाँ हामीले ठूलो कल्चरल हल हुनेछ।
पोखरासँग जोडिएका स्याटलाइट गाउँलाई स्मार्ट गाउँ बनाउने तर्खरमा छौँ। होमस्टे छन्, तिनीहरुलाई छानेर स्मार्ट होमस्टे बनाउन आगामी वर्ष बजेट छुट्टयाउने छौँ। ४ वर्षभित्र ती होमस्टेबाट गण्डकी प्रदेशको पर्यटनमा थप विकास गर्ने छौँ। यसले यहाँको गरिबी घटाउने छ।
हाम्रो देशमा उद्योग, कलकारखानाको विकास नभई सकेका कारणले करको दायरा पनि सानै छ। हामी गरिब छौँ। आम्दानीका हिसाबले कमजोर छौँ। जुन सरकारको आर्थिक आम्दानी कम हुन्छ, निश्चित रुपमा त्यो ठाउँमा निजी क्षेत्रको लगानी धेरै भित्र्याउनुपर्छ।
त्यसकारण प्रदेश सरकारले जुन क्षेत्रमा लगानी हुने सम्भावना हुन्छ, त्यो क्षेत्र चुनेर हामीले विकास गरिरहेका छौँ। पर्यटन नै गण्डकीको आर्थिक आम्दानीको मुख्य आधार हो।
हामीलाई प्रकृति र संस्कृतिले धेरै साथ दिएको छ। त्यसैले यहाँको मुख्य आर्थिक स्रोत कृषि होइन, उद्योग होइन, ऊर्जाको क्षेत्र होइन। पर्यटन नै हो भनेका छौँ। किनभने यसले रोजगारको अवस्था सिर्जना गर्न सक्छ र गरिबी निवारणमा सहयोग पुर्याउन सक्छ।
(पोखरामा शुक्रबारदेखि सुरु भएको २०औं सडक महोत्सवमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको मन्तव्यको सम्पादित अंश। प्रस्तुति : विकास रोकामगर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।