भक्तपुर- नेवार समुदायमा धुमधामका साथ म्ह:पूजा गरिएको छ।
म्हःपूजाको शाब्दिक अर्थ शरीर पूजा हो। तिहारको चौथो दिन शुक्रबार साँझ नेवार समुदायले आआफ्नो शरीर पूजा गर्दै म्हःपूजा पर्व मनाए।
म्हःपूजाका लागि सबैभन्दा पहिले मण्डप बनाउनुपर्दछ। मण्डप बनाउँदा तेलको घेरा, पिठो, अक्षता, लावा, मास र कालो भटमास लगायतको प्रयोग गरिन्छ। मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बस्नुपर्दछ।
म्हःपूजामा होस् या भाइटीका नेवार समुदायले विशेष खालको माला लगाउने गर्दछन्। सो माला काँचो धागोले बनाएको हुन्छ, जसलाई कोखा भनिन्छ। कोखा काँचो धागोमा रङ्गीबिरङ्गी कपडाको टुक्रा राखेर बनाइन्छ।
म्हःपूजा गर्दा पहिले गणेशलाई पूजा गरिन्छ। यो पूजा घरको नकीं (मूली महिला) ले गर्ने परम्परा छ। यो पूजा गर्दा शरीरमा तीन पटकसम्म मुटुमारी (चामलको रोटी) सहित पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर आदि राखेर पूजा गरिन्छ। त्यसपछि टीका लगाई माला लगाइन्छ।
आफूले मान्नुपर्नेसँग टीका लगाई फूलमाला पहिरी अण्डा, माछा र रक्सी सगुन हातमा लिएर खाने गरिन्छ। यो पूजा आफ्नो शरीरमा लागेको पाप र रोग आदि सबै नाश होस्, आयु लामो होस् भन्ने कामनाका साथ गरिन्छ।
नेवार समुदायमा म्हःपूजाको विधि स्थान विशेषमा फरक फरक रहेको पाइन्छ। स्थान विशेषअनुसार पूजा गर्ने विधिमा केही फरकपन आए पनि सारमा पूजा गर्नुको उद्देश्य भने एउटै रहेको पाइन्छ।
सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्हःपूजा भन्नाले आत्मपूजाका रुपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्याय बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।