सार्वजनिक मञ्चमा बोल्ने क्रममा धेरै कुरा गर्ने बानी छ। माओ, गान्धी सबैको कुरा भन्नुपर्ने मेरो बानी छ।
महाभारतमा एउटा पात्र छः भीमसेन। भीमसेनले दुर्योधनका सबै दाजुभाइ सिध्याए। मार्ने क्रममा पनि हात नै भाँच्नुपर्ने। हात काटेर पनि नपुग्ने रगत नै पिउनुपर्ने।
त्यसकारण म भन्छु– राजनीति यस्तै हुन्छ। भीमसेन जस्तै राजनीतिमा पनि हुन्छन्। राजनीतिको चरित्र यस्तै हो।
राजनीतिमा हिंसा, लोभ लालच सबै हुन्छ। न कृष्णका पालामा अलग थियो। न रामका पालामा अगल थियो। न गान्धीका पालामा अलग थियो। त्यसकारण राजनीतिको चरित्र बुझ्नुपर्छ।
लोकतान्त्रिक समाजवाद र साम्यवाद मार्क्सका सन्तान भन्नेहरु पनि छन्। यसमा मेरो गम्भिर असहमति छ। यसको दायरा बढाएर बुझ्नुपर्छ। युरोपमा भएको औद्योगिक क्रान्तिबाट उत्पादन र सम्पन्नताबाट मार्क्सवाद, समाजवाद तथा लोकतान्त्रिक समाजवाद आएको हो। सम्झनुपर्ने अर्को विषय छ– पूँजीवाद र साम्यवादमा केही फरक छैन।
समाजवादका व्याख्या गर्दा रोजाले समाजवादमा व्यक्तिगत स्वतन्त्रतामा अपहरण गर्न पाइँदैन भनेका थिइन्। उनै रोजा हिंस्रक क्रान्ति गर्ने क्रममा जर्मनमा सहिद भइन्। उनको मुख्य आशय के थियो भने व्यक्तिगत स्वतन्त्रता हरण गर्न पाइँदैन।
लेनिनले संविधानसभा विघटन गर्दा यो सबैभन्दा ठूलो अपराध गर्यौ भन्ने उनै थिइन्। तर, आधारभूत रुपमा रोजा तथा लेनिन सबै औद्योगिक क्रान्ति गर्ने पक्षका हुन्।
बीसौं शताब्दीको प्रारम्भमै तत्कालिन साधारण पत्रकारले गान्धीलाई सोधे– 'हाम्रो देश बेलायत जस्तै कहिले बन्छ?’ गान्धीले जवाफ दिए, ‘तीन पुस्तामा पनि बन्दैन। मुठ्ठीभर जनताले विश्वको चालीस प्रतिशतभन्दा बढी जनतालाई दमन गर्न, शोषण गर्न, लुट्न पाएपछि मात्रै बेलायत बन्न सकिन्छ। भारतले बेलायतको जस्तो जीवनस्तर प्राप्त गर्न भारतभन्दा छ गुणा ठूलो ६ वटा देशलाई उपनिवेश बनाउनुपर्छ।'
लेनिनले मजदुरहरुको नेतृत्वमा क्रान्ति हुने भनेका थिए। माओले किसानहरुको नेतृत्वमा क्रान्ति गरि देखाइदिन्छु भने। क्रान्ति ‘निड’को आधारमा हुने हो, ‘ग्रीड’का आधारमा होइन।
समाजशास्त्र त भर्खर अस्ति आएको हो। तर अर्थशास्त्र धेरै पहिले आएको हो। प्रारम्भमा पोलिटिकल इकोनोमिक्स थियो। पछि अर्थशास्त्र आएको हो। अर्थशास्त्र बारेमा जानकारी दिन अर्थशास्त्र पढेकै हुनुपर्छ भन्ने छैन। गान्धीले अर्थशास्त्र पढेका थिएनन्। उनको भनाई के थियो भने देशमा जमिन कति छ? जनसंख्या कति छ? राष्ट्रको कूल पूँजी कति छ? देशको ऋण कति छ? कुल सबैलाई जोड भन्ने उनको तात्पर्य थियो।
हामीकहाँ त्यसतर्फ ख्याल छैन, सिंगापुर बनाउने भनिँदैछ। झिँगापुर बनाउने सामर्थ्य छैन। स्विजरल्याण्ड? गाँउका सिधा सादा जनतालाई झुक्याउन सकिन्छ।
गान्धीको उठाएका कुरालाई मैले अझै जोड दिएर भन्छु। उनले भनेका थिए– बेलायत र अमेरिकाले बनाएको सभ्यता ‘निड’मा आधारित छैन। त्यो ग्रिडमा आधारित छ। आवश्यकतामा आधारित छैन, लाभ र लागतमा आधारित छ। रिकार्डो र मार्शलले के भनेका थिए, सबै बिर्सनुस्। आजको आवश्यकतामा ध्यान दिनुस्। गान्धीको भनाइ यही हो।
अर्थशास्त्र नपढे पनि गान्धी र बिपीमा अर्थ ज्ञान थियो। बिपीले विकास भनेको राजनीतिक प्रक्रिया भन्नुभएको थियो। त्यससँगै गाई पाल्ने कुरा पनि गर्नुभएको थियो। बिपीकै सिद्धान्त अनुसरण गर्दै मैले चालीस गाई पालेको थिएँ। त्यसको कहानी छुट्टै छ।
बिपीको कुरालाई पनि परिमार्जन र परिष्कृत गर्नुपर्छ। बिपीको कुरामा भुस पनि छ, गुदी पनि छ। चामल पनि छ, खोस्टा पनि छ। कुन लिने त?
विकासका कार्यमा जनता र कार्यकर्तालाई समावेश गरिँदैन भने परिणाम प्राप्त हुँदैन। डाक्टर, इन्जिनियर, टेक्नोक्र्याटलाई मात्रै जिम्मेवारी दिइन्छ भने विकास हुन सक्दैन। बिपीले भन्न खोज्नुभएको त्यही हो। विकासलाई जनतासँग जोड्नुपर्छ। प्रजातन्त्र आयो भनियो तर अवस्था उस्तै छ। प्रहरी प्रशासनको दादागिरी उस्तै छ।
विकासलाई कहिलेकाहीँ असान्दर्भिक विषयसँग जोडिन्छ। कांग्रेसको सरकारको समयमा तीन करोड मोबाइल भित्रियो रे। त्यो कहीँ कांग्रेसले ल्याएको हो? त्यसो भए सुडानमा पनि कांग्रेसले लगिदिएको? विश्वमा सर्वत्र सञ्चारको विकासक्रममा मोबाइल पनि आएको हो। त्यो चाहे/नचाहे पनि आउने नै थियो।
माओको देशमा माओलाई सुनिएन। गान्धीलाई नेहरुले सुनेनन्। त्यो बेला भनिएका सबै कुरा लागु हुन्नन्। समय अनुसार परिमार्जित र परिष्कृत हुँदै जान्छन्।
चीन र भारतको जनसंख्या विश्वको आधा जनसंख्या छ। ती देशमा घनत्व बढी छ। लेनिनले मजदुरहरुको नेतृत्वमा क्रान्ति हुने भनेका थिए। माओले किसानहरुको नेतृत्वमा क्रान्ति गरि देखाइदिन्छु भने। क्रान्ति ‘निड’को आधारमा हुने हो, ‘ग्रीड’का आधारमा होइन।
नेकपाले माओलाई बिर्सिसक्यो। युद्धकालमा प्रतिपादित 'प्रचण्डपथ' पनि माओवादीहरुले बिर्सिसके।
माओ र गान्धीको कार्यपद्धतिमा अद्भुत समानता थियो। दुवै किसानुमुखी थिए। दुवै जनमुखी थिए। दुवै भन्थे– ‘जनताबाट सिक अनि जनतालाई सिकाऊ।’
हामी भने जनताबाट सिक्नै चाहदैनौं। विकासका नाममा विदेशी साँढे ल्याएर विकृति भित्र्याएका छौं। विकासे साँढे बारे एउटा कथा छ। गाईमा उच्च प्रजातीका बाच्छा उत्पादनका लागि विदेशी साँढे ल्याइयो। गर्भाधानपछि नयाँ प्रजातिमा उच्च प्रजाती हुने अपेक्षा राखिएको थियो। साँढे त ल्याइयो। गाईहरु एकै स्थान जम्मा गराइयो। गर्भाधानको लागि साँढेको पहल भएन। वरिपरि घुम्छ तर गर्भाधान क्रियामा सहभागी नै भएन। किन साँढेले आफ्नो काम गरेन भनेको त उसले आफूलाई कन्सल्ट्यान्ट भन्दो रहेछ। नेपालको विकासको प्रवृत्ति पनि यस्तै छ।
युरोपको मजदुर आन्दोलनलाई फरकफरक रुपमा व्याख्या गरे। हिन्दुस्तानमा सोसल डेमोक्रेसी भनियो। कंग्रेस सोसियल पार्टीले एक प्रस्ताव पास गरेको थियो। जसमा बिपी कोइराला सदस्य हुनुहन्थ्यो। भनियो, ‘हामी डेमोक्रेटिक फोर्स हो। प्रजातान्त्रिक समाजवादी हौं।’
नेपालको सन्दर्भमा समाजवाद प्रयोग गर्ने हो भने माओले वा गान्धीले गर्न खोजेका कार्यका मूल्यांकन गर्नुपर्छ।
नेपालमा युद्ध गरेका माओवादीले पनि कुनै समय माओले ठीक गरेका थिएनन् भनेका थिए। लेनिनको पक्षमा देखिएका थिए। देङको उदारण दिएर विकास भएको प्रष्ट्याउने गरेका पनि छन्। चीनको अवस्था भयावह हुने दिन आउँछ। कि चीनले विश्वयुद्ध निम्त्याउँछ। कि आन्तरिक समस्यामा फस्छ।
माओको देशमा माओलाई सुनिएन। गान्धीलाई नेहरुले सुनेनन्। त्यो बेला भनिएका सबै कुरा लागु हुन्नन्। समय अनुसार परिमार्जित र परिष्कृत हुँदै जान्छन्।
बिपीले भनेका सबै कुरा ठीक पनि थिएनन्। राजासँग घाँटी जोडिएको छ भनेका थिए। खै त आज घाँटी जोडिएको?
सम्पन्नताको आधारमा समानता र समानताको आधारमा सम्पन्नता अर्थशास्त्रको विकास गर्नुपर्छ। यो ओली र प्रचण्डको भन्दा पृथक हुन्छ। सम्पन्नता र समानता कैचीका दुई धार जस्तै हुन्। कुन पहिले भन्ने हुँदैन। विगत ३० वर्षमा उत्पादन उत्पादन भनिरह्यौं तर उत्पादन हुनै सकेन।
(कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ पुस्तकको विमोचनका क्रममा भएको बहसमा गिरिद्वारा प्रस्तुत विचारको संम्पादित अंश।)
प्रस्तुतिः लिलु डुम्रे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।