'आफ्नै घर' फर्कंदा भक्कानिए गच्छदार, भावुक मूडका ७ तस्बिर

नेपाल लाइभ | २०७४ असोज ३० सोमबार | Monday, October 16, 2017 १५:१०:०० मा प्रकाशित

काठमाडौं- विजयकुमार गच्छदारको पार्टी नेपाल लोकतान्त्रिक फोरम आज नेपाली कांग्रेससँग समायोजन भएको छ।

बालुवाटारमा आयोजित कार्यक्रममा गच्छदार निकै भावुक देखिएका थिए।

'गिरिजाप्रसाद दाजुले रोक्दारोक्दै पनि दस वर्षअघि यही बालुवाटारबाट म बाहिरिएको थिएँ,’ उनले भक्कानिँदै भने, 'दस वर्षअघि जुन ठाउँबाट बाहिरिएको थिएँ, त्यहीँबाट पुनः प्रवेश गर्न पाउँदा खुसी लागेको छ।' 

आफ्नो नसा र रगतमा कांग्रेस भएको भन्दै उनले लोकतन्त्रलाई थप सुदृढ बनाउन कांग्रेस प्रवेश गरेको प्रस्ट्याए।

गच्छदार २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनअघि कांग्रेस छोडेर तत्कालीन मधेसी जनाधिकार फोरम प्रवेश गरेका थिए। मूल पार्टी छोडेका गच्छदार १० वर्षपछि कांग्रेसमै फर्किएका हुन्। 

२०४८ देखि २०५६ सालसम्म उनी कांग्रेसका सांसद थिए। कांग्रेस फुटाएर शेरबहादुर देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेपछि उनी देउवासँगै गएका थिए। कांग्रेसको राजनीति छाडेर २०६४ माघमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनाधिकार फोरम प्रवेश गरेका थिए। 

२०६६ सालमा प्रचण्ड सरकारबाट बाहिरिपछि उनले पार्टी फुटाएर माधव नेपालको सरकारमा सहभागी भए। नेपाल सरकारमा सहभागिताका लागि उनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी गठन गरेका थिए।