काठमाडौँ- जुसको बट्टामा लुकाएर ल्याइएको कोकिन सहित दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोले कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन अनसारी र ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुक्वा सिरिल ओबडोफुला रहेका छन्। उनीहरुको साथबाट करिब ४ करोड रुपैयाँ बराबरको कोकिन बरामद भएको प्रहरीले जनाएको छ।
नसिममुद्दिन साउन १ गते इन्डियो एयरलाइन्सको विमानबाट मुम्बई हुँदै नेपाल आएका थिए। उनलाई काठमाडौँ-२६, ठमेलस्थित एक होटलबाट जुसका २ वटा बट्टा भित्र लागुऔषध कोकिनका ६२ वटा क्याप्सुल लुकाएर बसिरहेको अवस्थामा पक्राउ गरेको थियो।
नसिमुद्दिनले उक्त लागु औषध कोकिन सहितका जुसका बट्टाहरू काठमाडौँ-९ पिङ्गलास्थानस्थित एक होटलमा बसिरहेका नाइजेरियन नागरिक ओबडोफुलाबाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। ओबडोफुला साउन १ गते नै कतार एयरलाइन्सबाट नेपाल आएका थिए।
उनलाई पनि नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागु औषध कोकिनका क्याप्सुलहरू कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर नेपाल ल्याएको बयान दिएका छन्। होटल पुगेपछि उनले कोकिनका क्याप्सुलहरू जुसको बट्टाहरू भित्र लुकाएको खुल्न आएको हो।
बरामद गरिएको कोकिनको तौल १ केजी १०० ग्राम रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको लागुऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी ३ करोड ८५ लाख हुन आउने प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।