काठमाडौँ- ठमेल पर्यटन विकास परिषद्ले ठमेल भित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत मनोरञ्जन कर खारेज गर्न माग गरेको छ।
परिषद्का अध्यक्ष भविश्वर शर्मा नेतृत्वको टोलीले सोमबार बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल तथा मन्त्रीहरुलाई भेटेर ठमेल क्षेत्र भित्रका व्यवसायमा लगाएको मनोरञ्जन कर हटाउन माग गर्दै ज्ञानपत्र बुझाएको हो।
परिषद्ले विगत लामो समयदेखि ठमेल क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरी सबै व्यवसायीलाई निःसर्त पर्यटन व्यवसायीका रुपमा उपत्यका पर्यटन कार्यालयमा दर्ता गर्न आग्रह गरेको छ।
उक्त टोलीले ठमेलमा सञ्चालित होटलमा हाल नवीकरण प्रक्रियामा अनावश्यक झन्झट दिने गरी वातावरणीय प्रभाव मूल्याङ्कन (आईई र ईआईए) माग गरिएको भन्दै उक्त ‘रिपोर्ट’ विना सहज तरिकाले नवीकरण गर्न माग गरेको छ।
आजै बाग्मती प्रदेशका सभामुख भुवनबहादुर पाठक, उपसभामुख अप्सरा चापागाईं, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य लगायतलाई भेट गरी आफ्नो मागको विषयमा परिषद्ले ध्यानाकर्षण गराएको छ।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।