काठमाडौँ- हेटौँडा दुग्ध वितरण आयोजनामा १ करोड २० लाख हिनामिना भएको पाइएको छ। दूध तथा दुग्ध पदार्थ बिक्री-बापत एक डिस्ट्रिब्युटरसँग लिनुपर्ने रकम बैंक दाखिला नै नभई दाखिला भएको देखाएर रकम हिनामिना गरेको पाइएको हो।
उक्त बैंकको विगत वर्षदेखिको हिसाब भिडान गर्दा १ करोड २० लाख रुपैयाँ घटी दाखिला गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
सञ्चालक समितिको २०७८ चैत २८ को निर्णयबाट २०७९ वैशाख १९ मा निज डिस्ट्रिब्युटर विरूद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा उक्त रकम र ब्याज सहितको क्षतिपूर्ति असुल गर्न जाहेरी दिइएकोमा जिल्ला अदालतमा विचारधीन रहेको महालेखाको भनाइ छ।
यस्तै संस्थानले साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र एक डेरी सप्लायर्सबाट चेकमार्फत प्राप्त ४५ लाख निजको लिनुपर्ने हिसाबमा घटाई समायोजन गर्नु पर्नेमा बिक्री शाखामा कार्यरत कर्मचारीसँग लिनुपर्ने नगद हिसाब मिलान गरेको छ। सम्बन्धित कर्मचारीबाट उक्त रकम ब्याजसमेत असुल गर्न महालेखाले निर्देश गरेको छ।
बैंक हिसाब भिडान छैन
यस्तै संस्थानले लेखा हिसाब अनुसारको बैंक मौज्दात, बैंक समर्थन पत्र र बैंक स्टेटमेण्टसँग भिडान गरी अद्यावधिक राख्नुपर्नेमा बैंक हिसाब भिडान नगरेको कार्यालयले जनाएको छ।
‘संस्थानमा दूध तथा दुग्ध पदार्थको बिक्री रकम जम्मा बैंक खाताहरुको बैंक समर्थन पत्रभन्दा लेखा हिसाबमा बढी देखिएको १ करोड ६१ लाख र बैंक समर्थन पत्रभन्दा लेखा हिसाबमा घटी देखिएको १ करोड ८३ लाख हिसाब भिडान भएको छैन,’ कार्यालयको प्रतिवेदनमा भनिएको छ।
यस्तै सञ्चालनमा नरहेका खाताहरु केन्द्रीय हिसाबमा ७५ लाख र काठमाडौं दुग्ध वितरण आयोजनामा ५४ लाखसमेत गरी १ करोड २९ लाख हिसाब भिडान नगरेको प्रतिवेदनमा उल्लेख छ। बैंक विवरण र लेखा हिसाबबीचको फरकको हिसाब मिलान गर्न कार्यालयले निर्देश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।