काठमाडौँ- ‘नुमाफुङ’ फेम निर्देशक तथा नेपाली सिनेमाको बलिउड शैली नक्कलका प्रखर विरोधी नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ।
टोरोन्टो फिल्म पेस्टिवलमा विश्व प्रिमियर हुँदै संसारका विभिन्न फिल्म फेस्टिवलहरुको यात्रा गरेको सिनेमा जेठ २५ गते घरेलु बक्स अफिसमा रिलिज हुँदैछ।
सार्वजनिक ट्रेलर पूर्वी नेपालको सुदुर गाँउमा मोटर बाटो र बाटोसँगै पुगेको यातायात सेवाले गाउँमा भित्रिएको आधुनिक उपभोक्तावादले बाँसको चोयाका सामान बेचेर दैनिकी गुजार्दै आएको ‘माइला’(दयाहाङ राई)को परिवारमा आएको नयाँ परिस्थितिको कथा पेस गर्छ। सो परिस्थितिलाई निर्देशकले बाबुछोराको माध्यमबाट कथानक बुनेको ट्रेलरले जानकारी दिन्छ।
सधैँ उस्तै देखिएको भन्ने आरोप खेप्दै आएका दयालाई यो सिनेमाले फरक प्रकारमा प्रस्तुत गर्ने सहज अनुमान गर्न सकिन्छ।
सिनेमामा दयाहाङका अलावा प्रसन राई, पशुपति राई, प्रेम सुब्बा आदिको प्रमुख भूमिका छ। सिनेमामा महेश राईको कथा रहेको छ भने पटकथामा राईले निर्देशक सुब्बासँग सहलेखन गरेका छन्। यस्तै यसका निर्माता नवीन तथा अमोद राई हुन्।
सामुदायिक लगानीको अवधारणामा निर्माण गरिएको फिल्ममा जोस हेरमले छायांकन, क्वान पुन लुङले सम्पादन छ।
मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको फिल्मलाई टिफल्क फिल्मस् र बैंकटेस फिल्मले वितरण गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।