एजेन्सी– रुसको एक अदालतले मङ्गलबार ७७ वर्षीय एक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय सुनाएको छ।
उनीमाथि जर्मनीसँग रुसको हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रमसम्बन्धी गोप्य डाटा साझा गरेको आरोप लगाइएको थियो।
हालैका वर्षहरूमा हाइपरसोनिक्समा अनुसन्धानमा संलग्न धेरै प्रमुख वैज्ञानिकहरू मुलुकको गोप्य कुरा विदेशी मुलुकलाई साझा गरेको आरोपमा पक्राउ परेका छन् र कारागार पुगेका छन्।
सेन्ट पिटसबर्गको एक अदालतले भौतिक वैज्ञानिक अनातोली मास्लोभलाई देशद्रोहको दोषी पाएको र १४ वर्षको कारागार सजाय सुनाएको सहरका अदालतको प्रेस सेवाले सामाजिक सञ्जालमा एक पोस्टमा बताएको छ। अदालतले मुद्दालाई ‘अति गोपनीय’ श्रेणीमा राखिएकाले मुद्दाको सुनुवाइ बन्द सत्रमा गरिएको बताएको छ।
तथापि रुसी मिडिया आउटलेटहरूले मास्लोभमाथि रुसको हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रमसँग सम्बन्धित गोप्य डाटा जर्मन गुप्तचरलाई दिएको आरोप लगाइएको बताएका छन्। मास्लोभले गत साता सजाय सुनाउनुअघि अदालती सुनुवाइमा आरोपहरूलाई अस्वीकार गरेका थिए।
‘उहाँले आफूले कुनै पनि गल्ती वा गैरकानूनी काम नगरेको बताउनुभयो, आफ्नो जीवन परिवार र घरेलु विज्ञानका लागि समर्पित गरेको बताउनुभयो, कथित जानकारी हस्तान्तरण नगरेको र यो कुनै राजकीय गोप्य नभएको बताउनुभयो’, मास्लोभका वकिललाई उद्धृत गर्दै सरकारी टिएएसएस समाचार एजेन्सीले भनेको छ।
सन् २०२२ जुनमा पक्राउ परेका मास्लोभ हाइपरसोनिक्समा अनुसन्धानमा विशेषज्ञ हुन्। हाइपरसोनिक्स रुसको उन्नत क्षेप्यास्त्र कार्यक्रमका लागि महत्त्वपूर्ण अनुप्रयोगहरू भएको सैद्धान्तिक क्षेत्र हो। उनी रुसको विज्ञान एकेडेमीको साइबेरिया शाखाको सैद्धान्तिक तथा एप्लाइड मेकानिक्स इन्स्टिच्युटमा मुख्य शोधकर्ता थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।