काठमाडौं- दुई जना व्यक्तिको हत्या तथा चोरी-डकैतीको अभियोग लागेका एक व्यक्ति २५ वर्षपछि आइतबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, बलुवाका ७२ वर्षीय प्रेम गिरी छन्।
गिरी २२ असोज २०६५ मा जिल्ला प्रशासन कार्यालयका पर्साका तत्कालीन शाखा अधिकृत मोहनप्रसाद मैनालीको हत्यामा संलग्न रहेको प्रहरीले जनाएको छ। मैनालीको गोली हानी हत्या भएको थियो।
१२ भदौ २०५७ को मध्यराति पर्साको तत्कालीन विन्दवासिनी गाविस–४ बस्ने ३० वर्षीय देवेन्द्र यादवको घरमा भएको डकैतीमा पनि गिरी संलग्न थिए। त्यस क्रममा उनी सहितको समूहले गोली हानेर देवेन्द्रप्रसाद यादवको हत्या गरेको प्रहरीको भनाइ छ।
१९ फागुन २०६६ र २५ पुस २०६० मा उनी पर्सा प्रशासनको फैसला अनुसार हातहतियार तथा खरखजाना मुद्दामा फरार थिए। ३ असार २०६० मा उनी पुनरावेदन अदालत हेटौंडाको फैसलाअनुसार हातहतियार तथा खरखजना मुद्दामा फरार थिए।
४ जेठ २०५६ मा जिल्ला प्रशासन कार्यालय, पर्साले गरेको सार्वजनिक अपराध सम्बन्धी मुद्दामा समेत गिरी फरार थिए। मैनालीको हत्यामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर थप जाँच भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।