काठमाडौँ- इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा कोही पनि जीवित रहेको संकेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रूपमा जलेको बताएका छन्।
खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर होसेन कोलिवाण्डले इरानको सरकारी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत छैन।’
राहत तथा उद्धार टोली केही समय भित्रै दुर्घटनास्थलमा पुग्ने इरानी समाचार एजेन्सीहरुले जनाएका छन्।
अजरबैजानस्थित एक कार्यक्रमबाट राष्ट्रपति रैसी, होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती सवार हेलिकप्टर आइतबार दुर्घटनामा परेको थियो।
खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको अनुमान छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरेको र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।