काठमाडौँ- ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ। उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ गौसरा घर भई हाल ललितपुर महानगरपालिका–१५ खुमल्टार बस्ने ३७ वर्षीय कमल थापामगर, सोही ठाउँका ३५ वर्षीय धनलाल थापा मगर, सन्धुपाल्चोक घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने २८ वर्षीय सुवास सुनार, कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीका ४१ वर्षीय रमेश विक, काठमाडौँ टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय योगेश डाँगी तथा सप्तरी सुरुङ्गा नगरपालिका–२ बस्ने २२ वर्षीय मोहम्मद समीर छन्।
गत वैशाख ७ देखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुन–चाँदीका गरगहना तथा आइफोन लगायतका धनमाल चोरी भएको थियो। पक्राउ परेकाहरुलाई बरामद गरिएको सामान सहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।