काठमाडौं– एपीएफले ललितपुर मेयर्स वुमन्स टी-२० कपको उपाधिमा ह्याट्रिक गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमविरुद्ध २ रनको रोमाञ्चक जित निकाल्दै एपीएफले उपाधिमा ह्याट्रिक गरेको हो। यसअघिका दुई संस्करणको उपाधि एपीएफले नै जितेको थियो।
१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ विकेटको क्षतिमा १५३ रन बनायो। कविता जोशीले आक्रामक ब्याटिङ गरे पनि अन्तिम ओभरमा रन जोड्न नसक्दा टोलीलाई जिताउन सकिनन्।
कविताले ४५ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ६७ रन बनाइन्। लक्ष्मी साउदले २९, बिन्दु रावलले १९, साबित्रा धामीले १२, सम्झना खड्काले १० र रुबी पोद्दारले ५ रन बनाइ। रितु कनौजिया शून्य रनमा आउट भइन्।
एपीएफकी करुणा भण्डारीले २ तथा सुमन बिष्टले एक विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले सीता रानामगर र राजमति ऐरीको अर्धशतकमा १५५ रन बनाएको थियो।
एपीएफका लागि सीता रानामगरले सर्वाधिक ७४ रन बनाइन्। उनले ८ चौका प्रहार गरिन्। राजमति ऐरीले ४६ बलमा ७ चौका मद्दतमा ५० रन बनाइन्।
ममता चौधरी १० र सरिता मगर एक रनमा अविजित भए भने इन्दु बर्मा ९ र रोमा थापा ६ रन जोडेर आउट भए।
सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।