काठमाडौं- पाँच किलो सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहनकुमार गणेशन छन्।
विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट (स्वागतद्वार) नजिक आइसकेका उनीहरुलाई विमानस्थल प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो। सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको प्रहरीले जनाएको छ।
फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को विमानबाट उनीहरु सोमबार बेलुका पौने ७ बजे काठमाडौंमा ओर्लिएका थिए। भन्सार चेकिङबाट स्वागतद्वार नजिक शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।