काठमाडौँ- शहरी विकास मन्त्रालयले काठमाडौँमा प्रस्तावित चार स्मार्ट शहरमध्ये इशान शहर निमार्णको प्रस्ताव पुनः क्याबिनेटमा लैजान गृहकार्य सुरु गरेको छ। ३ बर्ष अघि मन्त्रिपरिषद्मा पेस भएको इशान नयाँ शहर निर्माणसम्बन्धी प्रस्ताव अघि नबढेपछि प्रस्तावित योजनाको पुनरावलोकन गरी नयाँ प्रस्ताव अघि बढाउन मन्त्रालयले तयारी थालेको हो।
उक्त आयोजनालाई अघि बढाउने विषयमा आइतबार भएको बैठकमा शहरी विकास मन्त्री धनबहादुर बुढाले इशान नयाँ शहरसम्बन्धी प्रस्तावलाई एक महिना भित्र भौतिक पूर्वाधार समितिमा पेस गर्न निर्देशन दिएका छन्।
गत साता इशान नयाँ शहर आयोजनाको प्रगति अनुगमन गर्न गएका मन्त्री बुढालाई स्थानीयवासी र जनप्रतिनिधिले लामो समयदेखि स्मार्ट शहरको लागि भन्दै जग्गा रोक्का गरेका कारण नागरिकले निकै कष्ट व्यहार्नुपरेको भन्दै जतिसक्दो छिटो आयोजना निर्माणको कामलाई अघि बढाइदिन आग्रह गरेका थिए।
२०७८ सालमा मन्त्रालयले पेस गरेको उक्त आयोजना निर्माण सम्बन्धी प्रस्ताव अर्थको सहमति नहुँदा मन्त्रिपरिषद्बाट अघि बढ्न सकेको छैन।
मन्त्री बुढाले उक्त आयोजनामा भएको ढिलाईले सर्वसाधरण नागरिकले हैरानी खेप्नुपरेको भन्दै एक महिना भित्रमा भौतिक पूर्वाधार समितिको वैठकबाट पारित गरेर मन्त्रिपरिषद्मा पेस गर्ने गरी काम गर्न उपत्यका विकास प्राधिकर सहित सम्बद्ध कर्मचारीलाई निर्देशन समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।