एजेन्सी-हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले बन्धक बनाइएका एक व्यक्तिको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा उनी जीवित रहेको देखिएको छ ।
एघार सेकेन्डको क्लिपमा ती व्यक्तिलाई बोलिरहेको देखाइएको छ । जसमा अरबी र हिब्रू भाषामा ‘समय समाप्त हुँदैछ, तपाईंको सरकारले झुटो बोलिरहेको छ’ लेखिएको छ ।
समूहको टेलिग्राम च्यानलमा पोस्ट गरिएको यो भिडियो गाजामा बन्दी बनाइएकाहरुको एक महिनाभन्दा कम समयमा जारी गरिएको तेस्रो भिडियो रहेको जनाइएको छ ।
यसअघि गत अप्रिल २७ मा समूहले जारी गरेको एउटा भिडियोमा दुई बन्धक किथ सिगल र ओमरी मिरानलाई जीवित देखाइएको थियो । यसको तीन दिनअघि समूहले अर्को प्रसारण गरेको भिडियोमा बन्धक हर्श गोल्डबर्ग–पोलिनलाई जीवित देखाइएको थियो ।
अक्टोबर ७ मा हमास लडाकू समूहले दक्षिणी इजराइलमा हमला गरेर गाजा क्षेत्रबाट करिब दुई सय ५० मानिसलाई बन्धक बनाएको थियो । इजरायली अधिकारीहरूक अनुसार तीमध्ये एक सय २८ लाई अहिले पनि प्यालेस्टिनी क्षेत्रमा बन्दी बनाइएको छ । तीमध्ये ३६ जनाको मृत्यु भइसकेको छ ।
हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० भन्दा बढी इजराइली र विदेशीहरूको मृत्यु भएको आधिकारिक इजरायली आँकडाले बताएको छ । हमासद्वारा सञ्चालित क्षेत्रका स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको जवाफी सैन्य कारबाहीमा अहिलेसम्म अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा ३४ हजार नौ सय ७१ जनाको मृत्यु भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।