काठमाडौँ- ‘प्रकाश’ फिल्मका लेखक विकास सुवेदी तथा निर्देशक दिनेश राउतले राष्ट्रिय चलचित्र पुरस्कार विरुद्ध दायर गरेको रिट खारेज भएको छ।
पाटन उच्च अदालतका न्यायाधीशद्वय लेखनाथ पौडेल र टीकाराम आचार्यको संयुक्त इजलासले मंगलबार रिट खारेज गर्ने फैसला गरेको हो।
२०८० सालमा वितरण गरिएको पुरस्कारमा सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने निर्णय विरुद्ध प्रकाश फिल्मका लेखक-निर्देशकले गत वर्ष असोज २४ गते रिट दायर गरेका थिए।
गत वर्ष भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्म घोषणा नगरी अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो।
रिट दायर भएपछि बोर्ड विरुद्ध कारण देखाउ आदेश जारी गरेको थियो। त्यसपछि वारेसमार्फत बोर्ड अध्यक्ष भुवन केसीले अदालतलाई जवाफ दिँदै फिल्म ‘प्रकाश’लाई जुरीले उत्कृष्ट चलचित्र भनी सिफारिस गरेको तर बोर्डका एक सदस्य रविचन्द्र अधिकारीले उजुरी निवेदन दिएपछि गठित तीन सदस्यीय समितिले दिएको प्रतिवेदनको सुझावको आधारमा उत्कृष्ट राष्ट्रिय चलचित्र विधाको पुरस्कार स्थगन गरेको जिकिर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।