काठमाडौं- काठमाडौँ-तराई-मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै नेपाली सेनाले काठमाडौं-तराई-मधेस द्रुतमार्गको प्रगति विवरण सार्वजनिक गरेको हो।
कार्य प्रगति विवरण सार्वजनिक गर्दै आयोजना प्रमुख विकास पोखरेलले हालसम्मको समष्टिगत भौतिक प्रगति ३३.२० प्रतिशत रहेको र समष्टिगत वित्तीय प्रगति ३३.७१ प्रतिशत रहेको जानकारी दिए। उनले आयोजनाको चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक लक्ष्यको तुलनामा हालसम्मको भौतिक प्रगति ८२.७७ प्रतिशत र वित्तीय प्रगति ६९.४१ प्रतिशत रहेको पनि जानकारी दिए।
कुल लम्बाई ७०.९७७ किलोमिटर रहेको यस द्रुत मार्गमा जम्मा लम्बाई १०.०५५ किलोमिटर हुनेगरी ६ स्थानमा सुरुङ निर्माण हुने जनाइएको छ। त्यस्तै १२.८८५ किमी लम्बाई हुनेगरी ८९ स्थानमा पुल निर्माण हुनेछ। ६ वटामध्ये ३ वटा सुरुङ निर्माणको क्रममा रहेको र ३ वटामा खरिद सम्झौता भएर प्रक्रिया अगाडि बढेको आयोजना प्रमुख पोखरेलले जानकारी दिए।
उनका अनुसार ८९ पुलमध्ये ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका र ४ वटा जग्गा अधिग्रहण सम्बन्धी समस्या रहेको खोकना क्षेत्रमा परेको छ। कुल २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको सो द्रुत मार्ग २०८३ साल चैत मसान्तमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।