काठमाडौं– हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा चलिरहेको द्वन्द्वमा सम्भावित सफलताको प्रतीक भएको सिएनएनले जनाएको छ।
भरपर्दो स्रोतबाट सिएनएनले प्राप्त गरेको दस्तावेजमा उल्लिखित प्रस्तावले तनाव कम गर्न र दिगो शान्तिका लागि मार्गप्रशस्त गर्ने उद्देश्यले विस्तृत योजना प्रस्तुत गरेको छ।
दस्तावेजअनुसार सम्झौता तीन चरणमा लागू हुनेछ र प्रत्येक चरण ४२ दिनसम्म चल्नेछ। पहिलो चरणको छ हप्ताको अवधिमा महिला, बालबालिका, वृद्ध र बिरामीसहित ३३ जना इजरायली बन्धकहरूको रिहाइ समावेश छ।
बदलामा इजराइली सेना विस्तारै गाजाका केही भागहरूबाट फिर्ता हुनेछन्। जासुसी उडानहरू दैनिक १० घण्टाका लागि रोकिनेछ भने निरस्त्र प्यालेस्टिनीहरूलाई गाजा पट्टीभर स्वतन्त्र आवागमनको अनुमति दिइनेछ।
यसका अतिरिक्त विनिमय प्रक्रियाका लागि निर्दिष्ट मापदण्डसहित,सयौँ प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी गरिएको सिएनएनले उल्लेख गरेको छ। सम्झौतामा हमासले रिहा गरेको प्रत्येक इजरायली बन्धकका लागि ३० प्यालेस्टिनी महिला तथा बालबालिका रिहा गरिने उल्लेख छ । साथै समान उमेर समूहका प्रत्येक इजरायली बन्धकका लागि ५० वर्षमाथिका ३० जना प्यालेस्टिनी कैदीहरू पनि रिहा गरिने छ।
यसबाहेक ३३ जना बन्धकहरूमा महिला आइडिएफ सैनिकहरू समावेश छन्। रिहा गरिने प्रत्येक आइडिएफ महिला सैनिकका लागि ५० जना प्यालेस्टिनी कैदीलाई रिहा गर्न इजराइल सहमत भएको छ। यीमध्ये ३० जना आजीवन कारावासको सजाय भोगिरहेका छन्। सम्झौताको मानवीय पक्षलाई गाजामा अस्थायी आश्रय र घरहरूका साथै अस्पताल र बिजुली संयन्त्र जस्ता प्रमुख पूर्वाधारको पुनःस्थापनासहित सहायताको प्रवेशलाई सहज बनाउन व्यापक जोड दिइएको छ।
सम्झौताको दोस्रो चरणमा पुरुष नागरिक र आइडिएफ पुरुष सैनिकसहित बाँकी बन्धकहरूको रिहाइका साथै गाजामा शान्तिको स्थायी अवधि प्राप्त गर्न प्राप्त गर्न केन्द्रित गरिएको छ। यद्यपि दस्तावेजमा यस चरणको विशिष्ट विवरणलाई सम्पूर्णरूपमा खुलासा नगरिए पनि पहिलो चरणमा भएको प्रगतिमा अगाडि बढ्ने अनुमान गरिएको सिएनएनले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।