काठमाडौं- ललितपुरको ग्वार्कोस्थित टहरामा आगलागी हुँदा घाइते भएका दुई जना बालिकाको मृत्यु भएको छ। टहरामा आगलागी हुँदा एकै परिवारका ५ जना घाइते भएका थिए।
आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको सोमबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
आइतबार ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ जना गम्भीर घाइते भएका थिए। उनीहरुमध्ये दुई छोरीको सोमबार मृत्यु भएको हो।
घरमुली ३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालकै आईसीयूमा उपचार भइरहेको छ। सञ्जयलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले सोमबार जारी गरेको विज्ञप्ति अनुसार सञ्जय र रुपाको अवस्था जटिल रहेको अस्पतालले जनाएको छ। आगलागीमा उनीहरुसँगै जलेर घाइते भएका भतिज १५ वर्षका नित गिरीको अवस्था भने सामान्य छ। उनलाई जनरल वार्डमा सारेर उपचार गरिएको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।