काठमाडौं– काठमाडौँ महानगरपालिकाले खुला मञ्चको ग्रेडिङ् र लेभलिङ्को काम थालेको छ। काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको हो।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरपालिकाकातर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले हस्ताक्षर गरेका छन्।
यस्ता पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर भएको थियो। त्यसै सहमतिका आधारमा २३ गते विभागले खुला मञ्चको ग्रेडिङ् र लेभलिङ्का लागि सम्झौता गरेको हो।
कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसी, महानगरपालिकाको सार्वजनि निर्माण विभागका प्रमुख सुरज शाक्यसहित इञ्जिनियरहरु मञ्च पुगेका थिए।
कामका विषयमा प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता गर्यौं। त्यसको भोलिपल्टैबाट काम थालिएको छ। हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।