एजेन्सी- उत्तरपश्चिम पाकिस्तानको गिलगिट बालिस्तान क्षेत्रमा एक यात्रुवाहक बस सिन्धु नदीमा खस्दा तीन महिलासहित २० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । घाइते सबैको नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बस रावलपिंडीबाट गिलगिट जाँदै थियो । काराकोरम राजमार्गको दियामेर जिल्लास्थित गुनार फार्म नजिकै बस सिन्धु नदीमा खसेको बताइएको छ ।
प्रधानमन्त्री शाहबाज सरिफले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य सम्पन्न भएको छ । उद्धारमा सेनाको हेलिकप्टर प्रयोग गरिएको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।