एजेन्सी-युक्रेनले आफ्नो विदेश मन्त्रालयका तर्फबाट आधिकारिक बयान दिने भिक्टोरिया नामक एआई प्रवक्ता सार्वजनिक गरेको छ ।
मन्त्रालयले आफ्नो बयानहरू पढ्नका लागि डिजिटल प्रवक्ता प्रयोग गर्ने जनाएको हो। अँध्यारो रङको सुट लगाएकी प्रवक्ताले सामाजिक सञ्जालमा पोस्ट गरिएको प्रस्तुतिमा आफूलाई ‘डिजिटल व्यक्ति’ का रूपमा भिक्टोरिया सी भनेर चिनाइन् ।
प्रवक्ताले आफ्नो हातले इसारा गर्छिन् र बोल्दा आफ्नो टाउको हल्लाउँछिन् । सीले दिने बयान एआईद्वारा उत्पन्न नभएर ‘वास्तविक मानिसहरूद्वारा लिखित र प्रमाणित’ गरिएको हुने विदेश मन्त्रालयको प्रेस सेवाले एएफपीलाई बताएको छ ।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले नयाँ प्रवक्तालाई ‘विश्वमा कुनै पनि कूटनीतिक सेवामा अहिलेसम्म नभएको प्राविधिक छलाङ’ भएको बताए। कूटनीतिज्ञहरूलाई ‘समय र स्रोतको बचतका लागि यसो गरिएको उनको भनाइ छ।
सीको निर्माता द गेम चेन्जर्स नामक एक टोली रहेको छ । उक्त टोलीले युक्रेनको युद्धसँग सम्बन्धित भुर्चअल रियालिटी सामग्री पनि बनाएको छ ।
सीको उपस्थिति र आवाज रोसाली नोम्ब्रे नामक वास्तविक व्यक्तिमा मोडेल गरिएको छ । नोम्ब्रे गायिका र युक्रेनको द ब्याचलर रियालिटी सोको संस्करणमा पूर्वप्रतिस्पर्धी हुन् । नोम्ब्रेको जन्म पूर्वी युक्रेनमा अहिले रुस नियन्त्रित सहर दोनेत्स्कमा भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।