काठमाडौं– विशेष अदालतले नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतले उनलाई नेपाल इञ्जिनियरिङ कलेजको सम्पत्ति गैरकानूनी रुपमा आफ्नो खातामा राख्ने निर्णय गरेकोमा दोषी ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि तीन सातापछिको समय तोकेको छ।
विशेषले २०८१ वैशाख १६ गते सजाय निर्धारण गर्ने छ। विशेष अदालतले सामाजिक संस्थाको सम्पत्ति गैरकानूनी रुपमा व्यक्तिगत खातामा सारेकामा उनलाई दोषी ठहर गरेको हो। विशेषको ठहर अनुसार, उनले १२ करोड ८४ लाख ८७ हजार रुपैयाँ गैरकानूनी रुपमा अपचलन गरेको अभियोग थियो।
उनले विभिन्न बैंकमा आफ्नो नाउँमा खाता खोली कलेजको रकम स्थानान्तरण गरेको भन्दै विशेष अदालतले त्यसरी आम्दानी गरेको आयस्रोतको कर भुक्तानी नगरेको ठहर गरेको छ। आफ्नो हक नपुग्ने संस्थाको सम्पत्ति कुनै अभिलेख नराखी निजी सम्पत्तिको रुपमा परिणत गरेको भन्दै विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो।
विशेष अदालतले यसरी गैरकानूनी रुपमा हिनामिना गरेर लाभ गरेको रकम १२ करोड ८४ लाख रुपैयाँ रहेको फैसलाको रायमा उल्लेख छ। तलब भत्ता, गाडी र अन्य सुविधाका नाममा रकम दुरुपयोग गरेको विशेष अदालतको ठहर छ।
आठ जनालाई सफाइ
तत्कालीन अध्यक्ष न्यौपानेसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकोमा विशेष अदालतले अरु आठ जनालाई भने सफाइ दिएको छ। सफाइ पाउनेमा रामरत्न उपाध्याय, लवराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमा कुमारी केसी, इल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्याय र उपेन्द्र गौतम छन्।
विशेष अदालतले फैसलाको रायमा भनेको छ, ‘ठहर भएको कसुरमा के कति सजाय गर्न उपयुक्त हुन्छ भन्ने सम्बन्धमा छुट्टै सुनुवाइ गर्नुपर्ने भएको १६ वैशाख २०८१ मा पेशी तोकिएको।’ त्यो दिनको सुनुवाइपछि विशेष अदालतले न्यौपानेलाई हुने सजाय र जरिवाना निर्धारण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।