काठमाडौं- अहिले नेपाली चिकित्सा जगतमा ब्रेन ड्रेनलाई लिएर ठूलो बहस भइरहेको छ। नेपाली चिकित्सक विदेशिनु ‘अभिशाप’ भन्ने कोणबाट एकपक्षीय बहस चलिरहेको छ। कुनै त्यस्ता ब्रेन पनि विदेशिएका हुन्छन्, जुन एउटा ब्रेनले नेपालका लागि ‘बहुब्रेन’ उत्पादन गर्ने मात्रै होइन, नेपालमै उपचारको कोशेढुंगा खडा गरिदिन्छन्। सहज र सुलभ उपचारका लागि लगानीसमेत नेपाल भित्र्याइरहेका हुन्छन्। त्यस्तो एउटा ब्रेन हो, डा विनय शाह।
उच्च शिक्षा र राम्रो अवसरका लागि हरेक दिन बाहिरिने नेपालीको भीडमा मिसिएर डा शाह पनि सन् २००३ मा अमेरिका पुगे। नेपालकै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेका उनी अमेरिका उच्च शिक्षा हासिल गर्नका लागि पुगेका थिए। अमेरिकाको ब्रुकलिनस्थित लङ आइल्यान्ड कलेजमा इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गर्ने अवसर पछ्याउँदै त्यहाँ पुगेका हुन्। त्यसपछि उनले त्यहिँ रक्तरोग र रक्तक्यान्सरमा थप विज्ञता (फेलोसिप) लिने अवसर पाए।
विगत २० वर्षदेखि अमेरिकाका प्रसिद्ध अस्पतालहरुमा उपचार सेवा दिइरहेका छन् भने आफूले अध्ययन गरेको विषयमा अमेरिकाभरि शिक्षासमेत फैलाइरहेका छन्। अमेरिकामा प्राप्त ज्ञान र अवसरलाई उनले अर्थोपार्जन तथा आफ्नो जीवन सुलभ बनाउनमै सीमित भने राखेका छैनन्। अमेरिकालाई उनले भौतिक उपस्थितिको थलो मात्रै बनाएका छन्। मनले भने उनी हरेक क्षण नेपालमा छन्। मनलाई देशको माटोबाट अलग हुन नदिन उनले आफ्नो करियरको सुरुवातमै बिनयतारा फाउन्डेसन खोलेका हुन्। जसले नेपालमै बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्न सघाएर रक्तरोगका बिरामीलाई गुन लगाइसकेको छ। नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उक्त रोगमा विशेषज्ञता हासिल गर्न सहयोग र समन्वय दुवै गरेको छ।
फाउन्डेसनका सुत्रधार डा विनय र उनकी जीवनसाथी ताराको सपना निकै फराकिलो छ। उनीहरु यही गैर नाफामुखी संस्था अन्तर्गत रहनेगरी नेपालको मधेश प्रदेशमा दक्षिण एशियाकै सुविधा सम्पन्न क्यान्सर अस्पताल बनाउन चाहन्छन्। जुन सपनाको विजारोपण हाल २५ बेडको विनयतारा क्यान्सर सेन्टर चलाएर गरिसकेका छन्। सन् २०२४ देखि २०० बेडको क्यान्सर अस्पतालको भवन निर्माण सुरु हुनेछ। यसबाहेक होम हस्पिस कार्यक्रम, क्यान्सरसम्बन्धी सचेतना अभियान र अमेरिकाका नामी चिकित्सकसमेत सहभागी हुनेगरी हरेक वर्ष नेपालमै अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनसमेत फाउन्डेसनले गर्दै आएको छ।
‘लाइफ सेट’ एक अनन्त शृंखला
आफ्नै कमाइको केही हिस्सा खर्च गरेर नेपालका उपचारमा पहुँच कम भएको क्षेत्रमा काम गर्ने उद्देश्यले सन् २००७ मा फाउन्डेसन खोलिएको थियो। अमेरिका बसाइको सुरुवाती चरण नै भएकाले मनले चाहे पनि धनका कारण रोकिनुपर्ने अवस्था आउन सक्ने उनलाई लागेको थियो र आफ्नो योजना चिनेजानेका अन्य अमेरिका निवासी नेपालीसँग बाँडेका थिए। सुरुमा असाध्यै उत्साहित भएका उनीहरु डा शाहको प्रस्ताव सुनेपछि भने टकटकिए। डा शाहको प्रस्ताव थियो, ‘फाउन्डेसनमा जोडिन कि आर्थिक सहयोग गर्नुपर्छ, कि स्वयंसेवा।’
धेरैले करियर बनाउने अर्थात् ‘लाइफ सेट’ भएपछि सेवामा फर्किने अपेक्षा राख्दै टाढिए। डा विनयको सेवी भावनालाई मलजल गर्ने उनकै अर्धाङ्गिनी नर्स तारा शाह थिइन्। उनीहरु जीवनमा मात्रै सहयात्री थिएनन्, उनीहरुकी आदर्शसमेत एउटै थिइन् मदर टेरेसा।
‘युवा उमेरमा भारतको कलकत्ता आएर जीवन नै त्यहीँ बिताउनुभयो। हजारौंलाई जीवन मात्रै दिनुभएन, करौडौं मान्छेलाई उत्प्रेरणा दिनुभयो,’ उनले भने, ‘लाग्यो- पृथ्वीमा जन्मेपछि समाजका लागि केही गर्न सक्नैपर्छ।’ डा विनय मध्यमवर्गीय परिवारमा जन्मिएका हुन्। सरकारी स्कुलमा पढेका उनले चिकित्कीय ज्ञानसीप पनि सरकारी खर्चमै हासिल गरे। बैंकका जागिरे पिता जता सरुवा भयो, त्यतै पुग्ने क्रममा नेपालका थुप्रै भुगोलसँग उनको जानपहिचान भयो। रहनसहन नजिकबाट महशुस गरेका थिए।
अमेरिकामा पुगेर रेसिडेन्सी सुरु गरेपछि उनलाई केही पैसा प्राप्त हुन थाल्यो। उनको दिमागले एकैपल्ट बालापनमा पुर्यायो। जुनबेला उनले मदर टेरेसा पढेका थिए। मदर टेरेसा पढ्नुअघि उनले झन्डै तीन सय पुस्तक (धर्म, संस्कृति, फिलोसोफी, कथा, कविता आदि) पढेका थिए। कक्षा ७ देखि १० पढ्दा एक विज्ञान शिक्षकको सद्भावमा पढेका यी किताबाट उनको बाल मष्तिष्कले एउटा निष्कर्ष निकालेको थियो- समाजमा राम्रो र नराम्रो दुवै प्रकारका मान्छेहरु छन्। अन्तत: राम्रोले जित्छ। टेरेसा पढेपछि भने ‘राम्रो बन्ने’बाट सोच उन्नत बन्दै समाजका लागि केही गर्नुपर्नेमा पुग्यो।
त्यसपछि उनी आफूलाई प्राप्त केही पैसा र थप सेवी मनहरुको सहयोगबाट नेपालमै केही गर्ने लक्ष्यमा लागेका थिए। उनले फाउन्डेसन खोल्ने योजनाको समय स्मरण गर्दै भने, ‘डाक्टरका रुपमा अमेरिकामा राम्रो जीवन छ। मैले चाहेको काम अब गर्नुपर्छ। समय यही हो भन्ने लाग्यो। मैले साथीहरुलाई भनेँ। उहाँहरुले राम्रो काम भन्नुभयो। तर, सहयोग कुरा आउँदा 'लाइफ सेट'पछि भन्दै लाखापाखा लाग्नुभयो।’
‘लाइफ सेट’ आफैंमा अनन्त शृंखला हो भन्ने महशुस उनलाई त्यसअघि नै भइसकेको थियो। उनले पहिलोपल्ट एमबीबीएसमा नाम निकाल्दा साथीहरुबाट सुनेका थिए, ‘विनयजी अब तपाईंको लाइफ सेट भयो।’ त्योबेला उनलाई पनि त्यस्तै लागेको थियो। जब उनले एमबीबीएस पास गरे। त्यसपछि फेरि उनका साथीहरुबाट त्यही दोहोरियो- ‘अब त तपाईंको लाइफ सेट भयो।’
सफलताको जुन सिढी उक्ले पनि निकटस्थ र साथीभाइबाट उनले पाउने प्रतिक्रिया त्यही थियो- अब तपाईंको लाइफ सेट भयो। ‘अमेरिकामा विशेषज्ञता पढ्ने अवसर पाएपछि पनि त्यहिँ सुनेँ। मैले हेमाटोलोजीमा फेलोसिप पाएँ। फोनबाट साथीभाइले 'लाइफ सेट भयो' नै भने,’ उनले सम्झिए, ‘लाइफ सेट भएपछि यस्तो गरौंला, उस्तो गरौं भन्ने मान्यता हाम्रो छैन। यो त अनन्त शृंखला रहेछ। त्यसैले जुनबेला जति सकिन्छ, त्यति गर्दै जाने हो भने हामीले सुरु गर्यौं।’
अमेरिकामा पढ्न थालेपछि उनी र उनकी जीवनसाथी तारा साहले आफैंसँग प्रश्न गरे- जीवनमा के कुराले धेरै महत्व राख्छ?
उनीहरुले उत्तर आफैंले तय गरे- परिवार, पैसा, करियर, नाम, चर्चा, राम्रो स्वास्थ्य आदि। प्रतिप्रश्न गरे- यिनीहरुले के दिन्छन्? उत्तरहरु आए- जीवनमा सहजता, प्रेम र खुशी।
फेरि अर्को प्रश्न उब्जियो- हामीले जे छौं कसका कारणले? उत्तर पाए- अरुका कारणले। धर्तीमा उपस्थितिमा आफ्नो मर्जी छैन, यहाँ नरहनुमा आफ्नो केही चल्दैन भनेपछि चर्चा र सुख पनि क्षणिक हुन्। ‘बरु समाजका लागि केही गर्न सकियो भने आफू नरहे पनि आफ्नो अस्तित्व अनन्तकालसम्म रहने रहेछ,’ डा विनयले महशुस गरे। त्यही महशुसीकरणको नतिजा फाउन्डेसन हो।
क्यान्सरपछि जीवन छ भन्ने जानेपछि
डा शाहले चिकित्सा रोज्नुमा त्यस्तो ठूलो कुनै कथा छैन। उनको समयमा राम्रो पढ्ने विद्यार्थीसँग जम्मा दुई विकल्प थियो- डाक्टर बन्ने कि इञ्जिनियर।
डा शाहको परिवार चाहन्थ्यो- छोरा डाक्टर बनोस्। उनका पिताले बच्चादेखि नै त्यसका लागि प्रोत्साहित गरे। जनकपुरको रामस्वरुपम क्याम्पसबाट आइएससी गरेपछि एमबीबीएस पढ्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगे। एमबीबीएस सकिएपछि उच्च अध्ययनका लागि न्युयोर्क पुगे। त्यहाँ रेसिडेन्सी सुरु गरेपछि उनले पहिलोपल्ट देखे- क्यान्सरको बिरामी निको हुँदो रहेछ। निको नभए पनि कतिको जीवन लम्ब्याउन सकिने रहेछ।
धरानमा एमबीबीएसको उनी दोस्रो ब्याचका विद्यार्थी हुन्। भर्खरै चिकित्सा अध्ययन सुरु भएको प्रतिष्ठानमा छुट्टै क्यान्सर विभाग थिएन। ‘मैले एमबीबीएस पढ्दा क्यान्सरसम्बन्धी उपचारका लागि प्रशस्त संस्था थिएनन्। त्यस्तो अवधारणा नै थिएन। अमेरिका आएपछि चट्टै निको पार्न पनि सकिन्छ वा जीवन लम्ब्याउन सकिन्छ भन्ने जानेँ,’ उनले भने, ‘क्यान्सर भयो भने अब कुनै एन्सर छैन अर्थात् क्यान्सरको पर्यायवाची शब्द मृत्यु भन्ने मेरो बुझाइ थियो। यस्तो देखिसकेपछि भने दिमागमा क्यान्सर उपचारप्रति लगाव बढ्यो। मेरो मेन्टरले पनि यसमा प्रोत्साहित गर्नुभयो।’
त्यसपछि उनले क्यान्सरको उपचारमै थप अध्ययन का लागि युनिभर्सिटी इलिनोइ सिकागोमा फेलोसिप पाए। रक्तरोग तथा रक्त क्यान्सर (हेमाटोलोजी)मा उनले विज्ञता हासिल गरे। अमेरिकाका विभिन्न अस्पतालमा रक्तरोग विशेषज्ञका रुपमा उनले सेवा दिइरहेका छन्।
आफूले अमेरिकामा रक्तरोगका बिरामी जोगाइरहँदा नेपालमा त्यससम्बन्धी छुट्टै उपचार केन्द्र नभएको कुराले उनलाई पोलिरहन्थ्यो। नेपालमा क्यान्सर उपचारमा केन्द्रित भरतपुर क्यान्सर अस्पतालमा रक्त क्यान्सरको उपचार गर्ने सेन्टर बनाउन सघाउने योजना उनले बनाए। त्यसका लागि अस्पतालसँग समन्वय गरेर सहमतिसमेत भएको थियो तर विविध कारणले कार्यान्वयनमा आएन। त्यसपछि नेपाल सरकारको लगानीमा सिभिल अस्पतालमा रक्त क्यान्सरको उपचार केन्द्रमा बनाउने कुरा अघि बढ्यो। त्यसमा फाउन्डेसनका तर्फबाट प्राविधिक सहयोग भयो।
सन् २०१२ देखि उक्त योजनामा काम सुरु भयो। सिभिल अस्पतालमा कार्यरत चिकित्सक, एकजना नर्स र एक प्याथोलोजिस्ट पनि फाउन्डेसनको समन्वय र सहयोगमा युनिभर्सिटी अफ इलिनोइमा पुगेर सिकेर फर्के। यसैगरी फाउन्डेसनकै सहयोग र समन्वयमा अर्का एक चिकित्सकले श्रीलंकाबाट उक्त विषयमा ज्ञानसीप लिए। सन् २०१६ मा डा विनयको सपना पूरा भयो। डा शाहले भने, ‘उपचारका लागि नेपाली दाजुभाइले भारत र सिंगापुर धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने कार्यमा हामीले पनि धेरथोर सहयोग गर्न पाएकोमा खुशी छौं।’
मधेशमा अस्पताल बनाउने प्रेरणा
विनयतारा फाउन्डेसन अमेरिकामा क्यान्सर कन्फ्रेन्स गर्ने संस्था हो। कन्फ्रेन्समा अमेरिकाका नाम चलेका चिकित्सक मात्रै होइन, सेलिब्रिटीसमेत निम्त्याइन्छन्। सीएनएनको चर्चित शो ‘द ल्यारी किङ शो’का प्रस्तोता ल्यारी किङ (दिवंगत) समेत सहभागी भइसकेका छन्। त्यही क्रममा एकपल्ट अमेरिकाका नाम चलेका चिकित्सकमध्येका एक डा रबर्ट विन कन्फ्रेन्समा आइपुगेका थिए।
उनले भनेका थिए, ‘दक्षिणी सिकागोमा उपचारको पहुँच राम्रो छैन।’ त्यसले डा विनयलाई नेपालको दक्षिणी क्षेत्रको तस्विर सम्झायो। नेपालमा क्यान्सर उपचारका केन्द्र त्यो समय काठमाडौंकेन्द्रित थिए। उनले त्यहिँ क्यान्सर अस्पताल बनाउनेगरी योजना बनाए। उनले भने, ‘नेपालमा क्यान्सर अस्पताल बागमती प्रदेशमा थिए। तीन करोड जनसंख्यामा साढे दुई करोड पहुँच बाहिर छ। ठूलो जनसंख्या भएको प्रदेश मधेशमा क्यान्सर उपचार केन्द्र जरुरी छ भन्ने महशुस भयो।’
त्यसअघि उनको संस्थाले काठमाडौंको सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र, ललितपुरमा होम हस्पिस कार्यक्रम, अमेरिकामा सीएमई र क्यान्सरसम्बन्धी कन्फ्रेन्स गर्दै आइरहेको थियो।
क्यान्सर उपचार केन्द्रका लागि फाउन्डेसनले सक्रिय हुने निधो गर्नुअघि उनले पिरामिड मोडल बनाएर हेरे। जसको तल अर्थात् धेरै क्षेत्र ओगटेको भागमा समाज थियो भने माथि तीखो रहेको भागमा स्वास्थ्य संस्था थिए। त्यसले उनलाई उपचार केन्द्रका लागि आफूहरु सक्रिय हुनैपर्ने बोध गरायो।
डा विनयको एउटा स्वभाव छ- योजना बनाएर मात्रै नबस्ने, काम थालिहाल्ने। दक्षिण एशियाकै नमुना क्यान्सर अस्पताल बनाउने योजना बनाएका उनले सन् २०१८ देखि २५ बेडको अस्पताल जनकपुरमा सुरु गरिसकेका छन्। जहाँ किमोथेरापी, सर्जरी, आईसीयु र ल्याबको व्यवस्था छ। जनकपुरकै पहिलोपल्ट हिस्टोप्याथोलोजी ल्याब उक्त सेन्टरमा खुलेको छ।
उनी भन्छन्, ‘त्यहाँबाट विश्वस्तरकै क्यान्सर अस्पतालका साथै क्यान्सरसम्बन्धी उच्च तहको शिक्षा प्रदान गर्न सकियोस् भन्ने चाहना छ।’ त्यहाँ काम गर्ने कर्मचारीलाई भारतका अस्पताल र इन्सिच्युट अफ मेडिसिन (आइओएम)मा पठाएर तालिम दिइएको छ। उक्त अस्पतालमा हरेक आइतबार ‘नेपाल-युएसए ट्युमर बोर्ड’ हुन्छ। क्यान्सरको बिरामी उक्त अस्पतालमा आएमा नेपालका चिकित्सकहरुसँग अमेरिकाका विशेषज्ञले भर्चुअल माध्यमबाट छलफल गर्छन्। नेपाली चिकित्सकलाई उपचारका लागि सहजीकरण गर्ने काम अमेरिकाका डाक्टरहरुले गर्छन्। जसले गर्दा विश्वले उपचारका लागि पत्ता लगाएको नयाँ ज्ञान र प्रयोगमा आएको सीप यहाँका बिरामीको उपचारमा प्रयोग हुन्छ।
यसैगरी अमेरिकाबाट स्वयंसेवी चिकित्सकहरु जनकपुर पुगेर स्थानीय चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र स्वयंसेविकालाई क्यान्सरको उपचार र जनचेतनाका विषयमा समेत सहजीकरण गर्ने गरेका छन्। डा विनय भन्छन्, ‘जनकपुरमै बिरामीले विश्वस्तरीय उपचार सेवा पाउन् भन्ने हाम्रो अपेक्षा हो।’
प्रविधिको उपयोगमा पनि उक्त अस्पताल नमुना बनाउने डा विनयको सपना छ। अहिले अमेरिकाकै टेक्सासमा बस्ने नेपाली मुलका डाक्टर डा सुवोध मलिकको नेतृत्वमा इलेक्ट्रोनिक मेडिकल रेकर्डिङको अभ्यास जनकपुरमा रहेको क्यान्सर सेन्टरमा पनि भइरहेको छ। ४ बिघा जग्गामा बन्ने २०० बेडको अस्पताललाई शतप्रतिशत कागजविहीन बनाउने पनि उनको योजना छ। त्यसको थालनी अहिलेदेखि नै भएको हो।
चाँडै निर्माण हुने अस्पतालको डिजाइन तयार छ। सान फ्रान्सिस्कोमा रहेको चर्चित डिजाइन कम्पनी फङ एन्ड चाङ आर्किटेक्ट्स्ले उक्त अस्पतालको डिजाइन गरेको छ। अस्पतालमा क्यान्सरका सबै विभाग हुने डा विनय बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।