काठमाडौं– सरकारले भारतबाट चिनी र चामल आयात गर्न इच्छुक व्यवसायीलाई आवेदन दिन आह्वान गरेको छ। भारतले निर्यात प्रतिबन्ध गरेकाले कोटामा चिनी र चामल निर्यात गर्ने जनाएपछि आवेदन दिन आह्वान गरेको हो।
चिनी आयातका लागि पुस ५ गते र चामल आयातका लागि पुस ८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गरेको हो। भारतले १८ जेठदेखि १४ कात्तिकसम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारतमै उत्पादन कम भएको र मूल्य नियन्त्रण गर्नुपर्ने भन्दै लगाइएको निर्यात प्रतिबन्धको समय थप एक वर्ष लम्ब्याएको छ।
त्यस्तै, साउन ४ गतेदेखि लागू हुने गरी चामल निर्यातमा पनि भारतले प्रतिबन्ध लगाएको थियो। तर, खाद्य संकट नै सिर्जना हुन सक्ने मुलुकबाट अनुरोध भए निश्चित परिमाण कोटामा उपलब्ध गराउन सक्ने जानकारी दिएको थियो। भारतसँगको कूटनीतिक पहलपछि २५ हजार टन चिनी आयातका लागि स्वीकृत भइसकेको छ।
तर, यसरी आयात हुने चिनी खुद्रा बजारका लागि नभई बिस्कुट, पेप्सी, कोकाकोला, चकलेटलगायतका उद्योगका लागि मात्रै रहेको छ। उद्योग मन्त्रालयले जारी गरेको सूचनामा भारतको नेसनल को–अपरेटिभ एक्सपर्ट लिमिटेडबाट चिनी आयातको प्रबन्ध मिलाइएको छ। कोटा प्रणालीमा आउन लागेको चिनी एउटा उद्योगले कम्तीमा २६ सय टनको माग गर्नुपर्ने सूचनामा उल्लेख छ।
उद्योगले चिनी अभावमा तयारी वस्तु उत्पादन गर्न कठिनाइ भोगेको बताएपछि सरकारी पहलमा भारतबाट २५ हजार टन आयातको व्यवस्था मिलाइएको हो। अहिले उखु क्रसिङ सुरु भइसकेकाले स्वदेशी चिनी पनि चाँडै बजारमा आउनेछ।तर स्वदेशी उत्पादनले वर्षभरको माग धान्न नसक्ने भएकाले आयात गर्नुपर्ने बाध्यता छ।
मन्त्रालयले ८ पुसमा एक सूचना जारी गर्दै भारतबाट चामल आयात गर्न इच्छुक व्यवसायीलाई सहजीकरण गरिदिने उल्लेख छ। भारतले गत १ कात्तिकमा चामल निर्यातमा लगाएको प्रतिबन्ध आंशिक फुकुवा गर्ने भन्दै नेपाललाई ९५ हजार टन आयातको स्वीकृति दिएको सूचना जारी गरेको थियो। नेपाली बजारमा बासमती र मसिनो चामल भारतबाट आयात हुने गरे पनि कोटामा भने मोटा चामल निर्यातको अनुमति खुला गरिएको छ। एक उद्योगले बढीमा पाँच हजार टनसम्म चामल आयात गर्न पाउने सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।