धरान–
भाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा।
यति जना भेला ना भयौँ, साकेन्वाको नाउँमा।।
गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ।।।
ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौं ना नाचौं लाग्छ। धरानका साकेला थानमा मङ्गलबार यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्कर थियो।
दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त थिए। छातीमा थेचुरी धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको छिटो तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउभाउ गर्दै नाचे।
आधुनिक सहरका रुपमा परिचित धरानमा अरु बेला आधुनिक गीत, हिपहप, रक, जाजजस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ता अहिले उद्यौली, उभौलीजस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउँछन्। टोल टोलमा भइरहेका साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको थियो। धरान–११ कीनिलम राई साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको बताउँछिन्। उनी भन्छिन्, ‘आफ्नो पुर्खाले मान्दै आएको चाडपर्व हामीले बिर्सिनु हुन्न। त्यसैले म त भाइबहिनीलाई पनि लिएर साकेला नाच्न जान्छु।’
साकेला सांस्कृतिकरुपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ। हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावारको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ। हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाती र ठाउँपिच्छे फरकफरक हुने गरेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई बताउँछन्।
परम्परागत रुपमा बालीनाली सप्रियोस् भन्ने कामना गर्दै भूमि पूजा गरिने साकेला अहिले टोलटोलमा र चोकचोकमा नाच्ने प्रचलन बढेको छ। पूर्वका धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोड, काँकडभिट्टालगायतका सहरी क्षेत्रमा उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ।
राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरु उत्तिकै हुन्छन्। काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा युवा साकेला नाचिन्छ। काठमाडौँका टुडिखेल, हात्ती वनलगायत स्थानमा साकेला नाचिन्छ।
चार किराँत (राई, लिम्बु, सुनुवार र याख्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रुपमा उद्यौली पर्व भव्यताका साथ मनाउने प्रचलन छ। सोही प्रचलनअनुरुप मङ्गलबार राईहरूले साकेला/साकेन्वा मनाएका छन् भने लिम्बु समुदायले चासोक तङ्नाम, याक्खाले चासुवा र सुनुवारले फलेस्याँदर चाड मनाएका छन्।
उँधौलीलाई लिम्बु, सुनुवार र याक्खाले समुदायले भव्य उत्सवका रुपमा मनाउँछन् भने राई समुदायले उभौली अर्थात् वैशाख पूर्णिमादेखि १५ दिन टोलटोलमा झोल झ्याम्टा बजाउँदै साकेला मनाउँछन्। मङ्सिर पूर्णिमा अर्थात् उँधौलीमा भने राई समुदायले एक दिन साकेला थानमा सिली नाचेर मनाउने गरेका छन्।
किराँत जातिहरुको मागलाई सम्बोधन गर्दै सरकारले २०५८ सालमा उँधौली अर्थात मङ्सिर पूर्णिमालाई किराँत चाड घोषणा गरेको थियो भने २०६४ सालमा उभौली अर्थात् वैशाख पूर्णिमा समेतलाई किराँत चाड भनेर घोषणा गरिएको थियो। उँधौली र उभौलीमा सरकारले राष्ट्रिय विदासमेत दिने गरेको छ। सरकारले किराँत चाड घोषणा गरेपछि उभौली र उँधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ।
चासोक तङ्नाम पाँच दिन मनाइने
उँधौलीको अवसरमा धरानको लिम्बु समुदायले पाँच दिनसम्म उत्सवका रुपमा चासोक तङ्नाम मनाउने भएको छ।
मङ्गलबार धरान–१५ स्थितचुम्लुङ भवनमा पाँच दिने चासोक तङ्नाम सांस्कृतिक उत्सव सुरु भएको छ। मङ्गलबार बिहान धरानको छाता चोकबाट झाँकीसहित र्याली छाता चोक, भानुचोक हुँदै चुम्लुङ भवन पुगेपछि औपचारिक कार्यक्रम सुरु भएको थियो। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले उत्सवको उद्घाटन गरेका थिए।
पाँच दिनसम्म विभिन्न साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमसहित चासोक तङ्नाम मनाइने आयोजक किराँत याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिले जनाएको छ।
लिम्बु समुदायले उँधौलीलाई चासोक तङ्नामलाई न्वागी पूजाका रुपमा मनाउने गर्छन्। अन्नबाली फलेपछि आफ्ना देवदेउतालाई चढाएर मात्र खानु पर्ने मान्यता रहेको छ। लिम्बू भाषामा ‘चासोक’को अर्थ न्वागी र ‘तङ्नाम’को अर्थ चाड हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।