काठमाडौं- मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ शुक्रबार सार्वजनिक गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीद्वारा सार्वजनिक गरिएको गीतमा गायक भीम लिम्बु र गायिका मनु नेम्वाङले स्वर दिएका छन्। गीत सार्वजनिक गर्दै मन्त्री किराँतीले यसले कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताए।
गीतमा भीम र मनुसँगै कोरसको रुपमा रुकमान लिम्बु, निरन्ता नेम्वाङ्ग, शिव साम्बाहाम्फे, दीपा सुहाङ छन्। गीतको सङ्कलक गायक भीम नै छन् भने यसमा शब्द सुवर्ण नेम्वाङले लेखेका हुन्। गीतमा अशोक लोहरूङ राई एरेञ्जर, राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका छन् भने किशोर थापाले मिक्सिङ गरेका छन्।
गीतको सार्वजनिक भिडियोमा रेखा लिम्बु, मोन नाल्बो सुब्बा, विशाल सेनेहाङ, रुकमान लिम्बु, कृष्ण सेनेहाङ,नविन सेनेहाङ, खुसी थुलुङ, शैलेन्द्र नाल्बो लगायतले अभिनय गरेका छन्। तारेभिरको रमणीय दृश्यमा छायाङ्कन गरिएको गीतमा गाउँमा पाहुना आउँदा धान नाच्ने परम्परा र त्यहीँ भेटघाटको क्रम बसे मायालाई देखाईएको गायक लिम्बुले जानकारी दिए।
सार्वजनिक भिडियोमा नृत्य र निर्देशक लोकेन सावाले गरेका हुन् भने यसमा छायाङ्कन युवराज राई, मेकअप सञ्जु थलाङ, सम्पादन अनिल राना र फोली साउण्ड मानसी किरणले गरेका हुन्।
गायक भिम झन्डै एक दशकको विश्राम पश्चात पुनः गायनमा सक्रिय भएका छन्। ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘खुल्यो खुल्यो रस खुल्यो’, ‘फेसबुकैले’, ‘धानै नाचिन्छ’ जस्ता गीतमार्फत उनि गायनमा स्थापित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।