काठमाडौं– प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले अबको केही दिनमा सर्वोच्च अदालतको बन्द रहेका ढोकाहरू खुल्ने दाबी गरेका छन्। पत्रकारहरूसँगको कुराकानीमा सांकेतिक रुपमा उनले अब सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ द्रूत गतिमा हुने बताएका हुन्।
सर्वोच्च अदाललतमा रिक्त ७ न्यायाधीश मध्ये न्याय परिषद्ले ६ जनाको सिफारिस गरेर संसदीय सुनुवाइमा गएको छ। संसदीय सुनुवाइ समितिले १० दिने सार्वजनिक उजुरी समेत आह्वान गरेको छ।
उजुरीको म्याद सकिएपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नेछ। समितिले सुनुवाइ गरेर अनुमोदन गरेपछि राष्ट्रपतिले उनीहरूलाई नियुक्ति गर्नेछन्। नियुक्ति लगत्तै सर्वोच्चमा प्रधानन्यायाधीशसहित २० न्यायाधीश हुनेछन्।
हाल १४ जना न्यायाधीश रहेका छन्। न्यायाधीश पूर्ण नहुदाँ मुद्दा सुनुवाइ लामो समयदेखि अवरोध हुँदै आएको छ।
प्रधानन्यायाधीश श्रेष्ठले सबै न्यायाधीश आएपछि मुद्दाहरूको सुनुवाइ सुधार हुने बताए। उनले न्याय परिषद्को अध्यक्ष समेतको रुपमा आफूले अदालतको व्याकलक देखेर अहिले एक जना खाली राखेर पनि नियुक्ति गरेको बताए। ‘न्याय परिषद्को म अध्यक्ष हुँ। तर न्याय परिषद्मा अरु पाँच जना छन्। सिफारिसका लागि उनीहरू सबैलाई मिलाउनु पर्छ,' उनले भने, 'सहमति यस्तो हुन पर्छ कि जसले अदालतलाई फाइदा हुन पर्छ। हामीले यही गरेका हौँ।’
उनले न्याय परिषद्को नियमावलीमा भएको संशोधनमा आलोचना भएको जानकारी पाएको समेत बताए।
‘नियमावलीमा विवाद छ। व्यक्तिपिच्छे भएको कि भन्ने आलोचना सुनेको छु,' उनले भने, ‘अहिलेको परिपाटीले थिति भएन। तल माथि नहोस् भनेर गरेको हो।’
यसअघि कुनै व्यक्तिलाई माथि पुर्याउने र कसैलाई अवसर नै नदिने देखिएकाले थिति बसाल्न नियमावली संशोधन गरेको उनले बताए। उनले कोही व्यक्तिका लागि नभई न्याय पद्वतीका लागि भएको दाबी गरे। उनले न्याय प्रशासन सञ्चालन गर्न गाह्रो भएले संशोधन गरिएको उनले बताए। श्रेष्ठले न्याय प्रशासनमा राम्रो मानिस बस्न र आउन नखोजेका कारण न्याय प्रशासकलाई टिकाउन यस्तो गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।