काठमाडौं– रानीपोखरी ऐतिहासिक तथा सांस्कृतिक रुपले महत्वपूर्ण मानिन्छ। पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर छ। उक्त मन्दिरमा बिहानको समयमा नित्य पूजा हुन्छ।
रानीपोखरी वर्षमा एक पटक भाइटीकाको दिन खुला गरिन्छ। दाजुभाइ तथा दिदी बहिनी नहुनले भाइटीकाको दिन रानीपोखरीमा गएर टीका लगाउने चलन छ।
रानीपोखरीमा टीका लगाउने परम्पराको सुरुआत कहिलेदेखि भयो भन्नेबारे इतिहासविद् समेत अनविज्ञ रहेको रानी पोखरीका मूल पुजारी शैलेशकुमार झा बताउँछन्।
‘रानीपोखरी निर्माण भएदेखिनै भाइटीका लगाउने प्रचलन आएको होइन। यो प्रचलन निकै पछि आएको हुनसक्छ। तर कहिलेबाट सुरु गरियो भन्नेबारे कतै उल्लेख छैन,’ झाले भने।
कसरी लगाइन्छ भाइटीका?
तिहारलाई यमपञ्चक भनिन्छ। जुन पाँच दिन मनाइन्छ। कार्तिक शुक्लपक्षको द्वितीय तिथिमा दाजुभाइले दिदी बहिनीसँग टीका लगाउने प्रचलन छ।
भाइटीकाको दिन रानीपोखरीको संरक्षणमा खटिएका महिलाले पालोअनुसार टीका लगाउँछ्। ‘एक पटकको भाइटिकामा २ जना टिका लगाउन बस्छन्। अनि टिका लगाई दिन्छन्,’ झाले भने।
रानीपोखरीमा भाइटिकाको दिन दाजुभाइलाई पञ्चरंगी टीका लगाइन्छ। त्यो पाँच रङको आफ्नै विषेशता रहेको झा सुनाउँछन्। ‘ बालगोपालको प्रतीकको रुपमा भाइ सम्झेर पञ्चरंगी टीका र मखमली माला लगाइन्छन,’ उनले भने।
यस्तो छ रानी पोखरीको इतिहास
प्रताप मल्ल कान्तिपुरका राजा थिए। उनका ३ सय ओटी रानी थिए भन्ने पनि भन्ने गरिन्छ। रानीहरूका ८ छोरा थिए। तर उनलाई मनपर्ने रानी थिइन् अनन्त प्रिया। अनन्तप्रियाबाट जन्मिएका कान्छा छोरा चक्रवर्तिन्द्र। चक्रवर्तिन्द्रलाई राजा प्रताप मल्लले पुल्पुलाएर हुर्काएका थिए।
राजा प्रताप मल्ललाई आफू जीवित छँदै छोराहरूको राज्याभिषेक हेर्ने शोख थियो। दक्षिण भारतबाट झिकाइएका तान्त्रिक विद्वान्को परामर्शपछि राजकुमार पार्थिवेन्द्र, नृपेन्द्र र महीपेन्द्रलाई पालैपालो एक–एक वर्ष गद्दीमा बसाए। उनीहरूको नाम अंकित चाँदीका मुद्रा पनि निकाले।
कान्छो राजकुमार चक्रवर्तिन्द्र तेह्र वर्षका थिए। ने.सं. ७८९ मा उनको पनि राज्याभिषेक गराए। राज्याभिषेक भएको केही दिनपछि चक्रवर्तिन्द्र हनुमानढोका दरबारभित्रको हात्तीसारमा बाँधेर राखेको हात्तीसँग खेलीरहेका थिए। खेल्ने क्रममा हात्तीले किचेर चक्रवर्तिन्द्रको मृन्त्यु भयो। त्यसपछि चक्रवर्तिन्द्रको लास हनुमानढोकाभित्र अवस्थित सुन्दरीचोक (श्वेतभैरव मूर्ति भएको घरको ठीक पछाडि) दाहसंस्कार गरिएको थियो। छोराको मृत्युका कारण रानी अनन्त प्रियाको वेदना भावविह्वल बनिन्। त्यसपछि राजा प्रताप मल्लले तान्त्रिक विद्वानसँग सल्लाह लिए। पुत्रशोकमा विह्वल भएकी रानी अनन्त प्रियाको सान्त्वनाका लागि विशेष उपाए निकाले।
त्यसपछि तन्त्रशास्त्र र यान्त्रिक विधिअनुसार पोखरी निर्माण गराए। उक्त पोखरीमा प्रसिद्ध जलाशयबाट जल बोकेर ल्याएर भरिएको थियो। तीर्थहरु केदारनाथ बद्रिनाथ, मुक्तिनाथ गोसाइकुण्ड वनारस लगायतका ५१ वटा जलाशयको गंगाजलले पोखरी भराएको किंवदन्ती छ।
त्यतिबेला रानीपोखरीलाई ‘न्हुः पुखु’नामाकरण गरिएको थियो। त्यसैबेला रानीपोखरीको बीचमा मन्दिर पनि बनाइयो। त्यस्तै पोखरीका बीचमा रहेको मन्दिरमा बालगोपालेश्वर महादेव, लक्ष्मी पार्वती र गणेशको मूर्ति छन्। पोखरीको चार कुनामा चार किसिमका मन्दिर छन्। उत्तर–पश्चिम र उत्तरपूर्वमा रहेको मन्दिरमा भैरवको मन्दिर छ भने दक्षिण–पश्चिममा महालक्ष्मी र दक्षिणपूर्वमा गणेश मन्दिर छ।
नेपाल संवत् ७९० अर्थात् विसं १७२३ मा उक्त पोखरीको शिलन्यास गरिएको थियो।
प्रण्ताप राजा मल्लले रानीपोखरीमा नित्य पूजा गर्न झा थरका पुजारी राखेका थिए। झा थरका पुजारीले यान्त्रिक विधिबाट पूजा गर्ने भएकाले राजा मल्लले उनैलाई पुजारी राखेको र अहिलेसम्म रानीपोखरीका पुजारी सातौँ पुस्ता पुगेको पुजारी झा बताउँछन्।
रानी पोखरीको निर्माण भएपछि रानी अनन्तप्रियाले सोही पोखरीमा नित्य पुजा गर्न थालेको र आफ्नो कान्छो छोराको मृत्यु भुल्दै गएका किंवदन्ती छन्।
रानीपोखरीमा रानी मात्र होइन, नित्य पूजापाठ गर्ने व्यक्तिमध्ये एक स्वयं राजा प्रताप मल्ल पनि थिए। बिहान उठ्नासाथ राजा प्रताप मल्ल रानीपोखरी पुग्थे। शौच तथा स्नानपछि पूजा गरेर हनुमानढोका फर्कन्थे भन्ने जनविश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।