म बसेको भवनको चार तलामाथि। बिजुली भर्याङबाट निस्केपछि उनको कोठामा जान दाहिने करिडोर समात्नुपर्छ।
०००
कुलिबालीको परिवार आउनु पहिला त्यहाँ कंगोको एक परिवार बस्थ्यो। अपार्टमेन्टको मुल ढोका, बाथरुमको बाथटब र केही झ्यालहरु बाहेक त्यहाँ कुनै सद्दे कुरो बाँकी थिएन। भित्ताको कागजदेखि पानीको धारा, भान्साको दराजदेखि ट्वाइलेटको कमोड। बिजुलीका प्लगदेखि अपार्टमेन्टका भित्री ढोकाहरु।
समस्याको मूल जड त्यहाँ मानसिक अपांगता अर्थात् ओटिजम् भएको बच्चा बस्थ्यो।
अक्सर शान्त रहन्थ्यो। तर थाहै नपाईकन जब ओटिजम इमोसन आउँथ्यो तब थेगिसाध्यै हुन्थेन। पाँच मिनेटमै सबै तहसनहस पार्थ्यो। जे देख्यो त्यो समातेर फाल्थ्यो। झ्याल खोलेर हामफाल्न खोज्थ्यो। त्यो पाएन भने घरभित्र दगुरेर भान्साका ताप्के, चुला, ग्यास, सिलिन्डर केहि भन्थेन सब फाल्थ्यो। बिजुलीका प्लग टिभी केही भन्थेन। घाइते सिंह जस्तो आक्रामक बन्थ्यो ऊ। बोल्न नसक्ने उसलाई जोगाउन बाबुआमाले उसको कोठाका सबै झ्यालमा काँटी ठोकेका थिए भने ढोकाबाहिर चुकुल बनाएका थिए। ताकि इमोसन आयो कि त्यही कोठामा थुनिहाल्न सकियोस्।
त्यसो त अरु झ्यालमा पनि काँटी ठोकिएको थियो तर अरुमा भने मिनिमम चिजहरु भेटिन्थे।
झ्यालहरु सबै बन्द भएपछि आमाले घरको मूल ढोका र करिडोरको ढोका खुलै राख्थिन् ताकि अलिअलि भए पनि घरभित्र हावा छिरोस्।
इमोसन आउँदा बच्चा केही गरी बाहिर करिडोरमा निस्क्यो भने जो भेट्यो उसैको कपाल तान्थ्यो। जति कपाल तान्थ्यो त्यति कपाल हातमा ल्याएरै छाड्थ्यो। कुनै पनि हालतमा ऊसँग छुटिन सकिँदैनथ्यो। कामका लागि तलमाथि गरिरहने मेरो मात्र होइन उसका छिमेकीको कपाल समेत उसले कैयौँपटक तानिसकेको छ। करिडोरमा छिमेकीले डुलाउन निकालेका कुकुरहरुको पुच्छर च्याप्पै समातिदिएर कुकुरको टोकाइमा समेत ऊ परेको छ। कहिलेकाहीँ ऊ कुकुरमाथि हामफालेको पनि छ। जब ऊ सानै थियो घरपरिवारका सदस्यले च्याप्प समात्न सक्थे। तर अब ऊ १४ १५ को भइसकेको थियो र परिवारलाई हावाखेल पारिरहेको थियो।
उसलाई कति बेला आची आउँछ र कति बेला पिसाब लाग्छ थाहा हुन्थेन। त्यसैले उसलाई कट्टु लगाइदिनुको कुनै अर्थ थिएन। तैपनि बाबुआमाको बल पुगिन्जेल उसलाई कट्टु र प्याड लगाइदिन्थे। तर पछिपछि उसले कट्टु र प्याड पनि फुकालेर फाल्थ्यो र अक्सर नांगै बस्थ्यो।
दिउँसो त येनकेन चल्थ्यो तर राति जब इमोसन आउँथ्यो घरमा उसका दाजु र दिदीहरु मात्र नभई छिमेकीहरु समेत ब्युँझन्थे। ऊ हरेक कोठामा यता र उता गोलपोस्टमा फालेको बलझैँ दौडिरहन्थ्यो।
अपांग बाबुका दिदीहरु र दाइहरु झ्याल खोल्न नपाएकोमा अक्सर बुबाआमासँग झगडा गरिरहन्थे।
उनीहरुको अपार्टमेन्ट मुन्तिर बस्ने छिमेकी र उनका माथि बस्ने छिमेकी दुवै यो परिवारको हल्ला खल्ला र बच्चाको क्रोधपूर्ण हुउ..हुउ…को चिच्याहटबाट आजित थिए। राति सुत्न सक्दैनथे। उनीहरुले कैयौँपटक मेरो अफिसका डाइरेक्टरका नामामा पत्र लेखी पठाएका थिए तर पनि समस्या समाधान भइरहेको थिएन।
बढ्दै गएको छोरो। सम्हालन नसक्ने अवस्था। बच्चाका बाबु आफै मैले देख्दादेख्दै मानसिक रुपमा अक्षम बनिसकेका थिए। काममा जानेआउने र गाडी चलाउने मानिस पूरै जाँडको लतमा फसेका थिए। काम धाम गर्न छाडेर उनी अपांग भत्ता खान थालेका थिए। आमा हरेक दिन बिहान यो ठाउँ छाड्न पाए हुन्थ्यो भनेर रोइरहेकी हुन्थिन्। यो जोडीको ६ छोराछोरी मध्ये यो अपांग कान्छो थियो।
बच्चाका बाबुले समेत नगरपलिका प्रमुखसँग सुहाँउदो घर देऊ भनी हारगुहार गरेका थिए। तर उनी झनझन् समस्यामा फसिरहेका थिए।
छोराले कपाल भुत्ल्याउने भएका कारण आमाले सबै कपाल मुडेकी थिइन्। बच्चाको रेखदेखमा यिनैले सधैं समय दिन्थिन्। समाजमा घुलमिल हुनबाट वञ्चित रहेको देख्थेँ म। घरमा कुनै पाहुना लागेको या उल्लासको वातावरण भएको कहिल्यै देखिन। जाँडले झुल लोग्नेलाई उनले त्यति विश्वास गर्दिनथिन्। कति पटक त जँड्याहा लोग्नेले उनलाई कुट्दै गर्दा म ट्वाक्क पुगेर के गरेको यस्तो समेत भन्न भ्याइसकेको थिएँ।
छिमेकीहरु उनलाई फोहरी र सडेकी अफ्रिकी भनेर हेप्थे। बच्चाको अवस्था थाहा नहुन्जेल म पनि छिमेकीहरुको कुरा सही हो भन्थेँ। पटकपटक गएर झ्याल खोल भन्थेँ र करिडोर गनायो भनेर गुनासो गरिरहन्थेँ।
उनको बानी पनि राम्रो थिएन। अक्सर घरबाट निस्केका फोहरका झोलाहरु करिडोरमा राख्थिन् जहाँबाट साङ्लाहरु निस्केर करिडोरमा सलबलाइरहेका हुन्थे।
एकदिन मैले रातो मुख लाउनैपर्यो। त्यो दिनदेखि करिडोरमा फोहरी झोलाहरु देखिएनन् तर मलाई पनि व्यर्थमा गाली पो गरेकी छु कि भन्ने लाग्यो र बिस्तारै उनीहरुसँग बात मार्न थालेँ। अरुभन्दा पनि बच्चा इमोसनमा आएपछि बहुलासरह चिच्याउने साह्रै कारुणिक दृश्यले मन खायो। झ्याल र भित्ताहरुमा आफ्नै टाउको ठोक्थ्यो र टुटुल्को उठाउँथ्यो। थाकेर देब्रे हातको बूढीऔंला चुस्थ्यो र भुइँमा खुत्रुक निदाउँथ्यो।
अब त मैले केही न केही गर्नुपर्छ भन्ने लागेपछि हाकिमलाई सिधै भेटेर गुनासो गरेँ। बच्चाका बाबु र डाइरेक्टरसँग सम्पर्क स्थापित गरिदिएँ। केही समयमा उनलाई डाइरेक्टरले गजबको घर दिए। केही दिनमा उनीहरु घर सरे। तर बेइमानीको पराकाष्ठा पनि देखाएर गए।
घर पाएका दिनदेखि भाडा तिर्न छाडिदिए। कोठाका सामान आधा फाले आधा फालेनन्। घर सफा गर्नु त परै जाओस् ढोकाबाट निकालेका ढोकाका बिँडहरु र बिजुलीका चिमहरु समेत बोकेर गए।
उनी गएपछि त्यो कोठा खाली गर्न र मर्मत सम्भार गर्न मैले झन्डै आठ हजार युरो खर्च गर्नुपर्यो।
डाइरेक्टरले पछि खुब रिसाएर भने, ‘तपाईंले भनेपछि सिंगै घरमा सारिदिएँ तर भाडा त तिरेनन् तिरेनन्। यति मर्मत सम्भारमा यत्रो पैसा खर्च गराएर पनि गए। उता उनी सरेको घरमा समेत हामीले थुप्रो पैसा खर्च गर्यौं।
नेपालीमा उखान छ– बैगुनीलाई गुनले मार्नु।
तर यो घटनामा गुनलाई बैगुनले मार्यो।
जुन कचौरामा उनले खाइरहेका थिए, त्यसैमा उनले दिसा गरेजस्तो।
000
त्यही कोठामा अहिले कुलिबालीको परिवार आएको छ। कुलीबाली पनि उस्तै जँड्याहा छन्। श्रीमती मानसिक रोगी। साना चार जना छोरीहरु छन्। मन खान थालिसकेको छ।
(लेखिका फ्रान्सका गरिब गुरुवाहरुका लागि बनाइएका सामाजिक घरहरुका लागि काम गर्छिन्। यो उनले देखेका र भोगेका मध्ये एक सत्य घटना हो।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।