काठमाडौं– मिटरब्याजी महाजन सुजता साहविरुद्ध अनुचित लेनदेनमा जिल्ला अदालत सिराहमा अभियोग पत्र दायर भएको छ। गत भदौ १७ गते उनीविरुद्ध सिरहा जिल्ला अदालतमा अभियोगपत्र दायर भएको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए।
उनलाई अदालतले हाल थुनामा राखेर पुर्पक्ष गर्ने गरी आदेश गरेको छ। साहका ९ जना ऋणीहरु रहेका छन्। ‘ऋणीहरुसँग लेनदेनमा मेलमिलाप गराउन छलफल गराएका थियौँ। साहले कुनै ऋणीसँग पनि छलफलमा मिल्न नमानेपछि दिएको रकमभन्दा बढी तमसुक गराएको समेत आधारमा अभियोग पत्र दायर गरिएको छ,’ कार्कीले भने।
साहका ऋणीमध्ये चार महिनाअघि काठमाडौंमा १३ वर्षीया मिटरब्याज पीडित बालिका गरिमा रायले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गम्भीर सवाल गरेकी थिइन्। सिराह मिर्चैयाकी गरिमाले मिटरब्याजी सुजाता साहबाट आफ्नो परिवार निकै समयदेखि प्रताडित भइरहेको सुनाएकी थिइन्। निरन्तरको धम्की र चेतावनीका कारण गरिमाले पढाइ छाड्न बाध्य थिइन्।
ऋणीसँग लिखत कारोबारभन्दा २ अर्ब बढी मागेका थिए साहले
अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगले ३ हजारभन्दा बढी निवेदनका पीडित ऋणी र साहुबीच मिलापत्र गराएको छ। ३ हजार ७८२ वटा निवेदनमा पीडित ऋणी र साहुबीच कुल ४ अर्ब र ८९ करोड १६ लाख रुपैयाँ पीडित ऋणी र साहुबीच लेनदेन भएको लिखत कारोबार रहेको थियो।
तर साहुले ७ अर्ब ४७ करोड २५ लाख रुपैयाँ असुली हुन बाँकी भनि माग गरेको कार्कीको भनाइ छ। लिखत कारोबारभन्दा साहुबाट ऋणीसँग २ अर्ब ५८ करोड ८ लाख रुपैयाँ बढी माग भएको कार्की बताउँछन्।
तर पीडित ऋणी र साहुलाई सँगै राखेर मिलापत्र गराउँदा कुल १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँमा दुवै पक्षबीच सहमतिमा टुंगिएको कार्कीले बताए। ७ अर्ब ४७ करोड २५ लाख रुपैयाँ साहुबाट ऋणीसँग असुल हुन बाँकी छ भनी माग गरेता पनि ६ अर्ब १५ करोड ६० लाख रुपैयाँ घटेर सहमत भएको कार्कीको भनाइ छ।
जसअनुसार सहमतिभन्दा ६ अर्ब १५ करोड ६१ लाख रुपैयाँ बढी माग गरेको देखिएको छ। अहिलेसम्मको मिलापत्रबाट साहूहरूले लिखत गरेको ४ अर्ब ८९ करोड १६ लाख रुपैयाँभन्दा ३ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ घटेर सहमत भएको कार्कीले बताए।
पीडितको १६३ बिघा जमिन फिर्ता
१६३ विघा ४ कठ्ठा ४ धुर जग्गा साहूबाट निवेदकलाई फिर्ता गराइएको छ। यसका साथै भदौ २८ गतेसम्म ४ हजार २४ निवेदन फछ्र्यौट भएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए।
अनुिचत लेनदेनलाई अपराध घोषित गरी मुलुक अपराध संहितामा संशोधन भएपछि साहूहरुविरुद्ध ५५ ओटा मुद्दा परेको कार्कीले जानकारी दिए। जसमध्ये सप्तरीमा १३, सिरहामा ७, धुनुषा ८, सर्लाही ३, बारा ९, महोत्तरी ७ र रौतहटमा ८ वटा साहुविरुद्ध मुद्दा परेको छ। ‘अनुिचत लेनदेन अथात् मिटर ब्याज सम्बन्धी विवादमा आयोग गठन भए पछि गत साउन १२ गत अनुिचत लेनदेनलाइ अपराध घोषित गरी मुलुक अपराध संहितामा संशोधन भएको थियो। त्यसपछि साहुहरु विरुद्ध ५५ ओटा मुद्दा परेका छन्,’ कार्कीले भने।
२६ हजार निवेदन आयोगमा
अहिलेसम्म मिटरब्याज जाँचबुझ आयोगमा मिटरब्याज पीडित ऋणीका कुल २६ हजार निवेदन परेका छन्। जसमध्ये मधेसका ८ जिल्लामा १८ हजार ८१९ र पश्चिम नवलपरासीमा १ हजार ८६२ गरी ९ जिल्लामा मात्र २० हजार ६८१ निवेदन परेका छन्। यस्तै सबैभन्दा बढि बारा जिल्लामा ३ हजार ३५३ निवेदन परेको छ।
अनुचित लेनदेनको केन्द्र नै मधेस प्रदेश र पश्चिम नवल परासी देखिन आएको आयोगको दावी छ। एक सय देखि ४ सयसम्म निवेदन परेका ७ जिल्ला छन्। लगभग ५ सय निवेदन परेका दुई, अन्य पहाडी जिल्लामा नगन्य रुपमा निवेदन परेका छन्। एकाध निवेदन परेका ३२ जिल्लामा विवाद सुल्झिसकेको आयोगले जनाएको छ। कुल ६५ जिल्लामा निवेदन परेका छन्।
सो आयोगबाट गत वैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म पीडितका निवेदन लिइएको थियो। निवेदन ७७ जिल्ला प्रशासन कार्यालयमा पीडित सहायता कक्ष खडा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।