काठमाडौं- भदौ पहिलो साता भक्तपुर बाल सुधार गृह तोडफोड गरेर २५५ बालक भागेको घटनाको कारण बाल सुधार गृहको सञ्चालन गर्ने संस्था यूसेपको लापरबाही भएको निष्कर्ष अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निकालेको छ। इन्सेकले उक्त घटनामा प्रशासनको पनि कमजोरी भएकोफ बताएको छ।
इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले भदौ १५ गते जारी गरेको प्रतिवेदनमा सो कुरा औंल्याइएको हो। सुधारगृह प्रशासनको बेवास्ताका कारण समयमै उपचार नपाउँदा १८ वर्षीय कमल बस्नेतको मृत्यु भएको अध्ययन टोलीले निष्कर्ष निकालेको छ। बस्नेतले होस्टल वार्डेनसँग औषधि मागेपछि वार्डेनले निको नामको औषधि दिएर पठाएका थिए। भदौ ३ गते ६ बजेतिर बालक अचेत अवस्थामा फेला परेपछि तुरुन्तै मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा लगिएको थियो।
प्रतिवेदनमा भनिएको छ, ‘बलात्कार मुद्दामा बाल सुधार गृहमा थुनामा रहेका मन्थली नगरपालिका–३, कठजोरका बस्नेतको ०८० भदौ ३ गते बिहान ६ बजेतिर सुधार गृहमा मृत्यु भयो। ज्वरो र पिलोका कारण बिरामी भएका बस्नेतलाई समयमा नै उपयुक्त उपचारका लागि अस्पताल नलगिएका कारण मृत्यु भएको पाइयो।’
सुधार गृह प्रशाशनको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै ०८० भदौ ३ गते नै घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सुधार गृहमा रहेका बालकहरूले सुधार गृह भित्र र मृतकका आफन्तले सुधारगृह परिसरमा नाराबाजी गरेका थिए। सोही क्रममा प्रहरीसँगको झडपपछि सुधारगृहभित्र रहेका २ सय ५५ जना बालबालिका सुधार गृहको पछाडिको ढोका फोडेर बाहिर निस्किएका थिए।
कारागार व्यवस्थापन विभाग मातहत रहेको र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (यूसेप) नेपालको व्यवस्थापनमा मध्यपुरथिमी नगरपालिका–२ सानोठिमीमा सञ्चालित बाल सुधार गृहमा जिल्ला अदालत रामेछापको ०७७ जेठ २९ गतेको आदेशमा बस्नेत थुनामा रहेका थिए। बाल सुधार गृह प्रसाशनले भदौ ३ गते ६ बजे बालकलाई मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा उपचारका लागि लगेकामा अस्पतालमा ल्याइपुर्याउनु अगावै बालकको मृत्यु भइसकेको अस्पताल प्रशाशनले अनुगमन टोलीलाई जानकारी दिएको छ।


‘बाल सुधार गृहका सम्बन्धमा दीर्घकालीन रूपमा बाल सुधार गृह व्यवस्थापनमा संलग्नहरूलाई अनुसन्धानको प्रक्रियामा ल्याउन, सुधार गृहभित्रको अन्तरिक व्यवस्थापनमा सुधार गर्न, भदौ ३ र ४ गतेको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्न, सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका नराख्ने व्यवस्था गर्न र १८ वर्षभन्दा बढी उमेर पुगेकाहरूलाई सुधार गृहमा बालबालिकासँग नराख्ने व्यवस्था गर्नु जरुरी देखिएको छ। बाल सुधार गृहको सञ्चालनको जिम्मा सरकारले नै लिनु पर्ने र सुधार गृहलाई सुधार गृहकै रुपमा विकास गर्नु आवश्यक छ। बाल सुधार गृहभित्र कारागारकै जस्तो भित्री सत्ताको अन्त्य गर्ने र बालमैत्री व्यवस्थापनमा जोड दिनु आवश्यक छ,’ प्रतिवेदनमा उल्लेख छ ।
सुधार गृहभित्र रहेका बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था नगरेको, मानसिक स्वास्थ्यमा हेरचाह नगरेको, खानपिन, खानेपानीको प्रबन्ध नगरेको र वृत्ति विकासको लागि कुनै पहल नगरेको जनाउँदै भदौ ४ गते सुधार गृहका बालबालिका आन्दोलित भएका थिए। सोही क्रममा सुधार गृह प्रशासनले कुनै सुनुवाइ नगरेपछि बालकहरूले सुधार गृहमा तोडफोड गरेका थिए।
सो क्रममा भएको झडपमा परी नेपाल प्रहरीतर्फ ११ जना र सशस्त्र प्रहरीतर्फ आठ जना गरी १९ जना र १० जना बालकसमेत घाइते भएका थिए। घाइते बालकमध्ये रबरको गोली लागेका एक जनाको अवस्था गम्भीर रहेको घाइतेका आफन्तले बताएका छन्। उनको उपचार राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा भइरहेको छ।
घटनापछि बाहिर निस्केका बालकमध्ये अझै चार जना सम्पर्कमा नआएको प्रहरीले जनायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।