काठमाडौं– यसअघि बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर नेपाल बैंकर्स संघले तोक्दै आएकोमा अब स्वचालित रुपमा बैंकहरुले आपसी प्रतिस्पर्धा र अवस्थाअनुसार तय गर्ने भएका छन्। यसअघि बैंकर्स संघले आपसी सहमतिमा ब्याजदर तोक्ने गरेको थियो। यसरी ब्याजदर तोक्दा ‘कार्टेलिङ’ भएको भनेर आरोप लाग्ने गरेको थियो। यही आरोपपछि ब्याजदरको कार्टेलिङ खारेज गरिएको हो।
संघमा आबद्ध २० कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत प्रतिनिधि सहभागी मंगलबारको बैठकले ब्याजमा हुँदै आएको कार्टेलिङ खारेज गरी बैंकहरुले आपसी प्रतिस्पर्धामा निर्धारण हुन दिने निर्णय गरेको हो।
बिहीबार बिहान बसेको उक्त बैठकको निर्णयानुसार अबदेखि निक्षेपको ब्याजदर तोक्ने जिम्मा बैंकलाई नै हुने छ। आगामी साउन १ बाट कार्यान्वयन हुने गरी बैंकहरूले ब्याजदर आफैं बढाउन, घटाउन वा यथावत् राख्न पाउने बाटो खुल्ला गरिएको हो।
बैंकर्स संघका अनुसार अब बैंकहरुले आपसी अवस्था हेरेर ब्याजदर तोक्ने छन्। उनीहरुले चाहेमा स्थीर वा तलमाथि हुने बनाउन सक्नेछन्।
हाल साधारण मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशतसम्म छ। अब यसमा १० प्रतिशतका दरले घटबढ गर्न बैंकलाई छुट दिइएको छ। यो हिसाबमा बैंकहरूले ब्याजदर बढाउन चाहे ११ प्रतिशतसम्म र घटाए ९ प्रतिशतसम्म हुने देखिन्छ छ।
चालु आर्थिक वर्ष २०७९/८० को सुरुवातमा कमर्सियल बैंकहरूको निक्षेप संकलन करिब साढे ४५ खर्ब रुपैयाँ बराबर थियो। हाल करिब साढे ५० खर्ब भएको छ।
त्यसैगरी चालू आर्थिक वर्ष सुरु हुँदा पौने ४२ खर्ब रहेको ऋण हाल सवा खर्बले बढेर ४३ खर्ब हाराहारी पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।