• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ३०, २०८२ Thu, Oct 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

हरियो साइकलको झझल्को

गोविन्द वर्तमान शनिबार, चैत १८, २०७९  १०:०३
1140x725

ओछ्यानमा पल्टिरहेको बेला पनि दिमागमा समय उफ्रिन थाल्छ। समयका गोडाहरू दिमागको एउटा कुनादेखि अर्को कुनासम्म दगुर्छन्। तिनै गोडामास्तिर जोडिएका समयका आकृतिहरू त्रिमूर्तिजस्तै देखिन थाल्छन्। किनभने त्यहाँ विगत, वर्तमान र आगतका आकृतिहरू छन्। अज्ञात प्रेरणाले तिनलाई हेरिरहँदा आँखा पोल्न थाल्छ र दृश्यहरू धमिला हुन थाल्छन्। तैपनि आइरहन्छन् धमिला दृश्यहरू। तिनीहरू दिमागलाई थकाउँदै आइरहन्छन्। 

बिरामी हुनु आफैंमा पराजित हुनुजस्तो लाग्न थाल्छ। बिरामी भएको बेला अथवा शारीरिक रूपले पराजित भइरहेको बेला मस्तिष्कलाई पनि आराम चाहिन्छ। तर यो मस्तिष्क नाउँको चेतनालयले आराम पाउँदैन। म यतिबेला ओछ्यानमा पल्टिरहेको छु र त्यही चेतनालयको बन्दी भएको छु। त्यसैले आकाशतिर फर्किएर भन्न मनलाग्छ- हे आकाश मलाई मुक्ति देऊ!

अर्कोतिर छोरी सुतिरहेकी छ। उसका मलिन आँखाहरूमा रोगले डामेर छोडेका चिन्हहरू छन्। ओइलाएको शरीरलाई ओछ्यानमा फालेर ऊ मतिर हेरिरहेकी छ। प्यारासिटामोलको आवश्यक मात्रा भएको साइनेक्स, प्रतिगोटा पैंतिस रूपैयाँ पर्ने एन्टीबायोटिक सेफडक्ससँगै एउटा भोल औषधि पनि छ, आस्थालीन। उसलाई तिनैले अगाडि बढाइरहेका छन्। तै पनि अघिल्तिर आएको त्रैमासिक परीक्षालाई भेट्टाउन उसले सकिन। परीक्षा छुटेको छ। ‘एक्जाम' दिन नपाएको पिरलोले ऊ घरिघरि मतिर हेर्छे र दिक्क हुन्छे।

मलाई पनि दिक्क लागिरहन्छ। कस्तो लाग्छ भने, ओइलाएको यस्तो पर्यावरणमा पृथ्वी, आकाश र पातालमा पनि तुवाँलो लागिरहेको छ। नजिकका दृश्यहरू पनि छेकिँदै गएका छन्। घामको चहकिलो रूपाकृति कतै देखिँदैन। सूर्यको किरणबाट आउने जीवनका उज्यालो चहलपहलहरू अन्तरध्यान भएका छन्। त्यसैले न्यास्रो लाग्छ। मायाको न्यास्रो लाग्छ, आफन्तहरूको न्यास्रो लाग्छ। 

सभा-समारोह, सरसङ्गत र बोलीहरूको न्यास्रो लाग्छ। बिरामी भएको बेला रोगभन्दा मनमा लागिरहने न्यास्रोले बढी थकाइ लाग्छ र जीवन साह्रै कमजोर बान्कीको भवनभन्दा बढी लाग्दैन। सानोतिनो भुइँचालो आउने बित्तिकै त्यो भवन ढल्न सक्छ। त्यही भुइँचालोको सम्भावनाले एउटा अत्यासलाई जन्म दिन्छ र डर लागिरहन्छ। सरको त्यही विन्दुमा पुगेपछि भुइँतिर हेर्दै भन्न मन लाग्छ- हे पृथ्वी मलाई मुक्ति देऊ।

छोरीको शरीरबाट शक्ति चोरेर रोगले राज्य गरिरहेको छ र राज्यहीन देशमा हामी हारिरहेका छौं। एकातिर ढल्किरहेको जीवनलाई ठड्याउने यत्न गर्दै बाउ हारिरहेको छ, अर्कोतिर ठडिइरहेको जीवनलाई अझ दो तुल्याउने इच्छाको छेउमा उभिएकी छोरी हारिरहेकी छ। पराजयबोध आफैमा एउटा पीडा होइन भने के हो त भाइ? तर यतिखेर कुनै भाइ कुनै उत्तर लिएर मसमक्ष आएको छैन। एउटा रिक्ततामाथि अर्को रिक्तता थपिँदै गएको छ। 

अकस्मात् ओहान पामुक सम्झनामा आइपुग्छन्। एश्री म्यान्स डेथ विगिन्स विथ द डेथ अफ हिज फादर, उनले भनेका छन्। तर यहाँ छोरीको बाउ मात्र होइन, बाउको बाउ पनि मरिसकेको छैन। तर मेरो मानसको आँखामा एउटा मृत्युको प्रारम्भ भएकै लाग्छ मलाई डर लाग्छ। ममा अटाइ नअटाई भएको डरको थाकलाई कसैले नदेखोस् भनेर म हँसिलो हुन खोज्छु जीवनमा अभिनय कहिल्यै नगरेकोले मेरो अनुहारबाट एउटा उदासी हामफालेर छोरीको आँखातिर पुग्छ। बा, के भो ? ऊ सोध्छे। मलाई झन् डर लाग्न थाल्छ। अत्यासको एकान्तमा केही मित्रहरू सम्झनामा आउँछन्। सम्झनाको त्यही विन्दुमा उभिएर भन्न मनलाग्छ- मित्रहरू हो, तिमीहरूसँग त्यस्तो कुनै सामर्थ्य छ भने मलाई सबै किसिमका डरहरूबाट मुक्ति देऊ।

यस्तै अवस्थाको तन्द्रामा हल्लिरहेको छु। बाहिर बेस्सरी कुकुर भुकिरहेको छ, तर यो चाओको कुकुर होइन र म तु स्युनले उल्लेख गरेको बहुआयामिक बहुला पनि होइन। चाओको कुकुरले बहुलालाई ताकेर भुक्थ्यो, यो कुकुरले सारा परिवेशलाई ताकेर भुकिरहेको छ। कुकुरको भुकाइ मत्थर हुने बित्तिकै म पुराना दृश्यहरूतिर भौंतारिन थाल्छु। अकस्मात् अतीतयात्रा सुरु हुन थाल्छ। त्यही क्रममा एउटा चोरबाटोमा पुगेको छु। अकस्मात् एउटा साइकल बेतोडले कुदिरहेको छ। साइकलको प्याडलमा एउटा २० वर्षे युवकका बलिया गोडाहरू निकै जोडले तलमाथि गरिरहेका छन्। उसका दुवै हातहरू साइकलको स्यान्डिलमा दह्रोसँग जाम भएका छन्। 

Ncell 2
Ncell 2

साइकल बेतोडले दगुरिरहेको छ। काठी अघिल्तिरको डण्डीमा एउटा दुई वर्षको बालक राखिएको छ। बालकका आँखाहरू लोलाएका छन्। त्यस बालकलाई युवकले आफ्नो कम्मरसँग जोडेको छ। एउटा अर्धानो कपडामा बेरिएको छ बालक र बालकलाई बेर्ने कपडाको फुर्कोलाई उसले आफ्नो कम्मरमा बाँधेको पेटीमा गाँठो पारेको छ। साइकल जोडले गुडिरहँदा ऊ घरिघरि बालकतिर हेर्छ र घरिघरि आफ्नो हरियो साइकलको अस्वभाविक रफ्तारलाई हेर्दै आर्यघाटबाट गौशाला, गौशालाबाट बानेश्वर र बानेश्वरबाट मैतीदेवी हुँदै पुतलीसडक निस्किएर थापाथलीतिर गइरहेको छ। यसरी म अतीतको चोरबाटोतिर हेरिरहेको छु। चोरबाटोमा छन् हरियो साइकल, साइकल चलाइरहेको युवक र दुई वर्षे बालकका फरक फरक दशाहरू।

युवकसँग पैसा छैन। हरियो साइकल ने उसको अतिरिक्त पुँजी हो। त्यसपछि ऊसँग केही उपयोगी कुरो छ भने त्यही बालक छ। बालकलाई साइकलमा राखेर ऊ आफ्नो भविष्यतिर हिँडिरहेको छ, अथवा गुडिरहेको छ। थापाथलीको पुल पार गरेपछि कुपण्डोल, पुल्चोक र त्यसपछि आइपुग्छ गन्तव्य। यसलाई शान्तभवन भनिन्छ। यो एउटा अस्पताल हो। नाम चलेको र विश्वास बसेको अस्पताल। यसलाई विदेशीहरूले चलाएका छन्। सेतो छालाका डाक्टरहरू। सेतो पहिरनका नर्सहरू। कपाल मास्तिर टाउकोमा फूलहरू सिउरिएजस्तै टोपीजस्तो पहिरन ठड्याएका यी नर्सहरू राम्रा छन्। सेतो पहिरन र सेतै छालाका डाक्टरहरू पनि राम्रा छन्। यो अस्पताल एउटा जीवनदान गर्ने पवित्र मन्दिरजस्तो लाग्छ उसलाई। तर ऊसँग पैसा छैन।

दाहिने पाखुरामा सानो बालकलाई फूलको टोकरीजस्तै उठाएर अस्पतालभित्र छिरेको २० वर्षे बाउसँग दुई वर्षको छोरोलाई बचाउन पुग्ने पैसा किन भएन, मलाई अझै पनि राम्ररी थाहा भएको छैन। तर अहिले छेउमा आफ्नै बिरामी छोरीको निरीह अनुहारतिर हेर्दै अतीतको त्यो चोरबाटोको स्मृतिदेशले लखेटिँदा म २० वर्षे बाउको मनोदशालाई उद्यम गर्न पुगेको छु र यस प्रयत्नले मलाई विस्तारै निडर बनाउन थालेको छ। 

त्यसैले म अहिलेको आँखाले उहिलेको समयलाई हेरिरहेको छु। यसरी म आफूलाई बलियो बनाउने प्रयत्न गरिरहेको छु। यस क्रममा मलाई आफूसँग भएका डरका मयलहरू विस्तारै पखालिँदै गएझैं लाग्न थाल्छन्। किनभने हरियो साइकल चलाएर शान्त भवन पुगेको त्यो युवकलाई सम्झेपछि मेरो मानसमा एउटा चमत्कारिक औषधिका असरहरू पर्न थालेका छन्। म ती असरका द्रष्टामा रूपान्तरित भएको छु।

पुतलीसडकमै थिए नाम चलेका कविराज आनन्दकुमार वैद्य। जण्डिसको उपचार गर्नमा उनले प्रसिद्धि कमाएका थिए। त्यतिबेला जण्डिसभन्दा कमलपित्त नै चलेको थियो, सायद त्यसैले डाक्टरभन्दा कविराज नै त्यसको निम्ति प्रभावकारी चिकित्सक थिए। आफ्नो दुई वर्षको छोरोलाई २० वर्षको त्यो बाउ र आमाले पहिला तिने कविराजकी पुर्‍याए। दिनहरू बित्दै गए, तर रोग बितेन। बालक झन्झन् शिथिल हुँदै गयो। अब त्यो बालक लगभग मृत्युको छेउमा पुग्यो। परिचितहरू आए, बालकलाई हेरे, निराश भएर फर्किए। बुज्रुकहरू आए, बालकलाई हेरे, बालकको निर्दोष आँखामा मृत्युका वीभत्स छायाँहरू चलायमान भए देखे र दुःखी भएर फर्किए। दुःखका रूपहरू कति प्रकारका हुन्छन्, अहिलेसम्म कसैलाई थाहा छैन। 

बालक र बालकका बाआमाहरूको मनभित्र हुरीजस्तै बेगले मडारिइरहेको त्यतिखेरको दुःखका रूपहरूलाई सबैले देखे। तर चिन्न सकेनन्। त्यो कुन जातको दुःख हो, कसैलाई थाहा भएन। ‘अब यसरी हुँदैन, बाबुको लेखा यति रहेछ, घाट लगे हुन्छ,’ कसैले भन्यो।
‘हो, आनन्दकुमारले पनि निको पार्न नसकेको बिरामीलाई कसैले निको पार्न सक्दैन, भरे–भोलि जस्तो छ घाट लैजानु नै बेस' अर्को कसैले सहानुभूतिपूर्वक सुझाव दियो।

‘हो, ढिलो नगर, लैजाओ’ अर्को शुभचिन्तकले भन्यो।

एउटा कोलाहल यसरी बनिरहेको थियो। बालकको बाउ र आमाका मनभित्र बनेका कोलाहलका चित्रहरू कुनै चित्रकारले पनि ठम्याउन सक्ने किसिमका थिएनन्। अन्ततः बालकलाई आर्यघाट पुर्‍याइयो। 

आर्यघाटलाई छोएर बागमती निरन्तर बगिरहेको छ। त्यो बागमती त्यसअघि पनि बगिरहेको थियो, त्यसबेला पनि बगिरहेको थियो र अहिले म मेरी छोरीको छेउमा बसिरहँदा पनि बागमती बसिरहेको छैन, बगिरहेको छ। नदी र समयमा यो गजबको समानता निकै शिक्षाप्रद छ। अहिले चोरबाटोबाट अतीतको शान्तभवन र त्यसको पनि ‘फ्ल्यासब्याक' हेर्दै म फेरि आर्यघाट आइपुगेको छु। आर्यघाटमा सधैं एउटा घाटे वैद्य बसिरहन्छन्। त्यसबेला पनि थिए। बगिरहेको बागमतीको पानीबाट उक्लिएर उनी बालकको छेउमा आए। बालकको अनुहार हेरे। नाडी छामे। अन्ततः घोषणा गरे अब अठ्चालीस घण्टाभन्दा बढी समय बाँकी छैन।

समय त अठ्चालीस करोड वर्षभन्दा बढी बाँकी हुँदो हो, तर त्यस बालकको निम्ति अठ्चालीस घण्टाभन्दा बढी समय छैन भन्ने सुनियो। सुन्नेहरू अँध्यारो मुख लाउन थाले। आमा सुँक्क् गर्न थालिन्। हरियो साइकल घरमा छोडेर आएको बाउलाई सह्य भएन। उसले आफ्नै अन्तरात्माको आवाज सुन्ने इच्छा गर्‍यो। किनभने कुनै सज्जनले उसलाई सुझाइदिएको थियो, एकचोटी शान्तभवन लगेर हेर, ठीक हुन पनि सक्छ। ‘ठिक हुन पनि सक्छ’ भन्ने वाक्यांश विशाल आशाको भव्यतम् गुम्बज निर्माण गर्दै सङ्गीतमय ध्वनिमा तरङ्गित भएको थियो। त्यस ध्वनिले बाउको मस्तिष्कलाई बेस्सरी झक्क्याइदियो। त्यसपछि ऊ साइकल लिन घरतिर दगुर्‍यो। लगतै फर्किएर आइपुग्यो। बिरामी बालकलाई जुरुक्क उठायो। वरिपरिका मानिसहरू जिल्ल परे।

‘बाबु के गरेको? बालकलाई कता लैजान खोजेको?’ कोही कराउँदै थियो। बाउले सुनेन। सायद सुन्यो तर वास्ता गरेन, छोरोलाई च्यापेर ऊ साइकलमा चढ्यो। केही साथीहरू नजिकै थिए। तिनीहरूलाई उसले केही भन्यो। त्यसपछि साइकल चलाएर ऊ आर्यघाटबाट गौशाला, बानेश्वर, मैतीदेवी हुँदै पुतलीसडक निस्किएर शान्तभवनतिर हुँईक्कियो। शान्त भवनको मूल ढोकाभित्र पस्न उसलाई धक लागिरहेको थियो। एउटा अप्ठेरो दकसले उसका गोडाहरू शिथिल भएका थिए। तर साथीहरू आइपुगे। उनीहरूले उसलाई बास दिए। त्यसपछि उसले संग खुट्टा टेक्यो र छोरो लिएर अस्पतालभित्र छिर्‍यो। अस्पतालमा सेता पहिरनका नर्सहरू र सेता छालाका डाक्टरहरू थिए। ऊ तिनीहरूको छेउमा पुग्यो र बिन्ति बिसायो।

साँझको धमिलो बाक्लिँदै गएर रात परिरहँदा उसको मनभित्र परेको रात बिस्तारै उम्रिन थालेको थियो। घामका किरणहरू मस्तिष्कमा पस्न थालेका थिए। केही साथीहरूको आर्थिक तथा भौतिक सहयोग र आफ्नो बाउले जजमानी गरेर कमाएका केही 'डबल'हरूको पोको फुकाएर पैसा तिरेपछि उसले छोरोलाई भर्ना गर्न सकेको थियो। तै पनि आवश्यक औषधिहरू किन्न उसलाई निकै गाह्रो थियो, किनभने ऊसँग पैसा थिएन।

अहिले ओछ्यान पल्टिरहँदा म त्यो बाउलाई देखिरहेको छु र अतीततिर फर्किएर एकोहोरो उसैलाई हेरिरहेको छु। छेउको ओछ्यानमा पल्टिरहेकी बाह्र वर्षकी मेरी छोरी मेरो टोल्हाइरहेको मुद्रालाई देखेर जिल्ल परेकी छ।

बा के विचार गरेको?
विचार गरेको होइन।
किन त्यसरी टोलाएको त? ‘मान्छे बिरामी भयो भने कति गाह्रो हुन्छ’ मेरो मुखबाट फुत्त निस्किन्छ।

‘अँ... त्यो त हो’ के बुझेर हो कुन्नि, छोरी परिपक्व जवाफ दिन्छे। म फेरि चोरबाटोमा पुगेर अतीतयात्रा गर्न थाल्छु।

क्रिश्चियन मिसनरीद्वारा सञ्चालित शान्त भवन अस्पतालमा तीन महिनाभन्दा बढी समय उपचार गरेपछि बालक तंग्रियो। मर्छ भनेर घाटमा पुर्‍याइएको र घाटे वैद्यले अठ्चालिस घण्टाको आयु बाँकी रहेको घोषणा गरेको बच्चा मरेन। राम्रो भयो। चिकित्सा विज्ञानलाई सम्मान गर्नुपर्दछ। त्यसो त विज्ञानका सबै शाखा प्रशाखाहरूलाई सम्मान गर्नुपर्दछ, तर आम मानिसको निरीहतालाई निवारण गर्ने विज्ञान, चिकित्सा विज्ञान नै भएकोले यसलाई मानिसहरूले बढी ध्यान दिएका छन्। स्वाभाविक हो। हरियो साइकल चढ्ने बाउले चिकित्सा विज्ञान र शान्त भवन अस्पताललाई ध्यान दिएकै हो। मरिरहेको एउटा बालक बिस्तारै बौरिएर जीवनतिर आएको त्यसैले हो।

तर समस्या यतिमा टुङ्गिएको थिएन। बालकलाई अस्पतालबाट घर ल्याउनु थियो। अथवा एउटा भविष्यलाई एउटा खुसीको रूपमा घरमा पाउनु थियो। त्यो काम बालकलाई अस्पतालमित्र पुर्‍याउनुभन्दा सजिलो थिएन। किनभने तीन महिनासम्म अस्पतालमा उपचार गर्दा लागेको खर्च धेरै थियो, त्यो खर्च धान्न सक्ने पैसा बाउसँग थिएन। त्यसैले एउटा जटिल जुक्तिको जालो बुन्ने प्रयत्न गरियो र बुनियो।

तिमी पछाडिको ढोकाबाट छोरो लिएर बाहिर निस्क, म साइकल ठीक पारेर बस्छु। दुई जना अरू साथीहरू काउन्टरमा कर्मचारीहरूलाई अल्मल्याउन लाग्छन्। सबै ठीक हुन्छ। एउटा साथीले योजनाको खाका सुनायो। त्यसपछि त्यसै गरियो।

यतिबेला म देखिरहेको छु, आफ्नो छोरालाई आफैंले चोरेर एउटा बाउ फेरि साइकल दौडाइरहेको छ तर उसलाई कसैले लखेटिरहेका छैनन्। तै पनि एउटा आवेगमा बाउ साइकल दौडाइरहेको छ। यसपटक पिठ्यूँमा बेरिएको छोरो बेलाबेलामा झस्किएको छ। उसलाई थाहा छैन, ऊ किन बाउको ढाडमा च्यापिएर यति बेगले हुत्तिइरहेको हो? कहाँ पुग्नलाई किन यस्तो हतार भएको हो? बालकलाई थाहा छैन, तर उसको बाउलाई जीवन एउटा सानोतिनो युद्ध नै हो भन्ने ज्ञान विस्तारै हुन थालेको छ।

त्यसैले ऊ तथाकथित भद्र परम्पराविरुद्ध युद्धमा होमिएको छ। मान्छे बिरामी भयो भने कति गाह्रो हुन्छ। अतीतबाट फर्किएर मैले अकस्मात् अघिको सम्वाद दोहोर्‍याएँ।

बा कतिचोटि बिरामी हुनु भको छ? छोरीले अप्रत्यासित प्रश्न सोधी। मलाई अक्षकसँग सम्बन्धित उत्तर अप्ठ्यारो लाग्यो। ‘पहिलोचोटि म पहेँले भएको थिएँ, लगाएको गन्जी र भोटो समेत पहेँलो भएको थियो रे मलाई जण्डिस भएको थियो बाँच्दैन भनेर घाटमा पुर्‍याएछन्। त्यसपछि।’ मेरो मस्तिष्कभरि फेरि हरियो साइकलको झझल्को गुड्न थाल्यो। मैले छोरीलाई सबै वृत्तान्त सुनाएँ।

‘त्यति सानो बेलाको कुरा बालाई कसरी थाहा भयो त?’ छोरीको पाको प्रश्नले मलाई टोलछिमेकका केही मानिसका विनम्र अनुहारहरूसम्म पुर्‍याइदियो। 

तिमी त मरेर बाँचेको। शान्तभवनले बचाइदियो। उनीहरूले बेलाबेलामा मलाई हरियो साइकलको यात्रा सुनाउने गरेका थिए। बाउआमा र तिनै मानिसहरूको विनम्र अनुहारबाट चुहिएर मेरो कानसम्म आइपुगेको बाल्यकालको कथालाई अहिले म फेरि आफ्नै मनभित्र सुनिरहेको थिएँ। मैले त्यही कथा मेरी छोरीलाई सुनाएँ। ऊ जिल्ल परी र परिपक्व शैलीमा जवाफ दिई- ’पैसा नभएपछि कति गाह्रो हुन्छ।’

छोरीको यो उद्गारलाई मैले मेरो अघिल्तिर कठोरतापूर्वक दगुरिरहेको समयको शिलालेखमा अङ्कित गर्ने प्रयत्न गरेँ। बाहिर जोडले कुकुर भुकिरहेको थियो।
०००
(साहित्यकार गोविन्द वर्तमान (२०१७-०६९)को ‘हरियो साइकल’ निबन्ध संग्रहबाट ‘हरियो साइकलको झझल्को निबन्ध’ साभार गरिएको छ। यो पुस्तकलाई फिनिक्स बुक्सले ०६९ सालमा प्रकाशित गरेको हो। )

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो
अस्ट्रेलियाका डार्शी एनपीएलमा लुम्बिनी लायन्समा आवद्ध
सरकारले फिर्ता बोलायो चीन, अमेरिकासहित १० देशका राजदूत
सम्बन्धित सामग्री
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
आज विभिन्न कार्यक्रमका साथ मोती जयन्ती मनाइँदै विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले... शनिबार, भदौ ७, २०८२
‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो। शुक्रबार, भदौ ६, २०८२
ताजा समाचारसबै
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अस्ट्रेलियाका डार्शी एनपीएलमा लुम्बिनी लायन्समा आवद्ध बिहीबार, असोज ३०, २०८२
सरकारले फिर्ता बोलायो चीन, अमेरिकासहित १० देशका राजदूत बिहीबार, असोज ३०, २०८२
सहकारी ठगहरु सुनका घडी लगाउँछन्, नक्कली डिभोर्स गरेर बस्छन्– प्रधानमन्त्री कार्की बिहीबार, असोज ३०, २०८२
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्