काठमाडौं- राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णयप्रति सुवास नेम्वाङले असन्तुष्टि जनाएका छन्। राष्ट्रपतिका उम्मेदवार समेत रहेका नेम्वाङले बिहीबार संसद् भवन परिसरमा प्रतिक्रिया दिँदै राप्रपाको निर्णयलाई भने आफूले सम्मान गर्ने बताए।
‘मैले उहाँ (राप्रपा)को पार्टी अफिसमै गएर भनेको थिएँ, तपाईंहरू यही प्रक्रियाबाट अगाडि बढ्नुस्। अहिलेसम्म जसरी यहाँ आइपुग्नुभएको छ। त्यसैगरी अझै अगाडि बढ्नुस्। तर, मेरो सुझाव उहाँहरूलाई स्वीकार्य भएन। आफ्नो अर्कै निर्णय गर्न खोज्नुभयो। उहाँहरूको निर्णय जेसुकै भए पनि त्यो निर्णयलाई म सम्मान गर्छु। तर, यो अलि ठीक भएन कि भन्ने टिप्पणीचाहिँ म राख्छु’, उनले भने।
राप्रपाको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मत नदिने निर्णय लिएको थियो। राप्रपाले नेम्वाङलाई मत दिने अपेक्षा गरिएको थियो। तर, उसले तटस्थ बस्ने निर्णय गरेपछि नेम्वाङलाई जित निकाल्न झन् कठिन हुने आकलन भइरहेका बेलामा नेम्वाङले राप्रपाको निर्णयका सन्दर्भमा प्रतिक्रिया दिएका हुन्।
नेम्वाङले आफू सम्पूर्ण जनताको, सबै दलहरूको साझा अभिभावकको रुपमा, व्यक्तित्वको रुपमा (राष्ट्रपति पदमा) जाने प्रयास गरिराखेको बताए।
‘एक सूत्रमा भन्छु, यो देशका सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ। तपाईंहरूले देखिराख्नुभएको छ, अहिले देश र जनताका अगाडि साह्रै ठूलो चुनौती छ। यो चुनौतीका अगाडि उभिँदा सिंगो देश जनता एक हुनुपर्छ। सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ’, उनले भने।
राष्ट्रपतिका लागि भइरहेको निर्वाचनमा नेम्वाङ र रामचन्द्र पौडेल उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।