काठमाडौं- बिहीबार हुँदै गरेको राष्ट्रपतिको निर्वाचनका एक जना उम्मेदवार रामचन्द्र पौडेलले आफू निर्वाचित भए पनि आफ्नो जीवनशैलीमा खासै फरक नआउने संकेत गरेका छन्।
मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने- ‘धुलोमैलोबाट उठेर आएको किसानको छोरा हो। त्यसले एउटा पदमा पुग्दैमा मलाई फरक पार्दैन भन्ने लाग्छ। मेरो कर्तव्य हो संविधानको रक्षा गर्ने।’
राष्ट्रपतिका कतिपय शैलीका कारण आम जनताले दुःख पाएकोप्रति पनि उनी सचेत सुनिए। अब जनतालाई दुःख दिने वा जनताको बाटो रोक्ने काम नहुने बताए। यस्तो हुनै नसक्ने उनको दाबी छ।
यसअघिका राष्ट्रपतिको भूमिकाको बारेमा हुने गरेको आलोचनाका सन्दर्भमा सोधिएको प्रश्नमा उनले आफूले पूर्ववर्तीका बारेमा कुनै ‘कमेन्ट’ गर्न नचाहने बताए।
‘गणतन्त्रको राष्ट्रपतिले अहिलेको संविधान अनुसार कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा म सचेत छु’, उनले भने।
उनले आफूले अत्यन्त सहज रुपमा आफ्नो मत दिएको बताए। ‘लोकतन्त्रको सौन्दर्य पनि यही हो’, उनले भने।
राष्ट्रपतिका लागि भइरहेको निर्वाचनमा पौडेल र सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। दलीय समर्थनका हिसाबले पौडेल बलिया उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।