काठमाडौं- आज (बिहीबार) मुलुकको चौथो राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। राष्ट्रपतिका लागि नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।
संघीय सांसद् र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ। राष्ट्रपति निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन्। मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ। निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था मिलाइएको छ।
निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ। निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेश सभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिनेछन्।
निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सात जनाको कर्मचारीको टोली खटिनेछ।
निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान सम्पन्न भएसँगै मतगणना सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्नेगरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। मतदानका लागि सबै प्रदेशका सांसदहरू काठमाडौं आइपुगिसकेका छन्।
राष्ट्रपति निर्वाचनको मदतानमा राप्रपा सहभागी नहुने भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार नै निर्णय गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।